PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दक्षिणकालीमा भेटिएको शव पनि 'अनआइडेन्टिफाइ', हत्या नै भएको प्रारम्भीक संकेत



पहिलोपोस्ट

दक्षिणकालीमा भेटिएको शव पनि 'अनआइडेन्टिफाइ', हत्या नै भएको प्रारम्भीक संकेत

काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएको महिलाको शव पहिचान हुन सकेको छैन।

मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको थियो।

'अनुहार नचिनिने अवस्थामा छ। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको छ। अहिलेसम्म शव कसको हो भन्ने खुलेको छैन,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले भने।

प्रहरीले घटनामा अनुसन्धानका लागि केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। तर कुकुरले घटनास्थलबाट केही दुरी लिएरपछि ट्र्याक गर्न छाडेको थियो।

शव पुरानो ट्वाइलेटमा आधार शरीर भित्र र आधा बाहिर भएको अवस्थामा फेला पारेको थियो। खुट्टापट्टिको भाग बाहिर निस्किएर दाहिने कोल्टो अवस्थामा फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।

घटनास्थलमा मोबाइलको कभर समेत फेला परेको छ। तर, त्यो मृतकको हो वा अरु  कसैको हो भन्ने खुलेको छैन। यदि मृतकको कभर भए मोबाइल खोइ त? प्रहरीले प्राविधिकि पक्ष समेत हेरिरहेको छ। घटनास्थलमा देखिएका मोबाइलको बीटीएस समेत केलाइरहेको छ।

घटनास्थलमा पुगेको फरेन्सिक टीमले भेटिएको शव दुई/तीन दिन पुरानो हुनसक्ने अनुमान गरेको छ। महिलाले शिरीरमा लगाएको माला छरिएको अवस्थामा फेला परेकाले मृत्युभन्दा अघि संघर्ष गरेको हुनसक्ने अनुमान गरिएको छ।

'मालाको दाना छरिएको छ। त्यसैले मृत्युअघि संघर्ष भएको देखिएको हो। कसैले हत्या गरेको हो कि भन्ने आशंका रहेको छ,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले जानकारी दिए। शवको पहिचान हुन नसक्दा अनुसन्धानमा लिड मिल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा पनि मानिसको शरिरको खुट्टा भेटिएको थियो। तर, खुट्टा कसको हो भन्ने पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धान जटिल बन्दै गएको छ। घटनास्थल नजिकै रहेको सीसी क्यमरामा खुट्टा भएको बोरा फ्याँकेको दृश्य कैद भएपछि प्रहरीले त्यसैका आधारमा अनुसन्धान अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell