PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको अवरोध, १० दिनभित्र समाधान निकाल्ने परराष्ट्रमन्त्रीको आश्वासन



पहिलोपोस्ट

नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको अवरोध, १० दिनभित्र समाधान निकाल्ने परराष्ट्रमन्त्रीको आश्वासन

काठमाडौं : नेपाली भूमिमा भइरहेको भारतीय पक्षको अवरोधको विषयमा १० दिनभित्र समाधान निकाल्ने उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले बताएका छन्।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको मागपत्र बुझेपछि मन्त्री महासेठले भारतीय पक्षसँग १० दिनभित्र कुटनीतिक छलफल गरी समाधान निकाल्ने आश्वासन दिएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुइँ क्षेत्रमा १३ सय मिटर हुलाकी सडक खण्डको भारतीय पक्षले निर्माण कार्य अवरोध गर्दै आएको छ। त्यसैगरी भिमदत्त नगरपालिका ९ ब्रम्हदेवमा निर्माणाधिन कल्भर्टमा भारतीय पक्षको अवरोध छ। दोधारा लगायत जिल्लाका विभिन्न स्थानमा सीमा क्षेत्रमा नेपाली किसानलाई आफ्नो जमिनको भोगचलनमा भैरहेको भारतीय अवरोध कुटनीतिक पहल गरि तत्काल हटाउन माग गर्दै माग पत्र बुझाइएको समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको सीमा समस्याको मुख्य कारकको रुपमा रहेको स्टिप नक्सालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेज़का पालाको नक्साअनुसार छनबिन गरि यथार्थता सार्वजनिक गर्दै सीमा बिन्दु एकीनगरी समस्याको दीर्घकालीन समाधान गर्न समेत माग गरिएको छ।

मन्त्री महासेठले गृह मन्त्रालयको प्रतिनिधि समेत राखेर मागपत्र बुझ्दै नापी विभाग लगायत सरोकारवाला निकाय संग समन्वय गरि १० दिनभित्र भारतीय पक्ष सँग कुटनीतिक रुपमा छलफल गरी समाधान निकाल्ने प्रतिवद्धता जनाएको भट्टले बताए।

सीमा सरोकार समूहले नापी विभाग प्रमुख प्रकाश जोशी, सीमा हेर्ने प्रमुख दयानन्द जोशी, भूमि सुधार मन्त्रालयका उप सचिव जनकराज जोशीसँग पनि सीमा समस्याबारे अनौपचारिक रुपमा छलफल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell