PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'इटलीले अस्ट्रियालाई अवमूल्यन गर्नु हुँदैन'



पहिलोपोस्ट

'इटलीले अस्ट्रियालाई अवमूल्यन गर्नु हुँदैन'
Photo: Reuters

युरो कपको आज राति हुने दोस्रो खेलमा इटली र अस्ट्रिया आमने सामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेलमा राति पौने १ बजे हुने अन्तिम १६ को खेलमा यी दुई टोली आमने सामने हुनेछन्।

आजको खेलमा युरो कपको अन्तिम १६ मा पहिलो पटक खेल्दै गरेको अस्ट्रियालाई हराउँदै इटली ८२ वर्ष पुरानो आफ्नो कीर्तिमान तोड्न चाहन्छ। इटलीले यसअघि समूह चरणको खेलमा वेल्सलाई हराउँदै गर्दा ३० खेलको अपराजित यात्रा कायम गरेको छ। यदि आजको खेलमा जित निकाले इटलीले सन् १९३० को दशकमा अपराजित रहँदै ३० खेल खेलको राष्ट्रिय कीर्तिमानलाई आफैँ भंग गर्नेछ। त्यस्तै इटलीले पछिल्ला ११ खेलमा कुनै गोल नखाइ लगातार जित निकालिरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा भने ब्राजिल र स्पेनले समान ३५/३५ खेल अपराजित रहँदै खेलेका छन् भने अर्जेन्टिनाले ३१ खेल र इटलीले यो सहित दुई पटक ३० खेलको अपराजित यात्रा तय गरेको छ।

इटलीले मुख्य प्रतियोगिताहरुमा अस्ट्रियासँग चार पटक भेट्दा सबैमा जित निकालेको छ।

इटलीको पछिल्लो समयको फर्मको बावजुत अस्ट्रियालाई अवमूल्यन गर्न नहुने तर्क इटलीका पूर्व खेलाडी जिआन्लुका जाम्ब्रोटाले दिएका छन्

'अस्ट्रियाले ग्रुप स्टेजमा राम्रो फिजिकल गेम त देखाएको थियो नै तुरुन्तै खेल रणनीति बदलेर खेलेको थियो। डेभिड अल्भा, मार्सेल सबिट्जर जस्ता स्टार खेलाडी रहेको अस्ट्रिया पक्कै पनि अवमूल्यन गर्न सकिने टिम हुन सक्दैन,' उनले भनेका छन्, 'अस्ट्रिया क्वालिफाइ भएको समूह सी आफैँमा पनि कठिन थियो। यसका बावजुत उनीहरु क्वालिफाइ हुन सके। टेक्निकल हिसाबले हेर्दा उनीहरु त्यति उत्कृष्ट छैनन् जति इटली छ। स्पस्ट छ उनीहरु डिफेन्सिभ खेल्दै काउन्टर अट्याकमा जोड दिनेछन्।'

इटलीका प्रशिक्षक रोबेर्टो मान्चिनीले अस्ट्रिया राम्रो टिम भएको भन्दै आफूहरुले राम्रो खेल खेल्नुपर्ने प्रतिक्रिया दिए।

'अस्ट्रियाको स्तर राम्रो छ। उनीहरु आक्रामक खेल खेल्छन्। त्यसैले हामीले उत्कृष्ट खेल खेल्न आवश्यक छ,' उनले भने, 'यो प्रतियोगिताको यस्तो भाग हो जहाँ हामी गल्ती अफोर्ड गर्न सक्दैनौं। र, यो प्रतियोगिताको सुन्दरता पनि हो।'

त्यस्तै, अस्ट्रियाका प्रशिक्षक प्रान्को फोडाले टिमले एउटा तहमा राम्रो गरिसकेको बताउँदै क्वाटरफाइनल प्रवेशका लागि आफ्नो तर्फबाट सबै प्रयास गर्ने बताए।

'हामी अहिले अन्तिम १६ मा छौं र म्युनिखमा हुने क्वाटरफाइनल प्रवेशका लागि हामी हाम्रो सबै प्रयास गर्नेछौं,' उनले भने, 'हामी इटलीविरुद्धको खेलका लागि आत्मविश्वासी छौं। इटली प्रतियोगितमा सबैभन्दा बढी प्रभाव पार्न सक्ने टिम छ। उनीहरु अट्याक उत्कृष्ट गर्छन्, पोजिसनिङ राम्रो छ र राम्रो ट्रान्जिसन छ।'

उनले इटली 'खतरनाक' टिम भएको प्रतिक्रिया दिए।

समूह 'ए' मा रहेको इटलीले समूह चरणमा टर्की र स्विटजरल्याण्डलाई समान ३-० गोल अन्तरले हराएको थियो भने वेल्सलाई १-० को गोलअन्तरले हराएको थियो। इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यस्तै, समूह 'सी' मा रहेको अस्ट्रियाले नर्थ म्यासाडोनियालाई ३-१ ले र युक्रेनलाई १-० ले हराएको थियो। त्यस्तै, नेदरल्याण्ड्सँग २-० ले पराजित भएको थियो। अस्ट्रिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यसअघि आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रने छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

समूह चरणमा वेल्सले तीन खेलमा १ जित, १ बराबरी र १ पराजय ब्यहोर्दै दोस्रो स्थानमा रहेर नकाउट चरणमा आइपुगेको थियो। त्यस्तै सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको डेनमार्कले समूहको अन्तिम खेलमा रसियामाथि फराकिलो जित निकाल्दै गोलअन्तरको आधारमा नकाउट चरणमा प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell