PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माओवादी छाडेर एमाले प्रवेश गरेका केन्द्रीय सदस्य र जनप्रतिनिधिमाथि फेरि कारवाही



प्रकाश भण्डारी

माओवादी छाडेर एमाले प्रवेश गरेका केन्द्रीय सदस्य र जनप्रतिनिधिमाथि फेरि कारवाही

काठमाडौं : नेकपा माओवादी केन्द्रले ३१ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ।

सोमवार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले १४ जना स्थानीय जनप्रतिनिधि र १७ जना केन्द्रीय सदस्यलाई निस्कासन गरेको माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

स्थायी कमिटीको बैठकले यस अघि नै उनीहरुलाई कारवाही गरेको भए पनि केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको थिएन। निर्वाचन आयोगले कार्वाहीको विवरण अद्यावधिक गर्नका लागि केन्द्रीय समितिको बैठकको निर्णय आवश्यक भएको बताएपछि माओवादी केन्द्रको सोमवारको बैठकले कारवाही गर्ने निर्णयलाई अनुमोदन गरेको हो।

माओवादी केन्द्रले कारवाहीको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। 'कारवाही पहिला पनि भएको थियो। निर्वाचन आयोगले केन्द्रीय सिमितिकै बैठकको निर्णय हुनुपर्छ भनेको भएर पहिलेकै निर्णयलाई  सदर गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाउन र अभिलेखिकरण गर्न जानकारी गराउने भन्ने केन्द्रीय समितिले निर्णय गरेको छ,' ढकालले भने।

सोमवार नै कारवाही गरिएकोबारे निर्वाचन आयोगलाई जानकारी गराउन लागिएको ढकालले बताए।

'निर्वाचन आयोगले केन्द्रीय कमिटीको बैठकको निर्णय खोजेपछि आज बसेको बैठकले कारवाही गरेको हो। उक्त जानकारी आजै निर्वाचन आयोगलाई गराइँदैछ,' उनले भने।

यसअघि असार ४ गते माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगमा गएर कारवाही गरिएको बारे निर्वाचन आयोगले सूचना किन प्रकाशन नगरेको भनेर प्रश्न गरेको थियो।

क-कसलाई भयो कारवाही?

माओवादी केन्द्र छाडेका पूर्व मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायत १७ जना केन्द्रीय सदस्यलाई पार्टीबाट हटाइएको हो।

यस्तै, रौतहटको मौलनापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहट कटहरिहा नगरपालिकाका मेयर शियाराम कुशवाहा,  देवाही गोनाइ नगरपालीक रौतहटका उप-मेयर परनिया देवी, मौलापुर नगरपालीका रौतहटका उप-प्रमुख गौरिशंकर जैसवाल लगात १४ जनालाई कारवाही गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

उनीहरुले माओवादी छाडेलगत्तै पार्टीबाट निकालिएको भए पनि निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय कमिटीको बैठकले कारवाही गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell