PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केही घन्टाकै चिनजानमा मदिराको उन्मादले निम्त्याएको एउटा डरलाग्दो हत्या



सविन ढकाल

केही घन्टाकै चिनजानमा मदिराको उन्मादले निम्त्याएको एउटा डरलाग्दो हत्या

काठमाडौं : असार ५ गते धर्म तामाङले धर्मछोरी सन्तोषीलाई फोन गरे। सन्तोषीले कीर्तिपुरको एक खाजाघरमा खाना कुरेर बसेको बताइन्।

कालोपुलमा सँगै बस्दै आएकी सन्तोषी असार ३ गते कोठाबाट निस्किएकी थिइन्। त्यसपछि उनीहरु बिच फोनमा मात्रै सम्पर्क भएको थियो। खाना खाएर उनी दक्षिणकाली मन्दिर जाने बाबुलाई जानकारी दिएकी थिइन्।

सन्तोषी यसअघि पनि यसरी पटकपटक बाहिर घुम्न भन्दै निस्किन्थिइन्। केही दिनमा फर्किन्थिन्।

सन्तोषीको चराचुरुङ्गीसँग लगाव। जंगल, बाटोघाटोमा चराचुरुङ्गीको बचेरा भेटिए, घरमा नै लगेर राख्छिन्। फर्पिङ लगायतका क्षेत्रतिर पटकपटक जानुको कारण चराचुरुङ्गी नै हुने गर्थ्यो। यसरी जाँदा वा आउँदा उनीसँग बचेराहरु साथमै हुन्थे।

उनी धेरै प्रजातिका चराको स्वर निकाल्ने कलामा पनि पोख्त थिइन्। असार ३ गते कोठाबाट बाहिरिएकी उनी ७ गते दक्षिणकाली नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणकाली मन्दिर नजिकैको जंगलमा मृत अवस्थामा भेटिइन्।

उनी भेटिँदा अर्धनग्न अवस्थामा थिइन्। उनको अनुहारमा हानिएको ढुङ्गाले चिन्न नसकिने अवस्था थियो। उनले बोकेका श्रृंगारका सामाग्री पनि भुईँतिर छरपष्ट। उनले चलाउने मोबाइलको ब्याट्री नजिकै थियो भने घटनास्थलमा रगतका टाटा।

                                पक्राउ परेका अभियुक्त

शव वरामद भएको केही घण्टा पछिमात्र प्रहरीले काठमाडौं महानगरपालिका ७ बस्ने सन्तोषी सुब्वा भएको सनाखत गरेको थियो। प्रहरीको प्रारम्भीक अनुसन्धानले उनको हत्या भएको देखाए पनि कसले र किन भन्ने चाहिँ खुलेको थिएन।

काठमाडौं उपत्यकाभित्र हत्याका लगातारका श्रृङ्खलाले यो केस प्रहरीसामु थपिएको अर्को चुनौति थियो। त्यसमाथि चराको आवाज निकाल्ने कलाकार भएको थाहा पाएपछि प्रहरी थप सक्रिय भयो।

शव भेटिएको दुई दिनपछि प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा सिन्धपाल्चोक चौतारा साँगचोकगढी घर भएका २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गर्‍यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीवार अभियुक्त सुरेशलाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सुरेश र सन्तोषीबिचको जानपहिचान पुरानो भने होइन। उनीहरु बिच सम्बन्ध रहेको पनि देखिएको छैन। यस्तोमा प्रश्न उठ्छ कुनै सम्बन्ध नै नभएका सुरेशले सन्तोषीको किन हत्या गरे?

+++

सन्तोषी कालोपुलमा धर्मबुबा धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन्। उनी असार ३ गते निस्किएकी उनी असार ५ गते फर्पिङ नजिकैको एक होटेलमा बसेकी थिइन्। तर, उनको शव दक्षिणकाली मन्दिरको जंगलभित्र रहेको सौचालयमा फेला परेको थियो।

असार ६ गते सन्तोषीको भेट सुरेशसँग भएको देखिन्छ। खाजा पसलमा उनी पुगेकी थिइन् जहाँ सुरेश मदिरा खाएर बसिरहेका थिए। सन्तोषीले पसलमा चिया मागिन्। सन्तोषीको साथमा एउटा गँगटो पनि थियो, ज्युँदो। साथमा गँगटो भएकाले सबैले अनौठो मानेर उनलाई हेरे।

त्यसपछि कुराकानी गर्दै जाँदा सन्तोषी चरा र यस्ता जीवजन्तुको आवाज निकाल्ने कलाकार भएको सुनाउँछिन्।

'उसले युट्युबमा आफ्नो भिडियो समेत देखाएर यसरी आवाज निकाल्छु भनेर पसलमा कुराकानी गरेको देखियो,' महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने।

सन्तोषीको त्यही कलाले सबैको ध्यान खिच्यो। मदिराको सुरमा रहेका सुरेश पनि उनीप्रति चासो राख्न पुगे। त्यहीँ उनीहरु बिच कुराकानी भयो। सन्तोषीले लामै समय होटेलमा बिताएकी थिइन् भने सुरेश पनि नशामा मस्त।

साँझ पर्‍यो। पैसा नभएकाले बस्ने ठाउँ समेत नभएको सन्तोषीले दुखेसो पोखिन्। फिरन्ते जीवनमा रमाउने सन्तोषीको आर्थिक अवस्था कमजोर थियो। उनी आफ्नो कोठामा भन्दा बाहिर बढी बस्थिन्। 'उहाँ धेरैजसो बाहिरै हिड्नुहुन्छ। रिस उठ्यो वा केही मन परेन भने कोठा नआउने गर्नुहुन्थ्यो,' सन्तोषीका धर्मबुबाले भने।

गाडीको लाइनमा काम गर्दै आएका सुरेशले सन्तोषीको खाजाको पैसा तिरे। आफ्नो बस भएकाले त्यसमै रात बिताउन दिने सन्तोषले बताएपछि दुवै खाजाघरबाट निस्किएको देखिन्छ।

+++

असार ९ गते काठमाडौंको कमलाक्षीबाट सुरेश पक्राउ परे। सुरेश कमलाक्षीमा डेरामा बस्दै आएका छन्। उनीसँगै अर्का एक जना साथी पनि बस्ने गरेको खुलेको छ। असार ६ गते नै रातिमात्र सुरेश कोठामा पुगेका थिए। प्रहरीले सुरेशलाई पक्राउ गरेपछि हत्याको कारण खुल्यो। उनले हत्या आफैंले गरेको स्वीकार समेत गरेको प्रहरीको दावी छ।                 घटनाको जानकारी गराउँदै एसएसपी चन्द्रबहादुर खापुङ

यौनसम्पर्क गर्न खोजेपछि प्रतिकार गर्दा उनको हत्या भएको देखिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए।'

यौनसम्पर्क को प्रस्ताव राखेको देखिन्छ। अस्वीकार गरेपछि हल्ला हुने भएर हत्या गरेको खुलेको छ,' एसएसपी खापुङले भने।

पक्राउ गर्दा सुरेशको दाहिने हातमा चोट लागेर ब्यान्डेज गरिएको देखिएको थियो। त्यस्तै, अस्पतालको रिपोर्ट अनुसार सुरेशको शरीरका अन्य भागमा समेत चोट समेत लागेको छ। घटनास्थलको प्रकृति हेर्दा केही हातपाइ भएको एसएसपी खापुङले बताए।

घटनास्थलमा मृतकले लगाएको माला चुटिएको छ। सामान छरपष्ट पनि। उनले सुरुमा ढुंगाले प्रहार गरेर हत्या गरेपछि मृतकको मोबाइल समेत लिएर भागेको प्रहरीको भनाइ छ। प्रहरीले सुरेशको कोठाबाट उनको मोबाइलसमेत जफत गरेको छ।

सन्तोषीको हत्यापछि 'बाबु बिरामी भएको भन्दै' २ हजार रुपैयाँ तिरेर ट्याक्सीमा कोठामा आएका थिए उनी। घटनास्थलबाट प्रहरीले सन्तोषीको गंगटोसमेत फेला पारेको थियो। त्यस्तै, असार पाँच गते होटेलमा बस्दा त्यहाँ प्रयोग भएको साबुन घटनास्थलमा भेटिएकाले प्रहरीलाई सन्तोषीको सनाखत गर्न सजिलो भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell