PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

महिला फुटबल टोलीका प्रशिक्षक फिलिप्स भन्छन्: हङकङ र फिलिपिन्सलाई हराउँदै एसियन कप पुग्ने लक्ष्य छ



पहिलोपोस्ट

महिला फुटबल टोलीका प्रशिक्षक फिलिप्स भन्छन्: हङकङ र फिलिपिन्सलाई हराउँदै एसियन कप पुग्ने लक्ष्य छ

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। र, क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि हिजो २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको थियो।

एसियन कप छनोटको तालिका आएसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सलाई प्रतियोगिताका लागि आफूहरु उत्साहीत भएको प्रतिकृया दिएका छन्।

'आउँदै गरेको महिला एसियन कपमा लागि हिजो ड्र सार्वजनिक भयो। यो 'ड्र' बाट हामी उत्साहीत छौं साथै फिलिपिन्स र हङकङसँगको खेल होस्ट गर्न पाउँदा उत्साहीत छौं,' उनले भनेका छन्, 'फिफा वरीयतामा यी दुवै देशहरु हामीभन्दा अघि छन्। यद्यपि यो खेलमा लागि हामी आत्मविश्वासी छौं।'

नेपाल समूह 'एफ' को आयोजकको रुपमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। महिलातर्फ नेपालको फिफा वरीयता १०१ रहेको छ भने फिलिपिन्स ६८ औं स्थानमा र हङकङ ७६ औं स्थानमा छन्। क्वालिफायर्सका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन्।

त्यस्तै फिलिप्सले घरेलु मैदानमा घरेलु समर्थकका बीच खेल्दै समूहको शीर्ष स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने आफ्नो लक्ष्य भएको बताएका छन्।

'हामी घरेलु मैदानमा दर्शकको अगाडि खेल्न पाउनु ठूलो अवसर हो। यसले खेलाडीहरुलाई इन्सेन्टिभ र मोटिभेसन दिनेछ,' उनले भने, 'यसबाट आफ्नो समूहमा हङकङ र फिलिपिन्सलाई हराउँदै एसियन कपमा क्वालिफाइ हुने राम्रो अवसर छ। यो नेपालका लागि ऐतिहासिक क्षण हुनेछ।'

प्रतियोगिताका लागि चाँडै प्रशिक्षण सुरु हुने विश्वास आफूले लिएको उनले बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई २०२१ जनवरी १ बाट करार सुरु हुनेेगरी नियुक्त गरेको थियो। एन्फाको पाँच सदस्यीय टेक्निकल कमिटीले उनलाई सिफारिस गरेको थियो। फिलिप्ससँग मलेसिया, फिलिपिन्स र भियतनामका क्लबहरुमा प्रशिक्षण दिएको अनुभव भएको एन्फाले जनाएको छ।

यसअघि महिला टोलीको मुख्य प्रशिक्षक रहेका हरि खड्काले १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाली महिला टोली भारतसँग पराजित भएपछि राजीनामा दिएका थिए।

एसियन कपमामा डिफेन्डिङ च्याम्पियन जापान, २०१८ को रनर अप अस्ट्रेलिया र तेस्रो स्थानको चीनले यसअघि नै प्रतियोगितामा स्थान बनाइसकेका छन्। यी चार टिम र आठ समूहका शीर्ष टिम गरी कुल १२ टिमले २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा उपाधिका लागि भिड्नेछन्।

कुन समूहमा कुनकुन टिम?

समूह 'ए' : चाइनिज ताइपेइ, बहराइन, तुर्कीमेनिस्तान, लाओस

समूह 'बी' : भियतनाम, ताजकिस्तान, माल्दिभ्स, अफगानिस्तान

समूह 'सी' : डीपीआर कोरिया, सिंगापुर, इराक, इन्डोनेशिया

समूह 'डी' : म्यानमार, यूएई, गुआम, लेबनान

समूह 'ई' : कोरिया रिपब्लिक, उज्वेकिस्तान, मंगोलिया

समूह 'एफ' : फिलिपिन्स, हङकङ, नेपाल

समूह 'जी' : जोर्डन, इरान, बंगलादेश

समूह 'एच' : थाइल्याण्ड, प्यालेस्टाइन, मलेशिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell