PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

खहरे खोलामा तटबन्धन निर्माण भएपछि सुरक्षित महसुस गर्दै पूर्वी मकवानपुरका बासिन्दा



निशा गुरुङ

खहरे खोलामा तटबन्धन निर्माण भएपछि सुरक्षित महसुस गर्दै पूर्वी मकवानपुरका बासिन्दा

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमा भएर वर्षातको समयमा उर्लने गरेको त्रिशुली खहरेले हटिया क्षेत्रको सयौँ बिघा जमिनलाई बगरमा परिणत गर्ने गरेको छ। तर, यो पटक खहरेले ठूलो प्रभाव पार्ने ठाउँमा ६० लाख रुपैयाँ खर्चेर करिब ३ सय ४० मिटर लामो तटबन्धन लगाइएको छ। सो खहरे खोलामा अर्को १० लाख बजेट थप्ने योजना समेत बनाइएको छ।

यो तटबन्धन निर्माण भएपछि यहाँका बासिन्दाले राहतको सास फेरेको त्रिशुली खहरे खोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद पराजुली बताउँछन्। भन्छन, ‘प्रत्येक वर्ष वर्षातको मौसममा यहाँ सयौँ बिघा खेतबारी कटान हुने, बस्ती जोखिममा पर्ने गर्दथ्यो, तर यो तटबन्धनले समस्या टरेको छ।’

उता, हेटौँडाको वडा नम्बर १७ र १८ तथा बकैयाको वडा नम्बर ६ मा रहेको बुंगे क्षेत्रमा भएको तटबन्धनले अत्यन्तै गरिबीको रेखामुनि रहेका जनताहरुको घरबारी जोगिएको छ। बुंगे-जुईना सुख्खा खहरे नियन्त्रण योजना अन्तर्गत ७० लाख रुपैयाँ बजेटले उक्त क्षेत्रमा तटबन्धन निर्माण गरिएको छ। जसले हेटौँडासहित बकैयाको बस्तीहरु बचाउन मद्यत गरेको स्थानीयले बताएका छन्।

त्यस्तै, पूर्वी मकवानपुरकै वडा नम्बर ७ हीरामुनी खहरेले प्रत्येक वर्ष त्यहाँका स्थानीयलाई निकै समस्या दिन्थ्यो। पानी पर्नासाथ घरखेत लाने डरले रातभरी सुत्न पाउँदैनथे। त्यस्तो समस्या भएपछि करिब एक दर्जन परिवारले त गाउँनै छाडेका थिए। तर, अहिले यो तटबन्धन निर्माण भएपछि गाउँमा खुसी फर्किएको स्थानीय तिलकुमारी गुरुङले बताइन्।

बकैयाको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको हीरामुनी खहरेबाट केहि नागरिकहरु सुकुम्बासीनै भएको बताउँदै उनले यो पटक ७० लाख रुपैयाँ बजेट परेपछि जोखिम क्षेत्रमा तटबन्धन भएको र जोखिम न्यूनीकरण भएको उनको भनाइ छ। यस क्षेत्रमा प्रत्येक वर्ष यसैगरि बजेट विनियोजन हुन सके धिँयाल क्षेत्रबाट बकैया खोलासम्म नियन्त्रण हुने उनले बताइन्।

हीरामुनी खहरेजस्तै समस्याको रुपमा रहेको बकैयाकै कोल खहरेमा तटबन्धनको लागि पनि ६० लाख रुपैयाँको काम भएको छ। यहाँ पनि सयौँ बिघा जमिन जोगिएको स्थानीय रामबहादुर घिसिङले बताए।

कोल खहरेले आफ्नो घर बगाएको स्मरण गर्दै उनले भने, ‘माननीयज्युले हामी कोलखहरेवासीको यो पटक सुरक्षा गरिदिनुभयो।’

बकैयामा नै हात्तिसुडे-घ्याम्पे बस्ती बचाउन ७० लाख, च्याउच्याउ खहरे नियन्त्रणमा तीस लाख, वाग्मती गाउँपालिकाको पाँचपाण्डप बस्ती बचाउ कार्यक्रमको लागि ७० लाख, वाग्मती-कालिखोला नदी नियन्त्रणको लागि ३० लाख रुपैयाँसहित बकैया तथा वाग्मती, मकवानपुरगढीसहित हेटौँडाकै कर्रा, कल्यान्टार क्षेत्रमा पनि नदी नियन्त्रणको योजनाहरु अन्तिम चरणमा रहेका छन्।

मकवानपुरको क्षेत्र नम्बर १ बाट विजयी भएका विघठित प्रतिनिधिसभाका सांसद तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले चुरेबाट बग्ने खहरे खोलाबाट समस्यामा परेको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ तथा बकैया गाउँपालिका र वाग्मती गाउँपालिकासहित मकवानपुरगढी र हेटौँडाका अन्य वडामा तटबन्धन निर्माणका लागि १५ वटा योजना पारेका थिए।

उनको पहलमा सिँचाई मन्त्रालयबाट आएका सबै १५ योजनाहरु सम्पन्न हुने क्रममा रहेका छन्। सबै योजनाहरुको काम ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ। ति योजनाहरुको कारण अब चुरे क्षेत्रमा रहेका पूर्वी मकवानपुरका बासिन्दाको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको कटानको समस्या टर्ने भएको हो।

दाहालले १६ वटा नदी नियन्त्रण तथा बस्ती बचाउ योजना अन्तर्गत ९ करोड रुपैयाँको बजेट ल्याएका छन्। चुरे क्षेत्रका बस्तीहरु प्रत्येक वर्ष जोखिममा रहने, चुरे बचाउँदै बस्तीहरुलाई पनि सुरक्षित बनाउने आफूहरुको प्रयास निरन्तर रहने दाहालले बताए।

चुरे जंगल क्षेत्रमा छरिएर बसेको बस्तीलाई एकीकृत बस्तीको रुपमा विकास गर्दै लैजान सके चुरे संरक्षण पनि हुने र बस्तीहरुको जोखिम पनि कम हुने दाहालले बताए। पूर्व मेचीदेखि महाकालीसम्मको चुरे क्षेत्रका गाउँको अवस्था यस्तै रहेको भन्दै दाहालले सरकारले एकीकृत बस्तीबारे सोच्नुपर्ने बताए।

चुरेबाट बग्ने नदी तथा खहरेको कारण पूर्वी मकवानपुरमा वर्षेनी क्षति हुने गरेको भएपनि यति धेरै संख्यामा एकै पटक नदी तथा खहरे खोला कटान नियन्त्रणको लागि बजेट आएको भने यो पहिलो पटक हो। मकवानपुरको बकैया गाउँपालिका नदी तथा खहरेको कटानको कारण सबैभन्दा समस्यामा परेको गाउँपालिका हो।

यसपटक आएको बजेटको कारण आफूहरुको ठूलो समस्या समाधानतर्फ अघि बढेको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन्। बकैयाको सात वटा वडा चुरे क्षेत्रबाट बग्ने खहरे तथा खोलाको कटानको करण निकै समस्यामा रहेकोमा यो पटकको योजनाले ठूला कटानको समस्या भएको क्षेत्रलाई सम्बोधन गरेको बोलखेको भनाइ छ। बकैया गाउँपालिकाले पनि नदी नियन्त्रण तथा तटबन्धनलाई प्राथमिकताको साथमा लिएको र तटबन्धनको काम गरिरहेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell