पोखरा : गण्डकी प्रदेशमा जेठ २९ गते विना विभागीयमा शपथ खाएका ४ जना मन्त्रीले जिम्मेवारी तोकेका छन्। मन्त्रालय विभाजनमा आएको सकस मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको टोली काठमाडौं पुगेर फर्किएपछि मन्त्रीहरु जिम्मेवारी सम्हाल्न मानेका हुन्।
प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार जनता समाजवादी (जसपा)बाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसबाट मन्त्री बनेका प्रवक्ता आफूले पनि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अडान राखेका जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले अर्थ छाडेर ऊर्जा तथा सिंचाई मन्त्रालय सम्हाल्न राजी भएका छन्।
जसपाका मन्त्री हरिशरण आचार्यका स्वकीय सचिव रविन आचार्यका अनुसार मन्त्रालयको बाँडफाँटको समाधान गर्न उर्जा तथा सिंचाइमै राजी भएको बताए।
‘मुख्य त मन्त्रालय बाँडफाँडको डेडलकलाई समाधान गर्नका लागि हो सबै पार्टी आफनो अडानबाट टसमस भएनन्,’ आचार्यले भने, ‘त्यसलाई समाधान गर्नका लागि जसपाले अर्थ मन्त्रालय छोडेको हो।’
मन्त्रालयको बाँडफाँडमा जसपाले अर्थको चाह मारेर सिंचाईमा राजी भए पनि ठूला मानिएका अर्थ र भौतिक मन्त्रालयको बाँडफाँड कांग्रेसले अझै टुङ्ग्याउन सकेको छैन। तत्कालका लागि भौतिक र अर्थ मन्त्रालय पनि मुख्यमन्त्रीले राखेका छन्। मुख्यमन्त्रीले मन्त्रालयको टुंगो लगाउन खोजे पनि नेकपा माओवादी र दीपक मनाङे उनीसँग सजिलै सहमत हुने सम्भावना कम छ।
भौतिक मन्त्रालयमा दाबी गरिरहेका स्वतन्त्र सांसद मनाङेलाई खेलकुदमै दोहोर्याउने योजनामा मनाङे असहमत देखिन्छन्। उनको अझै पनि भौतिक पूर्वाधार मन्त्रालयमा दाबी रहेका उनका सहयोगी रोनित गुरुङले बताए। यता मन्त्री मनाङेले भने खेलकुद मन्त्रालयलाई आफूले मागेको बजेट उपलब्ध गराए खेलकुदमै फर्किने बताए।
‘म यत्तिकै जान्न। मैले बजेटको माग गरेको छु। मेरो लागि युवा तथा खेलकुद मन्त्रालय पनि ठीक हो,’ उनले भने, ‘हामी छलफलमै छौं राम्रो बजेट भए त मैले खेलकुदमै राम्रो गर्छु नि।’
यद्यपि, मुख्यमन्त्रीले खेलकुद मन्त्रालयको जिम्मा तोके पनि आफूले उक्त मन्त्रालय लिने वा नलिने टुंगो नभएको मनाङेको भनाइ छ। उनले आफूलाई भौतिक मन्त्रालयको जिम्मेवारी नदिन चलखेल भएको समेत आरोप लगाए।
‘पहिला सत्तामा भएकाका इन्जिनियहरु मिलेर गेम खेले जस्तो लागेको छ के! दीपक मनाङेलाई छोड्दिन भन्दै थियो,’ मन्त्री मनाङेले भने, ‘३ वर्षमा पैसा एकदम हिनामिना पारेको छ नि। मैले फेरि चेक गर्छु भन्दै थिएँ। यिनीहरुले खाएछन्। त्यहीँ गएर चेक गर्ने भनेको सातो गएछ। यिनीहरुको लागेछन् पछाडि।’ बजेट बढी हुन्छ भनेर सबैको आँखा भौतिकतिर रहेको उनले बताए ।
यता नेकपा माओवादी भने आफूहरुले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय पाउने अडान लिइरहेको छ। जिम्मेवारी तोकिएका मन्त्रीहरुको आइतवार पदस्थापन गर्ने कार्यक्रम तय भएको छ।
