PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

निषेधाज्ञा खुले पनि सवारी लाइसेन्स परीक्षा तत्काल नहुने, अब एक वर्ष अवधि भएको अस्थायी कार्ड दिने तयारी



दिनेश खड्का

निषेधाज्ञा खुले पनि सवारी लाइसेन्स परीक्षा तत्काल नहुने, अब एक वर्ष अवधि भएको अस्थायी कार्ड दिने तयारी
फाइल फोटो

काठमाडौंः यातायात कार्यालयले सेवा पुनः सुरु गरेको भए पनि करिब दुई महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा दिन चाहनेले अझै केही समय कुर्नुपर्ने भएको छ।

निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले विभिन्न व्यवसाय तथा क्षेत्रहरु विस्तारै खुकुलो बनाउँदै लगेको छ। तैपनि ट्रायल खोल्ने भने टुङ्गो देखिएको छैन। यसैले सेवाग्राहीले लाइसेन्स ट्रायलका लागि केही महिना अझै पर्खनु पर्ने भएको हो।

केही जिल्लामा वैशाख १३ र काठमाडौंमा वैशाख १६ देखि निषेधाज्ञा लागू भएको थियो। सरकारले निषेधाज्ञा जारी गरेकै कारण ट्रायल पनि बन्द गरिएको छ।

यातायात कार्यालयहरुको नवीकरण, दर्ता, नामसारी लगायतका सेवाहरु सुरु हुन थालेको भए पनि भीडभाड हुने भएकाले अझै ट्रायल सुरु गर्ने तयारी नभएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए।

'ट्रायल सेन्टरहरु तयार अवस्थामा नै छन्। तर हामीले निर्णय गरेर हुँदैन, मन्त्रिपरिषद्बाट नै निर्णय हुनुपर्छ', उनले भने ।

ट्रायल कहिलेबाट खुल्छ भन्ने लाइसेन्स प्रक्रियामा रहेका हजारौंको पर्खाइको विषय भए पनि तत्कालै खुल्ने सम्भावना भने नरहेको संकेत गर्दै उनले भने, 'स्कुल कलेजकै क्याटेगोरीमा राखिएको छ। ट्रायल पनि स्कुल कलेज खुलेका दिन खुल्छ।'

स्कुल कलेजलाई सरकारले कोभिड संक्रमणको जोखिम रहेका क्षेत्रमध्ये सबैभन्दा संवेदनशीलको सूचीमा राखेको छ। यसकारण कोभिडको असर कम भएर पनि अन्य सबै क्षेत्रभन्दा पछाडि मात्र यो पुनः संचालनमा आउनेछ। यसकारण यातायात विभागका निर्देशकले स्कुल कलेज खुलेकै दिन खुल्छ भन्नुको आशय ट्रायल तत्कालै खुल्दैन भनेको बुझिन्छ।

विभागले चाप बढेको भन्दै अहिले लाइसेन्सको अनलाइन आवेदन समेत बन्द गरेको छ। ट्रायल बन्द गरिएको समयमा पनि आवेदन खुल्ला राखे थेग्नै नसक्ने अवस्था आउने भन्दै अहिले बन्द गरिएको हो। ट्रायल खुल्ने निश्चित भएपछि अनलाइन आवेदन पनि खुल्ला गरिने भुसालले बताए। यसअघि अनलाइन आवेदन अनलिमिटेड गरिएका कारण करिब ६ लाखले अनलाइन आवेदन दिएर अहिले ट्रायलको पर्खाइमा छन्।

त्यस्तै, ट्रायल पास गरेका करिब पाँच लाख जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन्। जसका कारण उनीहरु रसिदका भरमा सवारी साधन लिएर हिँड्नु परेको छ। लाइसेन्स छाप्न प्रयोग हुने कार्डको स्टक नै सकिएपछि यसको छपाइ अहिले बन्द छ। यसले गर्दा ब्याकलग थुप्रिएर बसेको हो। विभागबाट करिब १६ लाख कार्ड ल्याउने तयारी भएकाले छिट्टै यो समस्या समाधान हुने भुषालले दाबी गरे।

सुधारिएको ट्रायल लागू हुने
सरकारले लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक दुवै परीक्षालाई सहज बनाएको छ। जेठ १ बाटै सहज बनाइएको परीक्षा लागू गर्ने योजनामा विभाग थियो। तर निषेधाज्ञा जारी गरेका कारण ट्रायल परीक्षा नै बन्द रहेको छ।

निषेधाज्ञा खुलेपछि सुधारिएको व्यवस्था लागू गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको विभागले जनाएको छ। विद्यमान लाइसेन्स परीक्षा प्रणाली अनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ। उक्त प्रणालीलाई सरलीकृत गरेर अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गर्न लागिएको हो।

सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अलग अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुनेछ।

सुधारिएको प्रणालीबाट ६० प्रतिशत बढीले सवारी चालक अनुमतिपत्रको ट्रायल तथा लिखित परीक्षा पास गर्ने अनुमान छ। लिखितका लागि प्रश्नहरुको संग्रह (क्वेशन बैक) विभागको वेबसाइटमा राखिएको छ। सोही क्वेशन बैंकभित्रबाट प्रश्न आउनेछ। अन्य स्रोत खोज्न नपरोस् भनेर सेवाग्राहीको सुविधाका लागि विभागले प्रश्नहरुको संग्रह राखेको जनाएको छ।

एक वर्षका लागि प्रोभिजनल लाइसेन्स
ट्रायल पास गर्ने चालकहरुलाई विभागले तत्कालका लागि प्रोभिजनल (अस्थायी) लाइसेन्स दिने तयारी गरेको छ। यस्तो अस्थायी लाइसेन्सको अवधि एक वर्ष हुनेछ।

साउन १ गतेबाट ट्रायल पास गर्ने चालकहरुलाई एक वर्षका लागि प्रोभिजनल (अस्थायी) लाइसेन्स दिन लागिएको हो। विभागले गरेको अध्ययनले ८० प्रतिशत दुर्घटनाको कारण चालकको लापरबाही भएको भन्दै चालकलाई जिम्मेवार बनाउन प्रोभिजनल लाइसेन्सको अवधारणा लागू गर्न लागिएको हो। थुप्रै विकसित मुलुकहरुमा पनि प्रोभिजनल लाइसेन्सको व्यवस्था लागू छ।

विभागका अनुसार अस्थायी लाइसेन्स पाएको अवधि (एक वर्ष) भर पाँच पटकभन्दा बढी ट्राफिक कारबाहीमा परे अस्थायी लाइसेन्स पनि रद्द हुनेछ। त्यसरी रद्द भएपछि लाइसेन्सका लागि पुनः लिखित परिक्षा हुँदै ट्रायल लगायतको सबै नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ।

प्रोभिजनल लाइसेन्स पाएको एक वर्षको अवधिभरमा पाँच पटकभन्दा कम कारबाहीमा पर्नेले भने सो अवधिपछि स्मार्ट लाइसेन्स पाउनेछ। यस्तो प्रकारको लाइसेन्समा स्मार्ट लाइसेन्समा जस्तो चिप हुँदैन। बार कोड हुनेछ। उक्त बार कोडलाई ट्राफिक प्रहरीले कोड रिडर प्रयोग गरेर सवारी चालकको विवरण जाँच गर्ने सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell