PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१८ वर्षीय किशोरको हत्यामा बिहेइतर सम्बन्धको 'कनेक्सन', प्रहरी भन्छ : अभियुक्तले स्वीकारे



पहिलोपोस्ट

१८ वर्षीय किशोरको हत्यामा बिहेइतर सम्बन्धको 'कनेक्सन', प्रहरी भन्छ : अभियुक्तले स्वीकारे

काठमाडौं : असार ७ गते बिहान एक जना स्थानीयले पिसाब फेर्न जाँदा पोखरी छेउमा मानिसको एउटा हात देखे। पोखरीमा पानी र त्यसमाथि झारभित्र लाश भएकाले परबाट प्रष्ट देखिएको थिएन। उनले खबर गरेपछि अरु पनि थपिए र मानिस रहेको निर्क्यौल गरे। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे। प्रहरी पुग्यो र शव निकाल्यो।

 बुधवार त्यहीँका एक किशोरको हत्या अभियोगमा प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गर्‍यो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले हत्या अभयोगमा एक महिला सहित दुई जना युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बेलौहवा बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीय बास्मती कहार रहेका छन्। अनिल र बास्मती श्रीमान् श्रीमती हुन्। रमेश भने अनिलका दाजु।

उनीहरुले असार ४ गते बिहान करिब ३ बजे कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय विजयकुमार कुर्मीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

असार ७ गते कपिलवस्तु नगरपालिकाको पूर्व डिह बेलौहवास्थित आठ नम्बरी गड्डा (सरकारी जग्गा) मा रहेको पोखरीमा फेला परेको शव त्यही किशोर विजयबहादुर कुर्मीको थियो। पक्राउ परेका अभियुक्तहरु


घटनाको अनुसन्धान गर्दै जाँदा हत्या तीन जनाले मिलेर गरेको खुलेको हो। आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै अनिलले विजयको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। यही विषयमा करिब एक महिना अघि अनिल र विजयको कुटपिट समेत भएको अनुसन्धानमा खुलेको छ।

कसरी भयो हत्या ?

मृतक विजय विवाह, ब्रतवन्ध लगायतका कार्यमा क्याटरिङ सम्बन्धि काम गर्थे। उनी घरबाट अरु जिल्लातिर पनि पुग्ने गर्थे। त्यसैले पनि परिवारले तीन दिनसम्म घरमा सम्पर्क नहुँदा पनि खोजी गरेको थिएन।

असार ३ गते अनिल छिमेकीको विवाहमा निम्तो मान्न गएका थिए। भोज सकेर भोलिपल्ट बिहान करिब २ बजेतिर घर फर्किदा विजयलाई श्रीमतीसँग उनकै कोठामा फेला पारेको प्रहरीलाई बयान दिएका छन्।

त्यहीँ भएको घटनामा विजय मारिए। विजयले घाटीमा लगाएको मालाले नै घाँटी कसेर अनिल  र रमेशले उनको हत्या गरे।

विजयको कुटपिटपछि पछि हत्या भएको देखिन्छ। मृतकको शव लुकाउन उनीहरुले नजिकैको पोखरीमा लगेर फ्यालेको डीएसपी भण्डारीले जानकारी दिए।घटनास्थल। 


'त्यस दिन श्रीमान नआउने भनेपछि विजय सम्पर्क गरेर कोठामा पुगेका रहेछन्। तर, एक्कासी श्रीमान पुगेपछि कुटपिट हत्या भएको देखिएको छ,' डीएसपी भण्डारीले भने।

प्रहरीले शव भेट्टिएपछि अनुसन्धान सुरु गरेको थियो। प्रहरीको अनुसन्धानको घेरामा पहिले नै अनिल परिसकेका थिए। किनकि उनीहरु बिच एक महिना अगाडि पनि झगडा भएको जानकारी प्रहरीलाई थियो। झगडाका कारण श्रीमतीसँगको अनैतिक सम्बन्ध खुलेपछि प्रहरीले अनिललाई कडा निगरानी गरिरहेको थियो। 

'प्राविधिक तर्फबाट पनि अनुसन्धान भएको हो। तर, मृतक र महिला बिच सम्पर्क हुने मोबाइल समेत पोखरीमा फ्यालेकाले अनुसन्धानमा केही जटिलता थियो,' डीएसपी भण्डारीले भने।

अनुसन्धानमा विभिन्न कोणबाट रातिको समयमा विजयको उपस्थिति अनिलको घरमा भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

रुपन्देहीमा एक साताअघि यस्तै अनैतिक सम्बन्धका कारण श्रीमतीको योजनामा नै जेठ ५ गते करिब ११ बजे ३४ वर्षीय दीपक पाण्डेमाथि गोली प्रहार गरी हत्या भएको खुलेको थियो।

हत्या अभियोगमा प्रहरीले श्रीमती महिमा पाण्डे उनका प्रेमी भनिएका ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया, सद्धाम हुसेन खान, पूर्णबीर पाल्पाली कुम्हाल, राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, गोलु भन्ने राधेश्याम चौधरी, सिरिया भन्ने श्रीराम चौधरी, मोटे भन्ने नसरत अली र प्रबिन गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell