काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले आफूहरु अलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै बिद्रोही पक्ष रहेको प्रष्ट्याएका छन्।
'राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति र पैसाको मात लागेको छ,' नेता नेपालले पत्रकारहरुसँगको अन्तर्क्रियामा भने।
उनले केपी ओलीको रुपमा नयाँ चरित्र पाएको बताउँदै समस्या आएपछि राजीनामा दिने संस्कार उनले लत्याएको सुनाए। 'केपी ओलीले कुर्सी भाँचिदिन्छु भन्नुहुन्छ। त्यसो भएको हुनाले त्यही पार्टी भित्रको विद्रोही आवाज हो हाम्रो। संविधान, लोकतन्त्र बचाउनका लागि हो,' नेता नेपालले भने।
प्रधानमन्त्री पद दियो भने माधव नेपालको खुट्टा काम्ने हो कि भन्ने लाग्नसक्ने तर्फ इंगित गर्दै उनले त्यसलाई गलत तर्क भएको बताए।
'केपी ओलीले मलाई र कमरेड प्रचण्डलाई जुधाउनका लागि अनेक जालझेल गर्नुभो,' नेता नेपालले भने, 'हामी लोकतन्त्रका पक्षमा उभिनुपर्छ भन्ने मान्यतामा उभिएका छौं। केपी ओलीले कोर्स करेक्सन गर्नुपर्छ।'
ओलीले गलत विचार बनाएको बताउँदै नेता नेपालले ओलीले आफूलाई सुधारेमा स्वागत गर्न तयार रहेको पनि बताए। 'वाल्मिकीबारे तपाईँलाई थाहा छ,' नेता नेपालले भने, 'अझै पनि केही साथीलाई लागेको छ कि बालुवा पेलेर तेल निस्कन्छ कि भन्ने लागेको छ। तर, धेरै पटकको धोकाले हैरान भएका छौं। पहिला नेकपा भित्र त्यसपछि हामी र अहिले केपी ओलीबाट हामी हैरान भएका छौं।'
