PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…



लक्ष्मी बलायर

'राष्ट्रिय कविता महोत्सव २०७८' मा उत्कृष्ट भएको कविताको कथा…

काठमाडौं : कविता राईलाई देशको बिग्रेकोस्थिति र विकृत मानसिकता देखेर दिक्क लागेछ। राजनीतिक दलहरू कित्ताकित्तामा बाँडिएको पटक्कै मन परेको थिएन उनलाई। यो सबै देखेर उनलाई राष्ट्रिय एकता कायम भए हुन्थ्यो जस्तो लाग्थ्यो। मनमा जागेको तिनै भावहरू उनले अक्षरमा कोर्न थालिन्। अनि जन्मियो राष्ट्रिय भाव भोकेको कविता 'देशको नक्सा'।

भोजपुर पाचधारेमा बस्ने कविता पेशाले शिक्षक हुन्। बेला बेला कविता समेत लेख्छिन् उनी। यही वैशाखमा हो उनले 'देशको नक्सा' कविता लेखेको। जुन कविता 'राष्ट्रिय कविता महोत्सब २०७८' मा प्रथम हुन सफल भयो। नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवमा उनको कविता उत्कृष्ट घोषित भएको हो।

४० वर्षीया कविताले यसअघि पनि तीनपटक 'राष्ट्रिय कविता महोत्सव' सहभागिता जनाएकी थिइन्। तर, चौथो पटक पठाएको कविताले भने उनलाई विजेता बनायो। विजेता बन्न पाउँदा निकै दंग छिन् कविता। भन्छिन् 'कविता उत्कृष्ट हुँदा निकै खुसी लागिरहेको छ। राष्ट्रियता भाव बोकेको कविताको सही मुल्यांकन गरे जस्तो लागिरहेको छ। कविता प्रथम भइसकेपछि झन अर्थपुर्ण लाग्दो रहेछ।'

साहित्य सिर्जना कठिन कार्य रहेको बताउँछिन् उनी। विशेष साधना र अभ्यासले मात्रै साहित्य क्षेत्रमा सफल हुन सकिने उनको तर्क छ। भन्छिन् 'पुरस्कार भन्दा पनि साधना ठुलो हो। साहित्यमा रुचि हुनेहरूले निरन्तर साधना गर्नुपर्छ। कविता लेख्दा भाव र शैली निकै आवश्यक हुन्छ। भाव र शैलीलाई मिलाएर कसरी सुन्दर बनाउने कुरा निकै महत्वपुर्ण हुन्छ।'

यस्तो छ उत्कृष्ट घोषित कविता

देशको नक्सा

म कोरिरहेकी छु

देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू

जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा

आफ्नी आमाको मुहारचित्र ।

 

अनायस करेसाको डिल भत्किन्छ

पर्खाल उठाउँछु

सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

कुर्कुच्चा दुखिन्जेल किच्छु-टाल्छु

र मेट्छु धाँजाहरू !

 

विषाक्त हावा बोकिआउने आँधी

उडाउनै खोज्छ मलाई

बलेँसी चिरा पार्ने मुसलधारे वर्षा

बगाउन खोज्छ मलाई

छानाबाट झरेका पानीका तप्कनाले समेत

शिरदेखि पैतालासम्मै भिजाउँछ

तर पनि म उभिइरहन्छु पहाडजसरी

घरको मूल खाँबो समातेर

र कोरिरहन्छु सहस्र रेखाहरू !

 

ओ! सिमाना काटिजाने चराहरू

पहाड भत्काएर बगिजाने खोलाहरू

देवल उठाइरहेका पौरखी धमिराहरू

माटोको दरबार उठाइरहेका कमिलाहरू

सुन,

भूगोलका यिनै मसिना रेखाहरूले त

जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई

जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ

र लटरम्म खुसीको घाम फल्छ!

 

छामिहेर त

आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी

हो, धड्किरहेको छ त्यहाँ

छुटेका भूगोलसँगै छुटेका मनहरू

एकाकार भएको

स्वाधीन देशको सग्लो नक्सा ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell