PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

तिब्बतमा हुँइकियो बुलेट रेल, ७५ प्रतिशत पुल र सुरुङभित्रबाट यात्रा!

तिब्बतमा हुँइकियो बुलेट रेल, ७५ प्रतिशत पुल र सुरुङभित्रबाट यात्रा!

पहिलोपोस्ट /पहिलोपोस्ट


ल्हासा : चीनको दक्षिण पश्चिममा पर्ने तिब्बतमा आज बिहानबाट विद्युतीय रेलवे सेवा सञ्चालनमा आएको छ। तिब्बतको राजधानी ल्हास्सालाई नियाङ्ची जोड्ने यो यस क्षेत्रकै पहिलो बुलेट ट्रेनको औपचारिक सुरुवात हो।  

४ सय ३५ किलोमिटर लामो नयाँ ट्र्याकमा १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा रेल कुद्न सुरु भएको हो। यो रेलवे सिंगल लेन हो। ल्हास्सा र शानन र नियाङ्चीमा गरी नौ वटा स्टेसन रहेको रेलले यात्रु र कार्गो ढुवानी गर्नेछ। 

भर्खरै सुरु भएको यसको सेवाले दक्षिण पूर्वी तिब्बतलाई पहिलो पटक रेलवे यात्रामा जोडेको हो। सडक यात्राको तुलनामा ल्हास्सा - नियाङ्चीबिचको  यात्राको अवधिलाई यो रेलवे सेवाले ५ घन्टाबाट घटाएर करिब साढे तीन घन्टामा झारेको छ। त्यसैगरी शाननबाट नियाङ्ची पुग्न लाग्ने समय ६ घन्टाबाट दुई घन्टामा झारेको छ।   

यो फक्सिङ बुलेट ट्रेनको अर्को महत्वपूर्ण विशेषता के हो भने यो पूर्णरुपमा चीनमा नै स्वतन्त्र रुपमा तयार भएको हो। चीनको मेनल्यान्ड र सबैजसो प्रान्तहरुमा फुक्सिङ रेल सेवा सञ्चालनमा छ। 

फुक्सिङ रेल १ सय ६० किलोमिटर प्रतिघन्टा देखि ३ सय ५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा यात्रा गर्न सक्छ। यसलाई रेलवे प्रविधिमा चीनको ठूलो फड्कोका रुपमा पनि लिइएको छ।

यो रेलवेको निर्माण सन् २०१५ मार्चदेखि सुरु भएको थियो। १ लाख ३० हजार भन्दा धेरै कामदारहरु हिमाली क्षेत्रमा रेल निर्माणमा जुटेका थिए। यसको अर्को विशेषता के हो भने ९० प्रतिशत हिस्सा समुन्द्री सतहभन्दा ३ हजार मिटर माथि रहेको छ। 

रेल ४७ वटा सुरुङ र १ सय २१ पुल हुँदै अगाडि बढ्छ। यारलुङ जाङ्बो नदीमात्रै पुलले १६ पटक वारपार गर्छ।  रेलवेको करिब ७५ प्रतिशत हिस्सा सुरुङ र पुलहरुले मात्र लिएका छन्। त्यसैले यो रेलवे निर्माणलाई अत्याधिक कठिनमध्येको मानिएको थियो।  

यो रेलले वार्षिक रुपमा एक करोड टन सामान ओसार्न सक्छ जसले तिब्बतको आयात क्षेत्रमा क्रान्तिकारी छलाङ हुनेछ। -सिन्हवा 



ट्रेन्डिङ पोस्ट

Ncell