काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौंट आयोगका अध्यक्ष सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।
आज आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बुध्वज महत र सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल विरुद्ध मुद्दा दर्ता गराएको हो। उनीहरु विरुद्ध १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गराएको हो।
शर्मा त्यतिखेर आन्तरिक राजश्व विभागका महानिर्देशक थिए। आयोगले जारी गरेको विज्ञप्तिमा २०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्र बाहिर गई वदनीयतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट गरेको पुष्टी भएको जानकारी दिएको छ।
आयोगल जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानी नोक्सानी पुर्याई बदनीयतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजस्व विभाग)को उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको छ।'
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ।
