PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

विशेष अधिवेशनमार्फत वैधानिक रुपमा एक हुँदै अमेरिकाका दुई तामाङ संस्था



विशेष अधिवेशनमार्फत वैधानिक रुपमा एक हुँदै अमेरिकाका दुई तामाङ संस्था
मे २६ मा एकता घोषणा सभामा दुई संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरु मुस्ताङ थकाली किचेनमा।

न्युयोर्क : अमेरिकाको न्युयोर्कमा रहेका दुई तामाङ संस्था तामाङ सोसाइटी अफ अमेरिका(टिएसए) र तामाङ समाज अमेरिकाबीच ‍औपचारिक एकता हुने भएको छ। दुई संस्थालाई वैधानिक रुपमा एकता गर्नका लागि जुन २६ शनिवार उडसाइडस्थित धर्म हाउसमा विशेष अधिवेशन आयोजना गरिएको छ।

दुई संस्थाबीच गत मे २६ मा १२ बुँदे सम्झौतासहित एकता गर्ने घोषणा भएको थियो। सन् २००२ मा स्थापना भएको टिएसएका अध्यक्ष छेमाङ तामाङ रहेका छन्। सानुमाया तामाङ अध्यक्ष रहेको समाज २०१८ मा स्थापना भएको थियो। सहमतिअनुसार एकीकृत तामाङ संस्थाको नाम तामाङ सोसाइटी अफ अमेरिका रहनेछ। शनिवारको विशेष अधिवेशनमार्फत संस्थाको कार्यसमिति पुनर्गठन हुने र सानुमाया तामाङ पूर्व अध्यक्षको मर्यादामा राख्ने र अध्यक्षमा छेमाङ तामाङ रहनेछन्।

यसरी भयो एकता

तामाङ समुदायको हितका लागि क्रियाशील रहेको दुई संस्थाबीच यसअघि पनि एकताको प्रयास भएको थियो। यसको प्रयासस्वरुप बुद्ध जयन्तीकै दिन दुई संस्थाबीच १२ बुँदामा सहमति भएको हो।

'तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ र तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)का अध्यक्ष छेमाङ थोकर तामाङको विशेष रणनीतिले एकता सम्भव भयो,' टिएसएका संस्थापक अध्यक्ष सुवास लामाले भने। यद्यपि एकतामा समाजका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको विशेष पहल र संस्थापक अध्यक्ष लामाको ठुलो भूमिका रहेको सानुमाया तामाङले बताइन्।

सुरुवाती प्रयास भने संस्थापक अध्यक्ष लामाले थालेको समाजका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बताए। संस्था एकताको घोषणालाई अझ बलियो र विश्वसनीय बनाउन टिएसएका पूर्व अध्यक्षहरु संस्थापक अध्यक्ष सुवास लामा, पूर्व अध्यक्षहरु क्रमशः राम तामाङ, इन्द्र तामाङ, भरतराज लामा, कावा अध्यक्ष फुर्बा घिसिङ, सुर्य तामाङ, शान्ता थोकर तामाङ, गोमा योञ्जन तथा तामाङ सोसाइटी अफ नर्थ अमेरिका(टिएसएनए)का अध्यक्ष लक्यान लामालगायतले हस्ताक्षर गरेका छन्।

पन्छिए लुइसाङ

तामाङ समाज अमेरिकाका संरक्षकसमेत रहेका लुइसाङ वाइबा तामाङ भने एकता प्रक्रियाबाट अलग भएका छन्। दुई संस्थाबीच एकताको बृहत पहल थाल्नेमध्येका एक वाइबा सम्मानजनक एकता नभएको भन्दै प्रक्रियाबाट अलग भएका हुन्। एकता सहमतिको पूर्वसन्ध्यामा तामाङले सल्लाहकारबाट राजीनामा दिए। यद्यपि तामाङ समाज अमेरिकालाई ब्युँताउने प्रयासमा उनी लागेको एकता सहमतिमा लागिसकेकाहरुले आरोप लगाएका छन्।

कारबाहीको जुहारी

यता दुई संस्थाबीच एकताको सहमति हुने सुइको पाएपछि संस्थाकी महासचिव विनिता तामाङले मे २५ मा अध्यक्ष सानुमाया र उपाध्यक्ष बुद्धिमानलाई संस्थाको विधानको भाग १० को धारा ४१ अनुसार साधारण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेको सूचना जारी गर्‍यो।

यद्यपि उक्त धारामा अध्यक्ष र पदाधिकारीलाई कारबाही कुनै शब्द उल्लेख गरिएको छैन। भाग १० मा धारा ४१ पनि रहेको देखिँदैन। संस्थाले उपलब्ध गराएको विधानको भाग ९ मा रहेको धारा ४१ मा पदाधिकारीलाई कारवाहीसम्बन्धी कुनै व्यवस्था छैन।

लगत्तै विनिताले सन्तबहादुर तामाङको संयोजकत्वमा तामाङ समाज पुनर्गठन भएको बताइकी छन्। पुनर्गठित समाजमा आफूलाई विनिताले सदस्य सचिव बनाएकी छन्।

उक्त कार्यप्रति रुष्ट अध्यक्ष सानुमायाले भोलिपल्ट मे २६ मा संस्थाको भर्चुअल बैठकको निर्णय भन्दै विनितालाई महासचिवबाट बर्खास्त गरेको पत्र सार्वजनिक गरिन्। समाजका ११ बोर्ड सदस्य उपस्थित औपचारिक बैठकमा १० जना सदस्यहरुको सामूहिक हस्ताक्षरबाट निर्णयार्थ पारित गरिएको १२ बुँदे सम्झौताविरुद्ध लागेको भन्दै संस्थाले विनिता तामाङलाई कारवाही गरेको दाबी गरेको छ। 'पदीय असन्तुष्टि' का कारण संस्थाको आधिकारिक निर्णय र विधान विपरित सामाजिक संजालमा संस्था कै मानमर्दन हुने गरी विभिन्न कपोलकल्पित, भ्रामक र मनगढान्ते कुराहरु बारम्बार पोस्ट गरेको र संस्थाकै केही बोर्ड सदस्यहरुलाई संस्था एकताविरुद्ध पूर्वाग्रही ढंगबाट प्रयोग गरिएको आरोपमा आकस्मिक कार्यकारी बोर्डको बैठकले उनलाई कारवाही गरिएको समाजकी अध्यक्ष सामुमायाले बताइन्। त्यसैगरी समाज एकताको पूर्वार्धतिर एकताको जस लिन र आफूले भने बमोजिम कार्यकारी बोर्डको निर्णय नभएका कारण संरक्षक लुइसाङले इमेलमार्फत राजिनामा गरेको र राजिनामा स्विकृत भइसकेको छ।

एक वा दुई व्यक्तिको पदीय स्वार्थका कारण संस्था एकतामा बाधा पुर्‍याउने गरी जालझेल शोभनीय नहुने टिएसएका अध्यक्ष छेमाङको भनाई छ। ‘कुनैपनि नन प्रोफिट अर्गनाइजेसनले १ वा २ व्यक्तिको पदीय स्वार्थका कारण संस्था एकता हुन नदिनु कहाँसम्मको बिडम्बना हो’ संस्था एकीकरणको दौरानमा भोगेका उत्तरचढाव सम्झँदै छेमाङले प्रश्न गरे। 'संस्थालाई आफ्नो प्राइभेट कम्पनी सरह ठान्ने केही व्यक्तिहरुले संधै संस्था विभाजित र अस्थिर बनाई राख्ने र आफ्नो नियतवस संस्थालाई ह्याण्डलिङ गर्ने गरिएकोमा यसपाली बडो रणनीतिक तवरले त्यस्ता भाइरस प्रवृत्तिका व्यक्तिहरुलाई पाखा लगाइएको र संस्था एकताबद्ध भएको संदेश दिइएको छ,' संस्थापक अध्यक्ष सुवास लामा तामाङले भने।

सानुमायाले दुई संस्था एक भैसकेको औपचारिक घोषणापश्चात् पनि केही गलत नियत बोकेका व्यक्तिहरुले सामाजिक संजालमा गलत, भ्रमपूर्ण र अनाधिकारिक कुराहरु लेखेकोमा त्यस्ता गलत समाचार र फेसबुक पोस्टहरुबाट दिग्भ्रमित नहुन र त्यस्ता पोस्टहरुलाई बेवास्ता गर्न दुवै समाजका कार्यकारी अध्यक्षले आफ्ना शुभचिन्तक, सल्लाहकार र सदस्यहरुमा अनुरोध गरेका छन्। विशेष अधिवेशनमा संस्थालाई वैधानिक रुपमा कार्यदिशा दिनका लागिका विशेष अधिवेशनमा दुबै संस्थाका सदस्यहरु र शुभचिन्तकहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरिएको छ।

यता विषेश अधिवेशन, उता समाजको पनि अधिवेशन!

यता विनिता पक्षले भने जुन २६ कै दिन न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा दोस्रो अधिवेशन र बर्बेक्यु कार्यक्रम आयोजना गरेको छ। समाजले बुधवार विज्ञप्तमार्फत अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। एकता हुन लागेको पक्षले भने संस्था एकता भएसँगै तामाङ समाज अमेरिकाले तय गरेको अधिवेशन र बार्बेक्यू कार्यक्रम रद्द भइसकेको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell