PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार



प्रकाश भण्डारी

ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार
photo: facebook.com/cmprachanda

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी ५ दलको गठबन्धनको आयुको चर्चा हुन थालेको छ। गठबन्धन बनेका कारण हाल ओली भर्सेस् पाँच पूर्व प्रधानमन्त्रीको अवस्था छ।

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई एकातिर छन् भने ओली एक्लै अर्कोतिर छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सम्मिलित मोर्चा धेरै दिन नटिक्ने ओली समूहले दाबी गर्दै आएको छ भने गठबन्धनका नेताले आवधिक निर्वाचन र त्यसपछि पनि मोर्चाबन्दी कायमै रहने बताइरहेका छन्।

विपक्षी ५ दलले बिहीबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा पनि गठबन्धनको आयुको विषयले महत्त्व पाएको थियो।

गठबन्धन कति दिन?

झन्डै ३ घण्टासम्म चलेको अन्तरक्रियाको अन्तिममा बोलेका प्रचण्डले अधिकांश समय गठबन्धनको आयु र ओलीको आलोचनामा खर्चिए। चुनाव र त्यसपछि पनि गठबन्धन कायमै रहने प्रचण्डको दाबी थियो।

'यो गठबन्धन लामो समयसम्म टिकाउनका लागि छलफल गरिरहेका छौँ। हामीले लोकतन्त्रका रक्षा गर्नुपर्छ भन्ने प्रिन्सिपलका आधारमा राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ,' उनले भने।

प्रचण्डले गठबन्धनका नेतालाई अहिलेको सहमतिमा कायम रहे मात्रै मोर्चा चुनाव र त्यसपछिसम्म टिक्ने बताए। उनले भने,'पहिला हामी सहमत हौँ कि होइनौँ हामी सहमत भयौँ भने अली परसम्म जान सकिन्छ। चुनावका लागि र ओलीलाई हटाउनका लागि मात्रै हुनु हुँदैन। इतिहासलाई हेरेर भन्दा हामी त्यो गर्न सक्छौँ,' उनले भने।

प्रचण्डभन्दा अघि बोलेका नेता नेपालले पनि गठबन्धनका बारेमा चर्चा गरेका थिए। उनले पद प्राप्तिको लागि गठबन्धन नबनेको बताएका थिए। ओलीले संविधानमाथि प्रहार गर्न थालेपछि संविधान जोगाउनेहरुबीच मोर्चाबन्दी बनेको उनको भनाई थियो। 'देशको हितका लागि, समाजको प्रगतिका लागि लोकतान्त्रिक आन्दोलनमा गणतन्त्रको आन्दोलनका लागि हो। पदका लागि होइन। देशको स्वाभिमानका लागि हो। देशमा लोकतन्त्र आएको छ। राष्ट्र हितमा हामी सजग भएका छौँ,' नेपालले भने।

मोर्चाबन्दी टिक्ने प्रचण्डका तीन आधार

संविधान रक्षाका लागि गठबन्धन बनाएको बताएका प्रचण्डले गठबन्धन टिक्ने तीन आधार प्रस्तुत गरे। ३ 'प्रिन्सिपल'का आधारमा गठबन्धन बनेको र त्यही आधारमा पछिसम्मै टिक्ने प्रचण्डको दाबी रह्यो।

'संविधान रक्षा गर्ने र समय अनुकूल रक्षा गर्नका लागि यो आन्दोलन बनाइनुपर्छ भन्ने एउटा प्रिन्सिपल, दोस्रो लोकतान्त्रिक आन्दोलनका रक्षाको निमित्त दोस्रो प्रिन्सिपल बनाएका छौँ। तेस्रो नेपालको स्वाधीनताको रक्षाका लागि हो। नेपाल राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको रक्षको सिद्धान्तले गठबन्धनलाई अली परसम्मै लैजान्छ होला,' उनले भने।

तर, प्रचण्डले मोर्चा टिक्नका लागि अहिलेका सहमतिबाट पछि हट्न नहुने बताए।

नेपाल र यादवलाई मोर्चाको साथ

मोर्चाबन्दीमा लागेका नेताहरूले आफूले आफ्नो पार्टीका अप्ठेरा सहेर भए पनि मोर्चामा लागेको बताएका थिए। त्यसैलाई सम्बोधन गर्ने गरी बोलेका प्रचण्डले एमाले र जसपाभित्र अहिले अन्तरसंघर्ष चर्किएकाले नेपाल र यादवलाई आफ्नो साथ भएको बताए।

'माधव नेपालले संविधानको झन्डा उठाउनुभएको छ। माधवजीलाई परेका अप्ठेरामा हामी सकारात्मक छौँ। उपेन्द्रलाई पनि त्यही रूपमा उपेन्द्रजीलगायतका टिम पनि हामी सामूहिक रूपमा छौँ,' उनले भने।

आफ्नो र नेपाली कांग्रेस पार्टीभित्र भने कुनै समस्या नभएको प्रचण्डको दाबी थियो। उनले ओलीले नेपाली कांग्रेससँगको मोर्चाबन्दी प्रयास गरेर गलत गरेको बताएका थिए।

'वामपन्थी सरकारलाई हटाएर कांग्रेसको बनाउन लाग्नुभयो अनि हैन भनेर भन्नुभयो। अनि मैले तपाईं वामपन्थी र कांग्रेस कसरी दक्षिणपन्थी भयो प्रमाणित गर्नुस् भनेँ,' प्रचण्डले ओलीसँग भएको टेलिफोन संवादबारे जानकारी दिँदै भने।

देउवाले वाचन गरेको भाषण ओलीप्रति नरम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मन्तव्य पढेर सुनाएका थिए। उनले गठबन्धन संविधानलाई जोगाउन बनेको बताए। सरकारविरुद्ध आन्दोलन गर्ने बताएका देउवाले अरू नेताहरूको शैलीमा ओलीमाथि आक्रोश व्यक्त भने गरेनन्। सरकारका कदमको विरोध गरेको भए पनि ओलीका कदमलाई नामसहित उल्लेख गरिएको थिएन।

'हामीहरू राष्ट्रिय हितको सुरक्षाका लागि। जनतालाई महामारीबाट बचाउनका लागि ५ दल सँगै छौँ। सरकारबाट भएका अलोकतान्त्रिक भएका काम अदालतबाट रोक्ने काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र देशमा सिर्जना गरिएको लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने षड्यन्त्र। यसलाई रोक्नका लागि जनपरिचालनमा जान जाहन्छौँ,' देउवाले भने।

नेपालको प्रस्ताव: ओलीले कोर्स करेक्सन गरे स्वागत

गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले ओलीलाई सच्चिन आग्रह गरेका थिए। उनले ओली सच्चिएमा सहकार्य हुनसक्ने संकेत गरे। उनले ओलीले गल्ती स्वीकारेमा स्वागत गर्नुपर्ने प्रस्ताव राखे।

'मानिस हुन कहिलेकाहीँ गल्ती हुन्छ। गल्ती स्विकारेर/कोर्स करेक्सन गरेर आउनुहुन्छ भने स्वागतै गर्नुपर्छ हैन त शेरबहादुरजी। त्रुटि कमजोरी मानिसबाट हुन्छन्,' उनले भने।

तर यसबारेमा अरू नेताहरूले भने केही जवाफ दिएनन्। उनले ओलीले सच्चिन तयार भए हातेमालो गर्न सम्भव भएको बताए।

'राष्ट्रपतिभन्दा राजा ठिक, ओली भिलेन'

गठबन्धनमा सामेल दलहरुमध्यको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरे। उनले राष्ट्रपतिभन्दा राजाहरूको इज्जत राम्रो भएको बताए।

'संविधानको संरक्षक भनेर। अझ म त महिलालाई अघि सार्ने भनेको। अहिले राष्ट्रपति कस्तो भयो। योभन्दा त राजाहरूको ठूलै सान। अहिले त सान पनि छैन मान पनि छैन। इज्जत पनि छैन। कस्तो भयो त हामीले बनाएको संस्था?,' प्रचण्डको टिप्पणी थियो।

यस्तै, गठबन्धनकै अर्का नेता उपेन्द्र यादवले पनि राष्ट्रपतिको आलोचना गरेका थिए। उनले राष्ट्रपतिको भूमिका सन्देहपूर्ण रहेको बताए।

'बहुमत रहेको आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। तर किन गरिएन। राष्ट्रपतिको भूमिका सन्देहपूर्ण छ। कि भन्नुपर्‍यो प्रधानमन्त्री ओलीबाहेक अरूलाई देख्न सक्दिनँ भनेर,' यादवले भने।

प्रचण्डले ओलीको पनि चर्को आलोचना गरे। उनले ओलीलाई भिलेनको संज्ञा दिएका थिए।

'उहाँले भिलेनको भूमिका खेल्नु भयो नि। त्यो त जनताले पनि थाहा पाइसक्नु भयो नि। यो कुनै सिद्धान्तहीन गठबन्धन होइन,' उनले भने।

कानुनी लडाईं लडिरहेको बताएको गठबन्धनले अब राजनीतिक लडाईं गर्ने बताएको छ। त्यसका लागि ओलीलाई राजनीतिक रूपमा कमजोर बनाउनेदेखि संवैधानिक निकायलाई खबरदारी गर्ने गठबन्धनको तयारी छ। यसअघि गठबन्धनका नेताहरूले संवैधानिक निकायहरूलाई महत्त्वपूर्ण निर्णय नगर्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell