PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के चल्दैछ कोपा अमेरिकामा? खेलसँगै चर्चामा कोरोना र खेलाडीसँग जोडिएका किस्सा



के चल्दैछ कोपा अमेरिकामा? खेलसँगै चर्चामा कोरोना र खेलाडीसँग जोडिएका किस्सा
फोटो : facebook.com/CopaAmerica

युरोपमा यूईएफए युरो कप चलिरहँदा दक्षिण अमेरिकामा भने कोपा अमेरिका चलिरहेको छ। दश देश सम्मिलित सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका कोभिड महामारीको अत्याधिक चपेटामा रहेको ब्राजिलमा जारी छ।  ब्राजिलमा सहज रुपले भने प्रतियोगिता जारी छैन। विरोधका बीच अदालतले ग्रीन सिग्नल दिएपछि मात्र प्रतियोगिता अन्तिम समयमा आएर सुनिश्चित भएको थियो। मैदानबाहिरको अवस्था यो मात्र होइन। ब्राजिलमा न संक्रमणको दर नियन्त्रणमा छ न त मृत्युदर नै। १ करोड ७९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ५ लाखभन्दा बढीको निधनसमेत भइसकेको छ।

के चल्दैछ मैदानमा?

समूह 'ए' मा तीन खेलबाट ७ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ। त्यस्तै पछिल्लो खेलमा पाराग्वेलाई हराएको अर्जेन्टिनाले भने अन्तिम ८ मा पनि स्थान सुरक्षित गरिसकेको छ। अर्जेन्टिनाले ३ खेल खेलेको छ। जसमा चिलीसँग बराबरी खेलेको थियो भने उरुग्वे र पाराग्वेलाई हराएको थियो।

त्यस्तै चिली ५ अंकसहित दोस्रो स्थानमा छ। अर्जेन्टिना र उरुग्वेसँग बराबरी खेलेको चिलीले बोलिभियालाई हराएको थियो।

त्यस्तै दुई खेल खेलेको पाराग्वेले पहिलो खेलमा बोलिभियालाई हराएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग पराजित हुँदा ३ अंक जोडेर तेस्रो स्थानमा छ।

त्यस्तै दुई खेल खेल्दा पहिलो खेलमा अर्जेन्टिनासँग पराजय र दोस्रोमा चिलीसँग बराबरी खेलेको उरुग्वे १ अंक जोड्दै चौथो स्थानमा छ।  जितबिहिनी बोलिभिया तालिकाको पुछारमा छ। दुई खेल खेलेको बोलिभिया पाराग्वे र चिलीसँग पराजित भएको थियो।

त्यस्तै समूह 'बी' मा आयोजक ब्राजिलले सानदार सुरुवात गर्दै ६ अंक जोडिसकेको छ। उद्घाटन खेलमा भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको ब्राजिलले दोस्रो खेलमा पेरुमाथि ४-० को फराकिलो जित निकालेको थियो।

त्यस्तै तीन खेल खेलेको कोलम्बियाले ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा पेरुसँग पराजय ब्यहोर्दा ४ अंक जोडेर तेस्रो स्थानमा छ।

त्यस्तै तेस्रो स्थानमा दुई खेलबाट तीन अंक जोडेको पेरु छ। पहिलो खेलमा आयोजक ब्राजिलसँग फराकिलो हार ब्यहोरेको पेरुले दोस्रो खेलमा कोलम्बियालाई हराउँदै पहिलो जित निकालेको थियो।

त्यस्तै चौथो स्थानमा तीन खेल खेलेर दुई अंक जोड्दै भेनेजुएला रहेको छ। पहिलो खेलमा ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा इक्वेडरसँग बराबरी खेलेको छ।

त्यस्तै दुई खेलमध्ये १ हार र एक बराबरी खेल्दै १ अंक जोडेको इक्वेडर तालिकाको पुछारमा छ। इक्वेडरले पहिलो खेलमा कोलम्बियासँग पराजित भएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग बराबरी खेलेको थियो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

समूह बी

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

 कोपा अमेरिकाका अरु किस्सा

मार्टिनको निलम्बन:

महामारीका बीच कोपा अमेरिकाको प्रतियोगिता गराएको भन्दै दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेबोल) को आलोचनामा उत्रिएपछि बोलिभियाका स्ट्राइकर मार्सेलो मार्टिन्स कारवाहीमा परे। उनी एउटा खेलमा निलम्बित भए भने २० हजार डलर जरिवानामा समेत परे।

मार्टिन्स बोलिभियाका ती तीन खेलाडी मध्येका एक थिए जो कोपा अमेरिकाको पूर्वसन्ध्यामा कोभिड संक्रमित भएका थिए।

उनले प्रतियोगिता त गुमाए र आफ्नो आक्रोश सामाजिक सञ्जा मार्फत पोख्दै फेडेरेसनको महामारीका बीच अन्तिम समयमा ब्राजिलमा प्रतियोगिता स्थानान्तरण गर्ने निर्णयको कडा शब्दमा आलोचना गरेका थिए।

'कन्मेबोललाई यसका लागि धन्यवाद,' उनले इन्स्टाग्राममा लेखेका छन्, 'सबै दोष तिम्रो हो। यदि कोही मर्छ भने तिमी के गर्छौं? तिम्रो लागि सबैभन्दा ठूलो कुरा हो: पैसा। के खेलाडीको जीवनले केही मुल्य राख्दैन?'

र, कारवाही स्वरुप उनले यसको मुल्य चुकाए।

कोपा अमेरिकाको पूर्वसन्ध्यामा चिलीका अफिसियल र खेलाडी गरी १३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो।

चिलीका खेलाडीले दुई पटक तोडे कोभिड प्रोटोकल    

१० देशबीचको यो प्रतियोगिता खेल्न ब्राजिल पुगेको चिलीका ६ जना खेलाडीले पार्टी गर्न उनीहरु बसिरहेको ओडेरा ग्राण्ड होटलमा बाहिरबाट महिलाहरु बोलाएपछि विवादमा तानिए।

यो घटनालाई लिएर चिलीका टेक्निकल डारेक्टर मार्टिन लासार्टले कारवाहीका लागि छलफल अघि बढाएको बताइएको छ। यो प्रकरणका कारण यी ६ खेलाडीलाई देश फर्काउने पनि सम्भावना रहेको छ। यद्यपि अहिलेसम्म यस प्रकरणको आधिकारिक विवरण आएको छैन र त्यसपछिको खेलमा पनि नियम तोड्ने खेलाडीले सहभागिता जनाइसकेका छन्। यसको आरोपित खेलाडीहरुमा आर्टुरो भिडालसहित जिन मेनेसिस, गुइलेरमो मारिपन, ग्यारी मेडल, पाब्लो ग्लाडामेस, पाब्लो अरागुइज र इडुआर्डो भार्गस रहेका छन्।

यसअघि केही दिनअघि पनि चिलीका भिडाल र मेडललाई दक्षिण अमेरिकी फुटबल फेडेरेसनले होटलमा 'हेयर ड्रेसर' बोलाएको भन्दै जरिवाना तिराएको थियो।

कोभिड-१९ भन्दा खराब शासक : ब्राजिलको क्रुर अवस्था, रोगको नाममा नरसंहार!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell