PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हतारमा शिलान्यास गरिएको मयुरधाप औद्योगिक क्षेत्रको काम चार महिनामा पनि भएन शुरु, ‘अर्को आर्थिक वर्षमा मात्र शुरु हुन्छ’



निशा गुरुङ

हतारमा शिलान्यास गरिएको मयुरधाप औद्योगिक क्षेत्रको काम चार महिनामा पनि भएन शुरु, ‘अर्को आर्थिक वर्षमा मात्र शुरु हुन्छ’
फाइल फोटो : ४ महिनाअघि औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालीन संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका-१४, मयुरधापमा स्थापना गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रको काम अगाडि बढेको छैन। २०७७ सम्ममा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने सरकारी लक्ष्य रहे पनि हालसम्म औद्योगिक क्षेत्रमा काम शुरु नै भएको छैन।

फागुन १४ गते तत्कालीन संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित हतारमा शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम ४ महिना बित्दा पनि शुरु हुन नसकेको हो। बन तथा वातावरण मन्त्रालयमा आइईए प्रतिवेदन पेश गरेको तर कोभिडका कारण मन्त्रालयहरुमा काम हुन नसकेकोले हालसम्म ‘प्रक्रियामै रहेको’ हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए। कँडेलले यसपालि कोरोनाले काम रोकिएको बताउँदै अब अर्को आर्थिक वर्षमा मात्र काम शुरु हुने बताए।

औद्योगिक क्षेत्र शिलान्यास भएको एक महिनाभित्र उद्योगीलाई उद्योगको अवधारणा लिएर आउन आह्वान गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका थिए। तर, शिलान्यास भएको ४ महिना बित्दा पनि त्यसतर्फ कुनै काम अघि बढेको देखिएको छैन।

अध्यक्ष बस्नेतले उत्पादनमूलक उद्योगलाई पहिलो प्राथमिकता दिनुका साथै साना, मझौला, मध्यम र ठूला खालका गरी सबै प्रकारका उद्योग स्थापना गराउन इच्छुकलाई औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराइने बताए।

मयुरधाप कालापानीमा औद्योगिक क्षेत्र परियोजना कार्यालयको स्थापना तीन वर्षअघि नै भएको थियो। नेपाल सरकारले २०७२ चैत १ गते मयुरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो। मयुरधापको करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रलाई छुट्याएको छ।

औद्योगिक क्षेत्र परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ। छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको बताइएको छ। औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रबन्धक कँडेलले बताए।

उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि करिब सात अर्ब दुई करोड ३४ लाख रकम लगानी हुनेछ। औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिव २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ।

संघीय सरकारद्वारा हालै सरकारी जग्गा उक्त औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकेको र जग्गाको चारैतर्फ कम्पाउण्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए।

हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयुरधाप औद्योगिक क्षेत्र करिब पाँच किलोमिटर टाढा छ। उक्त स्थानको स्थलगत विस्तृत नापजाँच गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २०७३ सालमा जग्गाधनी पुर्जा प्राप्त भएको थियो। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि परामर्शदाता छनौट भएर क्षेत्र निर्धारण तथा कार्यसूची तयार गरी बन तथा वातावरण मन्त्रालयमा पेश भएको थियो।

औद्योगिक क्षेत्रमा रङ, दुग्ध उत्पादन, साबुन, खाद्य, प्लास्टिक, स्टिल, रबर, तार, डिष्टिलरी, पाइप, काष्ठ सामान, कपडा, सिमेन्ट, इलेक्ट्रोमेकानिकल कार्यशाला, छाला उद्योगजस्ता उद्योग प्रस्ताव गरिएका छन्। उक्त औद्योगिक क्षेत्रमा पानी प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको प्रस्ताव गरिएको जनाइएको छ।

वर्षौंदेखि चुरेको जंगल हुँदै मयुरधापमा खहरे बग्ने गरेको थियो। चुरेको खहरेले धार परिवर्तन गरेसँगै ठूलो क्षेत्रफल खाली जमिनका रुपमा बसेको थियो। बुट्यानले ढाकेका जमिनमा ठूला रुख छैनन्। उक्त जग्गा समथर छ। उक्त क्षेत्रमा कुल ५० प्रजातिका चराचुरुंगी तथा १३ प्रजातिका घस्रने जीवजन्तु पाइन्छ। उक्त क्षेत्रमा पाइनेमध्ये १४ प्रजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिम वर्गमा सूचीकृत गरिएका छन्। जसमध्ये ९ वटा स्तनधारी २ वटा पक्षी तथा ३ वटा घस्रने जनावर पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell