PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'सुपरस्टार' जो बुवाविरुद्ध लडेर गर्दैछिन् स्वतन्त्रताका लागि संघर्ष…  



पहिलोपोस्ट

'सुपरस्टार' जो बुवाविरुद्ध लडेर गर्दैछिन् स्वतन्त्रताका लागि संघर्ष…  
Photo by Ethan Miller/Getty Images

'मलाई ठूलो आघात परेको छ। बस् यति हो म आफ्नो जीवन फिर्ता चाहन्छु।'

न्यायाधीशको अगाडि ब्रिटनी स्पेयर्सले १३ वर्षदेखि दबिएको निराशाको पोको खोलिन्। त्यस अभिव्यक्तिमा आरोप, क्रोध, पछुतो मिसिएको थियो। आफूले भोगिरहेको दमन सबै एकै सासमा सुनाइरहेकी थिइन्, धाराप्रवाह रुपमा। कतिपटक त उनलाई न्यायाधीशले निर्देशन नै दिनुपर्‍यो – सुस्तरी बोल्नुस्।

एक सुपरस्टार जसको गायन जीवनदेखि मानसिक स्वास्थ्य र निजी जीवनका अनेका पाटाहरू समाचार बने। छाए। प्रशंसक कमाइन्, उनका लागि अभियान नै चलाउने शुभचिन्तक भेटिन्। त्यही स्टार अदालतमा भने दबिएको, एक्लो र कतै हराएजस्तो प्रस्तुत भइन्।

ब्रिट्नीलाई आफ्ना समस्याहरू प्रत्यक्ष न्यायाधीशलाई सुनाउन भनिएको थियो। उनी संरक्षकको दुर्व्यवहारबारे त बोल्थिन् नै। तर, निकै कमले अपेक्षा गरेका थिए त्यो दु:खद् अभिव्यक्ती जसमा उनले भोग्नु परेको मानसिक अनि शारीरिक पीडाको श्रृङ्खला समेटिएको थियो।

त्यो बोली दवावपूर्ण व्यवहारको प्रक्रिया स्वरुप थियो। आफ्ना संरक्षकहरूको आलोचना थियो। र, आफ्नै परिवारको सदस्यको मनसायविरुद्ध थियो, जसलाई अदालतले ब्रिट्नीको मानसिक समस्याको ख्याल राख्न जिम्मेवार घोषित गरेको थियो।

अमेरिकी पपस्टार स्पेयर्सले यसरी पहिलो पटक आफ्ना संरक्षकविरुद्ध सार्वजनिक रुपमा बोलेकी हुन्। बुधवार अदालतको सुनुवाइको क्रममा उनले बुवाले आफूलाई एक लाख प्रतिशत नियन्त्रणमा राखेको बताएकी हुन्।

Photo: Reuters


भएको के हो?

बुवा जेमी स्पेयर्स सन् २००८ देखि ब्रिट्नीका व्यक्तिगत् एवं व्यवसायिक संरक्षण हुन्। उनको मानसिक स्वास्थ्यका कारण अदालतले नै जेमीलाई त्यो अधिकार दिएको थियो। तर, त्यसपछिको उनको समय कसरी बित्दै छ? सामाजिक सञ्जाल र यी स्टारका शुभचिन्तकहरूको पोस्ट हेरेर अनुमान लगाउन सकिन्छ।

व्यक्तिगत जीवनमा बुवाको हस्तक्षेप बढ्दै गएपछि ब्रिट्नीले कानूनी लडाइमा लागिन्, स्वतन्त्रताको माग गर्दै।

'मलाई मूल्यांकन नगरियोस् तर म यस संरक्षकका रुपमा बुवाको अधिकार समाप्त होस् भन्ने चाहन्छु,' ब्रिट्नीले भनिन्। बीस मिनेट लामो भावनात्मक सम्बोधनमा उनले आफ्नो निर्णय सुनाइन् र अदालतको पूरानो व्यवस्था 'अपमानजनक' भएको बताइन्।

'म पनि सुन्दर जीवन पाउनका लागि लायक छु। मैले सधैं काम गरिरहेँ। अब दुई/तीन वर्ष विश्राम चाहन्छु,' गुनासो पोखिन्। उनले आफूले प्रेमीसँग विवाह गर्न र सन्तान जन्माउन चाहेपनि संरक्षकले ती सबै रहरहरूमाथि रोक लगाएको दावी गरिन्।

आफ्ना संरक्षकले उनको गर्भ रहन नदिन गर्भनिरोधक डिभाइस (आईयूडी) हटाउनबाट पनि रोकेको आरोप लगाएकी छिन्। त्यस्तै उनलाई बाइपोलार डिसअर्डरका लागि दिइने सामान्य औषधि – लिथियम खानका लागि समेत बाध्य तुल्याएको सुनाइन्। जसका कारण उनलाई नसामा भएको महसुस हुन्थ्यो र कसैसँग पनि संवाद गर्न नसक्ने अवस्थामा पुग्थिन्।

'त्यसैले मलाई यो संरक्षण मन पर्दैन। यसकै कारण मलाई बढी हानी भइरहेको छ,' भनिन्।

ब्रिट्नीको संरक्षणताको अवस्थाबारे कहिल्यै कुनै जानकारी सार्वजनिक भएका थिएनन्।

जेमी स्पेयर्सले सन् २०१९ मा स्वास्थ्य कारण देखाउँदै जिम्मेवारीबाट अल्पकालीन रुपमा पन्छिएका थिए। सोही बेला गायिकाले अदालतसँग त्यस निर्णयलाई दीर्घकालीन रुपमा लागू गर्न आग्रह गरेकी थिइन्।

Photo: Getty Images


कसलाई राख्न चाहन्छिन् संरक्षक?

उनी स्थायी रूपमा आफ्नो बुबालाई पुनर्स्थापित गर्नुको साटो व्यवस्थापक रहेका जोडी मोन्टगोमेरीलाई सोही जिम्मेवारीमा स्थापित गर्न खोजिरहेकी छिन्। जसले उनको बुबाको अनुपस्थितिमा उनको निजी मामिलाको रेखदेख गरेका थिए।

जेमीका वकिल भने गायिकाले अदालतमा लगाएको आरोपहरूका कारण उनका बुवा समस्यामा परेको बताउँछन्। 'उहाँ आफ्नी छोरीले भोग्नु परेको पीडा र दु:खबारे चिन्तित हुनुहुन्छ,' एक वक्तव्य जारी गर्दै भनिएको छ,'जेमी आफ्नी छोरीलाई धेरै माया गर्नुहुन्छ र उनलाई सम्झनु भएको छ।'

जेमीको कानूनी समूहले यसअघि पनि उनले ब्रिट्नीको आर्थिक पाटो व्यवस्थापनमा राम्रो काम गर्दै आएको दावी गरेको थियो।

यता ब्रिट्नीका फ्यानहरूले भने सामाजिक सञ्‍जालमा ह्यास ट्याग फ्रि ब्रिट्‍नी अभियान नै सञ्चालन गरेका छन्। सुनुवाइको समयमा दर्जनौं मानिस अदालत बाहिर आएर ब्रिट्नीको स्वतन्त्रताको नारा लगाएका थिए। उनीहरूले 'ब्रिट्नीको जीवनबाट निस्की', 'ब्रिट्नीलाई तत्काल स्वतन्त्र बना'जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

'उनले भोग्नु परेको समस्याहरूबारे जतिकुरा बताइन् ती साह्रै पीडादायी थियो। उनले त हामीले सोचेभन्दा दर्दनाक अवस्था भोग्नुपरेको रहेछ,' ब्रिट्नीको मुक्तिका लागि बोलिरहेकी एक अभियन्ता मेगन राड्फोर्डले भनिन्,'तर म खुशी छु अब उनका भोगाइहरू बाहिर आएका छन्। अब यी घटनाहरूलाई नकार्न सकिन्न।'

लस एन्जलसको सुपेरियर अदालतकी न्यायाधीश ब्रेन्डा पेनीले ब्रिट्नीको 'साहसी' बयानका लागि धन्यवाद त व्यक्त गरिन् तर उनको बुवालाई संरक्षकबाट हटाउनेबारे कुनै आदेश दिइनन्। एसोसिएटेड प्रेसका अनुसार जेमीको 'कन्जर्वेटरशिप' अन्त्य गर्ने सम्बन्धमा कुनै निर्णय गर्न कानूनी प्रक्रिया लामो हुन सक्छ।

बहिनीले पनि गरेकी थिइन् सम्पत्तिमा हक दावी

Photo: Getty Images


सन् २०२० मा ब्रिट्नीकी बहिनी जेमी लिन स्पेयर्सले दिदीको संरक्षक आफूलाई राख्न आग्रह गरेकी थिइन्। त्योभन्दा दुई वर्षअघि ब्रिट्नी स्वयंले आफ्नो सम्पतिको ट्रस्टीका रुपमा बहिनीलाई पनि राखेकी थिइन्।

गत वर्ष भने लिनले अदालत समक्ष ब्रिटनीले बालबालिकाका लागि स्थापित कोषमा जम्मा गरेको रकममा आफ्नो नियन्त्रण रहने दावी गरेकी थिइन्। उनले कोषको पैसा आफ्नो खातामा स्थानान्तरित गर्नका लागि समेत अपिल गरेकी थिइन्। तर, हालसम्म ३९ वर्षीया गायिकाको सम्पत्ती उनको बुवा जेमीको नियन्त्रणमा छ।

पहिले त गायिका बुवाको भूमिकाको पक्षमा थिइन् जसले आफूलाई मानसिक र आर्थिक विनाशबाट बचाएको उनको दावी हुने गर्थ्यो। बुवाकै संरक्षणका कारण आफू विश्व स्तरका मनोरन्जनकर्ताको रूपमा स्थापित भएको उनको भनाइ छ।

किन राखिन्छ संरक्षक र के हो फ्रि ब्रिट्नी अभियान?

Photo: BBC


संरक्षकको भूमिका अदालतले तब दिन्छ जब कुनै व्यक्ति आफ्नो लागि निर्णय गर्न सक्दैन। विशेषगरी डिमेन्सीयाजस्ता मानसिक समस्या भएका बिरामीको हकमा संरक्षण प्रदान गरिन्छ। ब्रिट्नीको हकमा संरक्षण दुई भागमा विभाजित छ। एउटा उनको अवस्था र आर्थिक व्यवस्थापनका लागि। र, अर्को ब्रिट्नी एक व्यक्तिका लागि।

यस कानूनी सहमति अनुरुप सन् २००८ देखि नै यी गायिकाले आफ्नो आर्थिक पाटो सम्हालेकी छैनन्। यो त्यतिबेलाको कुरा हो जब उनले अस्वभाविक व्यवहार देखाउन थालेकी थिइन्। कहिले टाउको खौरिएर त कहिले पटकपटक अस्पताल भर्ना हुने अवस्थामा पुगेर उनी समाचारका शीर्षक बन्ने गरेकी थिइन्। त्यतिबेला उनको केभिन फेडरलिनसँग सम्बन्ध विच्छेद भएको थियो र दुबैबिच दुई सन्तानका लागि कानूनी लडाइ चल्यो।

लगत्तै उनका लागि अदालतले संरक्षण प्रदान गर्‍यो। न्यूयोर्क टाइम्सका अनुसार त्यतिबेला नै उनका केही प्रशंसकले ब्रिट्नीलाई जबरजस्ती संरक्षणमा राख्न बाध्य पारिएको भन्दा फ्रि ब्रिट्नी स्पेयर्स अभियान सुरु गरेका थिए। हरेक पटक अदालत भित्र सुनुवाइ भइरहँदा उनीहरूले बाहिर प्रदर्शन गर्दै आएका छन्।

उनीहरूले ह्वाइट हाउसलाई समेत संरक्षकत्व अन्त्य गर्न आग्रह गरेका छन्। हजारौं हस्ताक्षरसहित निवेदन पेस गर्न पुगेका थिए ब्रिट्नीका फ्यानहरू।

सन् २०१९ मा ब्रिट्नी अचानक लस भेगसस्थित रेसिडेन्सी कन्सर्ट छाडेर मानसिक स्वास्थ्य केन्द्रमा पुगिन्। त्यतिबेला उनले बुवा बिरामी भएका कारण आफूलाई भावनात्मक आघात परेको बताएकी थिइन्। त्यतिबेला अभियन्ताहरूले मानसिक स्वास्थ्यको विषय उठान गरे र नयाँ नाम कमाए।

यस अभियान र गायिकामाथि न्यूयोर्क टाइम्सले बनाएको डकुमेन्ट्रीका कारण यस विषयमा पुन: आम मानिसको चासो बढेको छ। ब्रिट्नीको अनलाइन व्यक्तित्व भने प्राय: उत्साहित देखिन्छ। जसमार्फत् उनले केसको बारेमा स्पष्ट कुराहरू व्यक्त गर्दै आएकी थिइन्। तर, पछिल्लो पटक सन् २०१९ मा अदालतमा बोलेदेखि केस सम्बन्धि उनका भनाइहरू सार्वजनिक गरिएको थिएन।

न्यूयोर्क टाइम्सले भने केही गोप्य कानूनी कागजहरू भेटेको जनाएको छ जसमा गायिकाले सन् २०१४ देखि नै संरक्षकत्वविरुद्ध आवाज उठाएकी छिन्।

Photo: Getty Images


१६ वर्षको उमेरमा उदाएकी एक स्टार

ब्रिट्नी स्पेर्यस उमेरले भर्खर १६ वर्षकी थिइन् जब उनी गायिकाको रुपमा उदाइन्। बेबी वन मोर टाइम… शीर्षकको गीतमार्फत् ग्लोबल पप चार्टको शीर्ष स्थानमा उक्लिएकी थिइन् उनी।

नब्बेको दशकदेखि उनले दर्जनौ गीत गाइन् र अधिकांश चर्चित बने। उनले गाएका मात्र नभइ लेखेका गीत पनि चर्चित छन्। उनी कुशल नृत्यकलाका कारण पनि चिनिएकी थिइन्। तर, बिस्तारै सांगीतिक जीवनमा पारिवारिक समस्याहरू हावी भयो। उनका तत्कालिन श्रीमान केभिन फेडरलिनले उनलाई 'अयोग्य आमा'को बिल्ला भिराए र ब्रिट्नीको मानसिक स्वास्थ्यमाथि सार्वजनिक टिप्पणी गरे। पछि उनीसँगको सम्बन्धविच्छेदपछि बुवाको संरक्षणमा व्यक्तिगत एवं व्यवसायिक जीवन अघि बढाइन्।

सन् २०१८ मा पछिल्लो पटक प्रत्यक्ष प्रस्तुति दिएकी ब्रिट्नी अब कहिले सार्वजनिक कार्यक्रममा देखिन्छिन् निश्चित छैन। किनकि उनले बुवा संरक्षण रहेसम्म प्रस्तुति नदिने बताएकी छिन्।

बीबीसीको रिपोर्टको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell