PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

दक्षिणकालीमा भेटिएको शव कालोपुल बस्ने सन्तोषी सुब्बाको, चराको आवाज निकाल्दै थिइन् चर्चामा



पहिलोपोस्ट

दक्षिणकालीमा भेटिएको शव कालोपुल बस्ने सन्तोषी सुब्बाको, चराको आवाज निकाल्दै थिइन् चर्चामा

काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

'कालोपुलतिर बस्दै आएकी महिला सन्तोषी सुब्बा भएको खुलेको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण पंगेनीले भने।

मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।

सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन्।

महिलाको शव नचिनिने अवस्थामा थियो। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको थियो।

'अनुहार नचिनिने अवस्थामा छ। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको छ,' महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले भने।

प्रहरीले घटनामा अनुसन्धानका लागि केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। तर कुकुरले घटनास्थलबाट केही दुरी लिएरपछि ट्र्याक गर्न छाडेको थियो।

शव पुरानो ट्वाइलेटमा आधार शरीर भित्र र आधा बाहिर भएको अवस्थामा फेला पारेको हो। खुट्टापट्टिको भाग बाहिर निस्किएर दाहिने कोल्टो अवस्थामा फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।

अनुसन्धानका लागि प्रहरीले प्राविधिक पक्ष समेत हेरिरहेको छ। घटनास्थलमा देखिएका मोबाइलको बीटीएस समेत केलाइरहेको छ।

प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल नम्बर समेत पत्ता लगाइसकेको छ।

घटनास्थलमा पुगेको फरेन्सिक टीमले भेटिएको शव दुई/तीन दिन पुरानो हुनसक्ने अनुमान गरेको थियो। महिलाले लगाएको माला छरिएको अवस्थामा फेला परेकाले मृत्युभन्दा अघि संघर्ष गरेको हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै घटनास्थलमा श्रृगारको सामानदेखि स्यानिटाजर समेत छरिएको अवस्थामा भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell