PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम 



सविन ढकाल

फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम 

काठमाडौं : मंगलवार नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना वरिष्ठ प्रहरी उपरीक्षक (डीएसपी) सरुवा भए।
प्रहरी प्रधान कार्यालय, नक्सालले आफ्नो साइटमा नै सरुवाको सूची राख्यो। प्रहरीले सरुवा भएका केही युनिटको नाममा नै परिवर्तन भएको थियो। जस्तो, महानगरीय प्रहरी परिसर भक्तपुर लेख्दै आएको ठाउँमा जिल्ला प्रहरी परिसर लेखिएको थियो। त्यस्तै, अन्य युनिटको समेत नाम फेरिएको थियो।

गत कार्तिक महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि संगठन व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेर प्रहरीका युनिटको नाम परिवर्तन गरेको हो। त्यसैलाई अनुसरण गर्दै प्रहरीले आफ्ना २ सय भन्दा बढी युनिटको नाम परिवर्तन गरेको हो।

'२ सय भन्दा बढी युनिटको नाम परिवर्तन भएको छ। तर अहिलेसम्म धेरै कार्यान्वयमा आएको छैन। अलिअलि परिवर्तन गरिएको हो,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले भने।

प्रहरी प्रधान कार्यालयदेखि सीमामा रहेका युनिटसम्मको नाम परिवर्तन गरिएको छ। तर, प्रहरीले आफ्नो लेटर हेडमा भने पुरानै चलाइहेको छ। प्रहरी प्रधान कार्यालयको नाम परिवर्तन भएर नेपाल प्रहरी प्रधान कार्यालय राखिएको छ। मंगलवार सार्वजनिक भएको सरुवाको सूचनामा चाहिँ पुरानै नाम छ।

बाँकी सरुवा भएको नाम भने परिवर्तन गरिएको छ। काठमाडौं भित्र भएका तीन वटा जिल्लाको प्रहरी कार्यालयको नाम महानगरीय प्रहरी परिसर लेखिँदै आएको थियो। अहिले यस्तो परिवर्तन गरेर जिल्ला प्रहरी परिसर बनाइएको छ। अब महानगरीय प्रहरी परिसर काठमाडौंको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौं लेख्नुपर्ने हुन्छ।

त्यस्तै, काठमाडौं भित्र रहेका वृत्तहरुको नाम पनि परिवर्तन गरेर राखिएको छ। उदाहरणका लागि पहिले महानगरीय प्रहरी वृत्त गौशाला भनिने गरिन्थ्यो। अब परिवर्तन भएर प्रहरी वृत्त गौशाला, काठमाडौं भएको छ। काठमाडौंभित्र रहेका सबै कार्यालयको नामबाट 'महानगरीय' हटाइएको छ। अब प्रहरी वृत्त/ प्रभाग हुने भएको छ।

त्यस्तै, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नाम पनि परिवर्तन गरिएको छ। परिवर्तन भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी राखिएको छ। त्यसो त यअघि यसको नाम महानगरीय प्रहरी आयुक्तको कार्यालय राखिएको छ।

'अहिले पनि कार्यालयका नामको बोर्ड भने पुरानै छ। अब बिस्तारै परिवर्तन गर्दै जानुपर्छ,' प्रहरी प्रवक्ता कुँवरले भने।

महानगरीय अपराध अनुसन्धान महाशाखाको नाम पनि परिवर्तन भएको छ। महानगरीय अपराध महाशाखाको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय राखिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको नाम पनि फेरिएको छ। अब यसको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ काठमाडौं राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell