PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

वीरगंजमा ट्रक र टिपर ठोक्किँदा पैदल यात्रीको मृत्यु, चार जना घाइते



राधेश्याम पटेल

वीरगंजमा ट्रक र टिपर ठोक्किँदा पैदल यात्रीको मृत्यु, चार जना घाइते

वीरगंज : वीरगंज–२२ स्थित सर्वोत्तम स्टिल प्रालि नजिकै सवारी दुर्घटना हुदाँ एक जना पैदल यात्रीको मृत्यु भएको छ। घटनामा परी चार जना घाइते भएका छन्। ट्रक र टिपर दुर्घटनामा वीरगंज–२२ जगरनाथपुरका ६५ वर्षीय वृद्ध बैद्यनाथ राउत कुर्मीको मृत्यु भएको प्रहरीले जनायो।

बुधवार साँझ साढे ६ बजेको समयमा परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको यूपी ५२ टि ७५५० नं.को भारतीय ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नं.को टिपर एक आपसमा ठोक्किदाँ भारतीय ट्रक उनीमाथि पल्टेको थियो। ट्रकले चेपिएर गम्भीर घाइते कुर्मीलाई उपचारको लागि नारायणी बयोधा अस्पताल,गण्डकमा ल्याउँदा बाटोमा उनको मृत्यु भएको थियो। उनको शव नारायणी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ। मृतक कुर्मी भैंसी चराएर जगरनाथपुर गाउँ फर्किदै गर्दा दुर्घटना भएको थियो।

भारतीय ट्रक चालक, भारत, गोपालगञ्ज मुसहरी बस्ने वर्ष ३५ को आजाद अन्सरीको समेत वाँया खुट्टा भाँचिएको र सोही स्थानका सह चालक वर्ष ४० को नुरुल बस्सरको अनुहारमा चोट देखिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

त्यसैगरी, मकवानपुर घर भएको टिपर चालक वर्ष ३७ का  बिपिनप्रसाद गडतौलाको वाँया खुट्टामा चोट लागेको छ भने मकवानपुरकै ट्रिपरका सहचालक वर्ष २४ का अजय लामा पनि समान्य घाइते भएको उनीहरुको उपचार पनि नारायणी अस्पतालमा भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell