काठमाडौँः महाधिवेशनको मिति निश्चित भएसँगै नेपाली कांग्रेसमा गुट भेला तीव्र भएका छन्। आ-आफ्नो समूह रणनीतिक तयारीमा छन्। यस्तै दोस्रो तहका कतिपय नेताहरु छुट्टै भेलामा लागेका छन्।
केन्द्रीय समितिले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिसकेको छ।
शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दियालो पार्टी प्यालेसमा आफ्नो समूहको भेला गर्यो। भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालगायतको उपस्थिति थियो।
भेलामा सहमतिमा उम्मेदवार छान्ने विषयमा छलफल भएको थियो। यस्तै क्रियाशील सदस्यता चाँडो टुंग्याउनु पर्नेमा पनि जोड दिइएको नेता प्रकाशमान सिंहले जानकारी दिए।
केन्द्रीय सदस्य बद्री पाण्डेले आगामी नेतृत्व र क्रियाशील सदस्यताबारे कुरा भएको बताए।
पाण्डेले भने, ‘१४ औँ महाधिवेशन सम्बन्धमा क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिइएको छ। सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव पनि आएको छ।’
कसको छ दाबी?
सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने इच्छा व्यक्त गरिसकेका छन्। अघिल्लो महाधिवेशनमा देउवासँगै पराजित रामचन्द्र पौडेल पनि नेतृत्व लिने दाउमा छन्।
यस्तै, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समेत सभापतिमा इच्छा देखाएका छन्।
सभापतिको इच्छा देखाउनेमा हालसम्म संस्थापनतर्फ देउवाबाहेक निधि छन्। संस्थापन इतरको समूहमा भने सभापतिका आकांक्षी धेरै छन्।
पौडेल समूहको भेलामा जित्ने आधारसहित सभापतिमा दाबी गर्न समेत सुझाव आएको छ। 'सहमतिमा साझा उम्मेदवार तय गरौँ भन्ने सुझाव सबैको थियो। हामीले तपाईंहरु मिल्नुस्। जित्ने आधार पेस गर्नुस् भन्यौँ', नेता पाण्डेले भने।
सभापतिको उम्मेदवारीबारे थप छलफल चलाउने निर्णय पनि पौडेल समूहले गरेको छ।
