PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निषेधाज्ञामै खुल्न लागेको अन्तरिक विमान सेवा : एक घन्टामा ५ वटामात्र उडान!



वसन्तराज उप्रेती

निषेधाज्ञामै खुल्न लागेको अन्तरिक विमान सेवा : एक घन्टामा ५ वटामात्र उडान!

काठमाडौं : सरकारले आउँदो बिहीबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ट्रंक रुटतर्फका गन्तव्यमा प्रति घण्टा पाँच वटा उडान गर्ने तयारी गरेको छ। 

कोरोना संक्रमणको जोखिम घटाउन विमानस्थलको आन्तरिक टर्मिनलमा व्यवस्थापन पहिलेदेखि नै निकै चुनौतीपूर्ण छ। जहाजको उडान समय ढिला हुँदा यात्रुको भीड हुन्छ। उडान खुला गरिएको पहिलो चरणमा जहाजले क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने भएकाले भीड व्यवस्थापनका लागि सहज हुने अपेक्षा विमानस्थलका अधिकारीहरुको छ।   

यसपटक स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गराउँदै आन्तरिकतर्फको टर्मिनल भवनमा कम भिडभाड गर्ने उद्देश्यले तत्कालका लागि प्रति घण्टा पाँच उडान गराउने योजना रहेको महाप्रबन्धक प्रतापबाबु तिवारीले बताएका छन्।

'ट्रंक रुटमा विभिन्न वायुसेवा कम्पनीका ठूला किसिमका जहाज (एटीआर-७२, टर्बोप्रोप क्यु-४००) प्रयोग हुँदै आएका कारण प्रत्येक १० मिनेटको अन्तरालमा उडान सञ्चालन गरे भिड हुँदैन भन्ने हाम्रो ठम्याइ छ,' उनले भने।          

साना किसिमका जहाजमार्फत् बिहान हुँदै आएको स्टल रुट 'विकट गन्तव्य' नियमित उडानका लागि भने प्रति घण्टा तीन उडान गर्न दिइने उनले बताए। 'स्टल रुटमा उडान गर्ने साना जहाज बिहानको समयमा उडान गर्छन्। ती उडानलाई यसैभित्र एडजस्ट गरिएको छ,' महाप्रबन्धक तिवारीले भने, 'आन्तरिक टर्मिनल भवनको क्षमतालाई मध्यनजर गर्दै यात्रुको चाप कम गराउने उद्देश्यले उडान तालिका बनाइनेछ।' 

निषेधाज्ञा अगाडि दैनिक अधिकतम एक सय ३० उडान हुँदै आएकोमा दोस्रो लहरमा जारी भएको निषेधाज्ञा पछि ६३ उडान गर्ने तयारी रहेको उनले जानकारी दिए। 'स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै उडान सञ्चालन गर्ने तयारी भएको छ। यो अवस्थामा भिडभाड कम गरेर उडान संचालन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। निषेधाज्ञा अगाडि एक सातामा हुँदै आएको सरदर उडानको अनुपात हेरेर उडान संचालन गरिनेछ।' उनले भने। 

लामो समयपछि सरकारले आन्तरिकतर्फको हवाई उडान सञ्चालनमा ल्याउने तयारी गर्दा कम्पनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सेवा सुरु गर्ने तयारी गरिसकेका छन्। विमानस्थलले उडान तालिका फेरबदल गरेेर भीड घटाउने उपाय लगाए पनि मौसमका कारण हुने ढिलाइमा भने चेक-इनमै यात्रु सीमित संख्यामा प्रवेश दिनुपर्ने देखिएको छ। 

वर्षाको समय सडक यातायातभन्दा यात्रुको रोजाइ हवाई सेवा हुने गरेको छ। बारम्बार मौसम प्रतिकूल हुँदा उडान समय सर्ने गरेको छ। टीआइएको तयारीप्रति हवाई सेवा प्रदायकहरु सकारात्मक भए पनि मौसमी प्रतिकूलतामा नियम पालना गाह्रो हुने उनीहरुले बताएका छन्। 

कोरोना संक्रमणको पहिलो लहरदेखि नै यात्रुलाई विमानस्थलमा एक घन्टा अगावै पुग्नुपर्ने बनाइएको छ। धेरै यात्रु पुग्दा नियम जति छरियो बनाए पनि कार्यान्वयन चुनौतीपूर्ण छ। 

आन्तरिक हवाई सेवामा ट्रंक रुटतर्फ बुद्ध, श्री, यती, सौर्य, नेपाल वायुसेवा निगम, लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन् भने स्टल रुटतर्फ नेपाल वायुसेवा निगम, तारा, सिता, समीट लगायतले उडान गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell