टोकियो ओलम्पिकमा १० हजार जापानी दर्शकहरुले स्टेडियम प्रवेशको अनुमति पाउने भएका छन्। विदेशी समर्थकलाई भने यसअघि नै निषेध गरिएको हो। त्यस्तै, खेल भेन्युको ५० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइने बताइएको छ।
त्यस्तै, दर्शकलाई ठूलो स्वरमा कराउन र हुटिङ गर्न अनुमति छैन भने दर्शकहरुलाई फेस मास्क अनिवार्य गरिएको छ।
ओलम्पिक २३ जुलाइबाट शुरु हुँदैछ भने पाराओलम्पिक २४ अगस्टबाट शुरु हुनेछ। पाराओलम्पिक्समा भने दर्शकको संख्या १६ जुलाइमा निर्णय हुने बताइएको छ।
यद्यपि जापानका जनस्वास्थ्यविदहरुले भने दर्शकबिनाको प्रतियोगिता ‘कम जोखिमपूर्ण’ हुने भन्दै यो सबैभन्दा राम्रो विकल्प हुने बताएका थिए।
‘घरेलु र अन्तर्राष्ट्रिय स्तरमा दर्शकसहितका खेल गतिविधिहरु सञ्चालन भइरहेका छन्’, टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष सेइको हसिमोटोले भनेका छन्, ‘सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गर्दै, मलाई लाग्छ हामी दर्शकसहितको प्रतियोगिता आयोजना गर्न सक्छौं।’
डेलिगेट र स्पोन्सरलाई आयोजकको वर्गमा राखेर बाँकी १० हजार दर्शकलाई खेलस्थलमा अनुमति दिने तयारी अघि बढेको हो।
आइतवार प्रतियोगिता शुरु हुन ५ हप्ता बाँकी रहँदा टोकियोमा स्टेट अफ इमरजेन्सी हटाइएको थियो। पछिल्लो तथ्यांकअनुसार जापानमा दैनिक औशत १४ सयको हाराहारीमा कोभिड संक्रमण देखिइरहेको छ। मे महिनाको मध्यतिर यो संख्या ६ हजारको हाराहारीमा थियो।
यद्यपि कोभिड संक्रमण दर बढेको अवस्थामा बन्द रंगशालामा प्रतियोगिता हुन सक्ने सम्भावना पनि रहने बताएको छ।
जापानमा हालसम्म ७ लाख ८६ हजारभन्दा बढी कोभिड संक्रमित भइसकेका छन् जसमा १४ हजार ५ सयबढीको निधन भइसकेको छ।
त्यस्तै, भ्याक्सिनको ममलामा जापान अन्य विकशित राष्ट्रको तुलना पछाडि छ। कुल जनसंख्याको मात्र ६.५ प्रतिशतमात्र पुरै भ्याक्सिनेट भएका छन्।