PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काठमाडौं - नयाँदिल्लीको एकतर्फी हवाई भाडा ५० हजार!



वसन्तराज उप्रेती

काठमाडौं - नयाँदिल्लीको एकतर्फी हवाई भाडा ५० हजार!

काठमाडौं : काठमाडौं-नयाँदिल्ली हवाई उडानको भाडा सात हजार रुपैयाँको हाराहारीमा पर्छ। तर अहिले भने यो उडानको एकतर्फी भाडादर ५० हजार रुपैयाँसम्म पुगेको छ।

अहिले साबिकभन्दा सात गुणा महँगो भाडा तिरेर काठमाडौं-नयाँदिल्ली यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ। उपचारका लागि भारत जानेले त्यही महँगो पैसा तिरेर पनि भनेको बेला टिकट पाउँदैनन्।

किन महँगियो?

कोभिड संक्रमणको पहिलो लहर सकिएपछि नेपाल-भारतबीच एयर बबल सम्झौंता अनुसार नेपाल र भारतले दैनिक एक/एक उडान गर्ने सहमति भयो।

सो सहमति अनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले उडान थाले। कोभिड संक्रमणको दोस्रो लहरसँगै यो गन्तब्यमा साताको एक/एक उडानमा झार्ने निर्णय भयो। उडान कम र यात्रुको माग बढी रहेपछि भाडादर उकालो लागेको हो।

साताको शुक्रबार एक दिन एक सय ८० सीट क्षमताको जहाजमार्फत नियमित उडान गर्दै आएको एयर इण्डियाले पछिल्लो समय यात्रुलाई न्यूनतम भाडादरको टिकट पाउनै मुस्किल रहेको जनाएको छ। दुईतर्फी उडानमै यात्रु अकुपेन्सी शतप्रतिशत रहेको कम्पनीले जनाएको छ।

'सबै भन्दा लोएस्ट फेयर करिब १० हजार रुपैयाँ छ। तर यो भाडादरको टिकट पाइँदैन। यात्रुमा यो दरको टिकट काट्नमै प्रतिस्पर्धा हुन्छ। अधिकांश यात्रु महंगो भाडा तिर्नुपर्ने अवस्था छ,' नेपालस्थित एयर इण्डिया कार्यालयका एक कर्मचारीले भने। यात्रुको माग बढेपछि नेपाल वायुसेवा निगमको भाडादर पनि आकासिएको छ। निगमले काठमाडौं- नयाँदिल्लीको भाडा ३२ हजार माथि बिक्री गरिरहेको छ।

‘उडान थप्नुको विकल्प छैन’

भाडादर महँगो भएपछि यो गन्तब्यमा उडान थप्नुको विकल्प नरहेको निगमका एक अधिकारी बताउँछन्। उनका अनुसार विरामी लगायतका अत्यावश्यक कामका लागि नयाँदिल्ली जानेको संख्या बढ्दै गएकोले उडान थपेर सहज बनाउनुपर्छ।

‘कम्तीमा दैनिक एक/एक उडान गरे यात्रुको चाप पनि कम हुन्छ। त्यसपछि भाडा पनि सस्तिन्छ,’ ती अधिकारीले भने, ‘पीसीआर लगायतका सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सातामा एउटा वा दैनिक गर्दा केही फरक पर्दैन।’

उनका अनुसार उडान थप्ने बारेमा पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ। ‘कोभिड संक्रमण दुबै देशमा विस्तारै घट्दो क्रममा छ। त्यसैले हामीले उडान थप्नका लागि समेत छलफल गर्दैछौ,’ उनले भने, ‘उडान थप्न भारत पनि तयार हुनेमा हामी विश्वस्त छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell