PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभापतिका ३ प्रत्यासीको २ घन्टे लन्च मिटिङ, ५ बुँदामा सहमति



नेत्र तामाङ

सभापतिका ३ प्रत्यासीको २ घन्टे लन्च मिटिङ, ५ बुँदामा सहमति

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका तीन प्रत्यासी नेताहरुबिच पाँच मुद्दामा एक भएर अगाडि बढ्ने सहमति भएको छ। आज पार्टी उपसभापति विमलेन्द्र निधिको निवासमा भएको नेपाली 'लन्च मिटिङ' लाई महत्वका साथ हेरिएको छ।

मध्यान्न १२:१५ देखि २:१५ बिच निधि, शशांक कोइराला र प्रकाशमान सिंह बिच छलफल भएको हो। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पुन: महाधिवेशनमा नेतृत्वका लागि सक्रियता बढाएपछि तीन नेता एक ठाउँमा जुटेका हुन्। निधि लामो समयदेखि देउवा क्याम्पमा रहँदै आएका नेता हुन्। यो भेट यसकारण पनि अर्थपूर्ण छ कि तीनै जना नेता कांग्रेसको संस्थापक नेताहरु महेन्द्रनारायण निधि, बीपी कोइराला र गणेशमान सिंहका छोराहरु हुन्।

तीन नेता, पाँच मुद्दा

निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार लन्च मिटिङमा पाँच विषय केन्द्रमा रहेको थियो। कोरोना संक्रमण र त्यसले मुलुकमा पारिरहेको असर, मेलम्ची लगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरो र त्यसले पारेको प्रभाव, नेपाली कांग्रेसको चौधौं महाधिवेशन, आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने विषय र विपक्षी गठबन्धनका तर्फबाट पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा साझा धारणा तय गर्न नेताहरु सहमत भएका हुन्।

यी पाँच मुद्दामा तीन नेता बिच पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायतका नेतासामु साझा धारणा लिएर जाने सहमति समेत बनेको छ। तीन नेता बिचको यस्तो छलफलले नेपाली कांग्रेस महाधिवेशन उन्मुख भएको संदेश पनि दिएको छ।

आज भएको सहमति शीर्ष तहका नेतासँगै पार्टीका जिल्ला सभापतिहरुसम्म लैजान पनि उनीहरु सहमत भएका छन्। त्यसैगरी पार्टी केन्द्रीय सदस्यहरुसँग पनि यस विषयमा छलफल चलाउने बताइएको छ। तीन नेताबिचको अनौपचारिक छलफलले पनि निरन्तरता पाउने नेताहरुले बताएका छन्।

कसरी जुटे फरक धारका नेता?

नेपाली कांग्रेसको असार ४ गते बसेको बैठक लगत्तै यिनै तीन नेता पार्टी उपसभापति निधिको कार्यकक्षमा छलफलमा जुटेका थिए। निधिको पहलमा भएको त्यो छलफलकै नतिजा हो आजको लन्च मिटिङ। पार्टीभित्रका समस्या र समग्र मुलुकको विषयलाई लिएर साझा धारणा आवश्यक रहेको भन्दै उनीहरुले छलफल अगाडि बढाउन सहमत भएका थिए। त्यसैको सुरुवात आजको बैठक हो।

निधिले बाँकी दुई नेतालाई लन्चका लागि आफ्नै निवास डाकेका हुन्। पार्टी कार्यालयमा तीन नेताबिच भएको छलफल अघि नै असार २ गते निधिले कांग्रेस नेता कृष्ण सिटौलासँग छलफल गरेका थिए। त्यसपछि शनिवार उनले नेता बलबहादुर केसीसँग परामर्श गरेका थिए।

अस्तित्व जोगाउन नेताको दौडधुप

गएका सबै तहका निर्वाचनमा नराम्ररी हार व्योहोरेको कांग्रेस यतिखेर ‘गर या मर’को अवस्थामा पुगेको छ। आउँदो निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न नसक्ने हो भने कांग्रेसको अस्तित्वविहीन यात्रातिर हुनेछ। त्यसैले पनि दोस्रो तहका नेताहरुलाई एक ठाउँमा ल्याउने वातावरण बनाएको हो।

पार्टीको नेतृत्वका लागि सभापति देउवाका अलावा, सदाबहादर नेता रामचन्द्र पौडेल, शेखर कोइरालाले पनि दावेदारी प्रस्तुत गर्दै आएका छन्। आज भेट भएका तीनै जना नेताले सभापतिमा आफ्नो दावी सार्वजनिक गरिसकेका छन्।

पार्टी सभापतिमा शेरबहादुर देउवाको लगातार आकांक्षा एकातिर छ भने लामो समयदेखि निष्ठाको राजनीति भन्दै आएका रामचन्द्र पौडेलको चाहना अर्कोतिर। त्यसबाहेक काँग्रेसका तीन नेता कोइराला, निधि र सिंहमाथि धेरैको नजर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell