PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निषेधाज्ञा खुकुलो भएसँगै शुरु हुन थाल्यो गीतको रेकर्डिङ र म्युजिक भिडियोको छायाँकन



लक्ष्मी बलायर

निषेधाज्ञा खुकुलो भएसँगै शुरु हुन थाल्यो गीतको रेकर्डिङ र म्युजिक भिडियोको छायाँकन

काठमाडौं : सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै संगीत क्षेत्र जुर्मुराउन थालेको छ। अहिले गीत रेकर्डिङ तथा म्युजिक भिडियोको छायाँकन समेत शुरु हुन थालेका छन्।

सरकारले ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउँदै निश्चित समयलाई बार अनुसार पसल खोल्न निर्णय गरेको छ। साथै निजी सवारी साधनमा पनि जोरबिजोर गरी चलाउन दिएको छ।

संगीतकार तथा गायक राजनराज शिवाकोटी ५४ दिनको घर बसाईपछि काममा फर्किएका छन्। उनले मंगलवार एक गीत रेकर्ड पनि गरे। डा प्रकाश पौडेलको शब्दमा उनले स्वर भरेका छन्। साथै, हिजो बुधवार गायिका देविका बन्दनासँग युगल गीत रेकर्ड गराएको समेत उनले जानकारी दिए।

सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र गीत रेकर्ड गरिरहेको उनी बताउँछन्। लकडाउन पूर्ण रुपमा खुलेपछि मात्रै रेकर्ड गरिएका गीतको म्युजिक भिडियोको छायाँकन गर्ने उनको तर्क छ।

यता, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट भने यतिखेर तीज गीतको छायाँकनमा निकै व्यस्त भइसकेका छन्। उनले हिजो मात्रै खेम सेञ्चुरी र जानुका तामाङको तीजको गीतको म्युजिक भिडियो छायाँकन गरेका छन्। ‘मरिन्छ कि साइँलो’ बोलको सो गीत समसामयिक घटनामाथि आधारित छ।

आज पनि कमला घिमिरेको तीज गीत ‘लरीलरी लै’ (भाग २)को छायाँकनको काम गरिरहेको छन् उनी।

‘निषेधाज्ञा खुकुलो भएसँगै दिनमा एउटा वा दुइटा गीतको सुटिङ गर्ने काम भइरहेको छ। किसानको मानो रोपेर मुरी फलाउने समय आए झै हामीलाई नि कामको निकै चटारो छ। भोलि पनि दुईटा गीतको सुटिङ छ। पीसीआर परीक्षण गरेर सुरक्षित तरिकाले भिडभाड कम हुने ठाउँमा सुटिङ गरिरहेका छौँ,’ उनले बताए।

निषेधाज्ञाबीच पनि सीमित ठाउँमा गएर पाँच वटा म्युजिक भिडियोको सुटिङ गरेको उनले बताए। गत वर्षको तीज गीत ‘सोचे झैँ जिन्दगी रैनछ’को म्युजिक भिडियोलाई समेत भट्टले नै निर्देशन गरेका थिए। जुन गीतले चर्चा बटुलेको थियो।

त्यसैगरि, गायक खुमन अधिकारीले पनि निषेधाज्ञा खुकुलो भएसँगै चार ओटा गीत रेकर्ड गरिसकेको बताउँछन्। तीन ओटा तीजको गीत र एक लोकदोहोरी गीत गाएको उनले बताए। आफू तीजकै गीतको म्युजिक भिडियोमा छायाँकनमै व्यस्त रहेको खुमनले जानकारी दिए।

‘बोल माया’ र ‘गलबन्दी’ जस्ता गीतमा स्वर रहेकी गायिका शान्तीश्री परियारले पनि हिजो मात्रै तीजको गीत रेकर्ड गरेकी छिन्।

साथै, राधिका हमाल, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, देवी घर्ती, प्रीति आले, प्रताप दास, खेम सेञ्चुरी, राजु ढकाल, राजेन्द्र कँडेल लगायतका गायक-गायिका पनि रेकर्डिङको काममा फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell