PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिरोले सडक बिगारेपछि तुइनबाट अक्सिजन सिलिन्डर तारिँदै, एयरलिफ्ट हुन नसक्दा तारकै भर



खेमराज श्रेष्ठ

पहिरोले सडक बिगारेपछि तुइनबाट अक्सिजन सिलिन्डर तारिँदै, एयरलिफ्ट हुन नसक्दा तारकै भर

काठमाडौं : बाढी पहिरोले सिन्धुपाल्चोक आक्रान्त छ। सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, बाह्रबिसे लगायत क्षेत्रको जनजीवन बाढी पहिरोका कारण कष्टकर बनिरहेको छ। सयौं घर पुरिएका छन्। बाटो अवरुद्ध छ।

चीनसँग नाका जोडिएको तातोपानी सडकखण्डमा पनि सडक ठप्प भएको छ। पहिरोले सडक नै बगाएको छ। तातोपानी बाह्रबिसे सडक खण्ड अन्तर्गत कोदारी राजमार्गमा सडक अवरुद्ध हुँदा चीनबाट आएका समान ल्याउन समस्या परेको छ।

कोरोना संक्रमणको अवस्थामा अत्यावश्यक अक्सिजन सिलिण्डर चीनबाट सहजरुमा ल्याउन नपाउँदा भोग्न परेको सकस उस्तै। त्यसैले ब्यापारीहरुले अहिले सडक बिग्रिएको ठाउँमा तुइन बनाएर अक्सिजन सिलिन्डर ल्याइरहेका छन्।

तातोपानी नाका हुँदै भित्रिएको अत्यावश्यक स्वास्थ्य सामाग्री बाटोमै अलपत्र परेपछि व्यावसायीले अस्थायी तुइन बनाएर ओसार्न थालेका हुन्। तातोपानी बाह्रबिसे सडक खण्ड अन्तर्गत कोदारीमा स्थानीयको सहयोगमा व्यावसायीले अस्थायी तुइन बनाएका छन्। अस्थायी तुइन बनाएर व्यावसायीले स्वास्थ्य सामाग्री भित्र्याइरहेका छन्। 

कोभिड-१९ दोस्रो लहर सुरु भएपछि देशभरको अस्पतालहरुमा अक्सिजन कमी भएको थियो। तातोपानी नाका हुँदै भित्रिएको अक्सिजन प्लान्ट, सिलिन्डर  लगायत स्वास्थ्य सामाग्री नाकामै रोकिएका छन्। कमजोर भौगोलिक संरचनाका कारण विभिन्न स्थानमा सडक संचालनमा आउने अवस्था छैन।

सडक मर्मतका लागि सरकारले विशेष ध्यान नदिएको स्थानीहरुको आरोप छ। सडक विस्तारमा स्थानीयहरुले समेत विरोध गर्दै आएका छन्। जथाभावी डोजर प्रयोग गरी सडक विस्तार गर्दा स्थानीयको बस्ति नै जोखिममा पर्ने देखिन्छ। यस्तै, तलबाट नदी कटानको समस्या रहेको छ भने माथिबाट पहिरोको पीर।

त्यसो त व्यावसायीले ल्याएको स्वास्थ्य सामाग्रीलाई उच्च प्राथमिकतामा राखी भन्सार जाँचपास गरिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए। उनका अनुसार सडक अवस्था राम्रो नहुँदा व्यावसायीहरुले स्वास्थ्य सामाग्री ल्याउन सकेका छैनन्। अक्सिजन प्लान्टका लागि हेलिकप्टको प्रयोग गर्न व्यावसायीले माग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell