PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला



प्रकाश भण्डारी

प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला

काठमाडौँ: विपक्षी ५ दलको गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री हुने दाबी गरेको छ। संविधान अनुसार प्रधानमन्त्रीमा दाबी गरेकाले अदालतले 'सेटिङ'लाई मान्यता नदिएर संविधानलाई मान्यता दिने भन्दै देउवा प्रधानमन्त्री हुने गठबन्धनमा सामेल नेताहरूले दाबी गरेका हुन्।

शनिबार बानेश्वरस्थिति संघीय संसद्को ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा ५ दलका शीर्ष नेताले पछिल्लो राजनीतिक परिस्थितिबारे अन्तरक्रिया गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य हस्तक्षेप बढाएको, संविधान मिचेको र संवैधानिक निकायमा 'सेटिङ' गरेको ओली इतर नेताहरूको आरोप छ। संविधान बचाउनका लागि मोर्चा बनाएको उनीहरूको भनाई छ।

हाल ओलीविरुद्ध ५ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव-डा.बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्।

नेपालले धोका नदिने! उपेन्द्र-राजेन्द्र पनि नमिल्ने

नेकपा एमालेका वरिष्ठ नेता नेपालले आफू गठबन्धनमा छुट्टै पार्टीका रूपमा सामेल नभई एमालेको विद्रोही पक्षको रूपमा भएको बताए। उनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका कारण आफूमात्र नभई देश नै संकटमा परेको आरोप लगाए।

'हामी छुट्टै पार्टीका रूपमा छैनौँ। हामी एमालेकै विद्रोही पक्षका रूपमा छौँ। राष्ट्रियताका पक्षमा उभिएका दलमध्ये हामी एमालेको विद्रोही पक्षका रूपमा छौँ। हाम्रो लडाईं केपी ओली प्रवृत्ति विरुद्धको लडाईं हो। केपी ओलीमा शक्ति र पैसाको मात लागेको छ,' नेपालले भने।

आफूलाई प्रधानमन्त्रीका लागि ओलीले अफर गरिरहेको भए पनि गठबन्धनलाई धोका नदिने नेपालको भनाई छ। 'हामी गठबन्धनलाई धोका दिन्नौँ। प्रधानमन्त्री पद दिएपछि माधव नेपालको खुट्टा काम्ने होकी भन्ने लाग्न सक्छ तर त्यसो होइन,' उनले भने।

ओलीले आत्मालोचना नगर्ने नेपालको दाबी छ। उनले ओलीबाट आश गर्ने समय सकिएको पनि बताए।

'बालुवा पेलेर तेल निस्केन। मैले पहिले भनेको थिएँ। बामदेवजीले पनि अहिले बुझ्नुभयो। सिङ्गै देश हैरान छ ओलीबाट पहिले हामी भयौँ। अहिले जनता।आफैँ संस्कार छैन भन्ने आफैँ उल्लङ्घन गर्ने,' नेपालको भनाई थियो।

यस्तै, जसपाका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी ओलीले प्रतिगमन गरेदेखि नै मोर्चाको पक्षमा उभिएको बताएका थिए। उनले आफ्नै पार्टीको अर्को समूह अध्यक्ष महन्थ ठाकुरसँग भने मिलन सम्भव नभएको बताएका छन्। उनले ठाकुर पक्षका नेता राजेन्द्र महतोले कलङ्कको टीका लगाएको आरोप लगाए। भने,'राजेन्द्र महतोले कलङ्कको टीका लगाइसके। मन्त्रीबाट हटायो भनेर आएमा एकता सम्भव छैन,' उनले भने।

'प्रधानमन्त्री देउवा हुन्छन् यो सेटिङ होइन'

कार्यक्रममा ५ दलका नेताहरूले प्रधानमन्त्री ओलीको आलोचना गरे। ओलीको पक्षमा लागेर संविधानको संरक्षण नगरेको भन्दै नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारी ओलीको कार्यकर्ता बनेको उनीहरुको आरोप थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे। २० जना मन्त्रीको पद जाने बारेमा आफूलाई पूर्वसूचना नभई संविधान अनुसार बोलेको प्रचण्डको प्रष्टीकरण थियो।

'हेर्नुहोला केपी पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। यो सेटिङ गरेर भनेको होइन,' उनले भने।

गठबन्धनका कोही नेताले पनि प्रधानमन्त्रीको लोभ नगरेको बताएका प्रचण्डले देउवालाई आफूहरूले अघि सारेको बताए। भने,'देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन। हामीले उभ्याएका हौँ। साथ दिन्छौँ भनेर।'

ओलीले अदालतलाई धम्काउन थालेको प्रचण्डको आरोप छ। 'केपीले अहिले अदालतलाई धम्काउन थालेका छन्। कहिले महान्यायाधिवक्ता मार्फत त कहिले आफैँ थर्काउन थालेका छन्,' उनले भने।

'राष्ट्रपतिले हदभन्दा बढी गर्नुभयो'

देउवाले राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता भएको आरोप लगायका छन्। उनले संविधान अनुसार आफूले प्रधानमन्त्रीका लागि दाबी गरे पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको बताए। सांसदहरूको सनाखत गराएर भए पनि आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा संसद् विघटनलाई सदर गरेको देउवाको आरोप थियो।

'राष्ट्रपतिले हदभन्दा बढी गर्नुभयो। सबैभन्दा दुःख राष्ट्रपतिलाई लाग्छ। आधार प्रस्तुत गरेपछि स्पष्ट संविधानमा छ प्रक्रिया तर संविधान मिच्ने मान्छेले के संविधान जोगाउँछ?,' उनले भने।

ओलीले आफ्नै पार्टीका नेतालाई समेत धोका दिएकाले उनी अधिनायकवादी भएको देउवाले आरोप लगाएका छन्। 'ओलीले आफ्नै पार्टीका साथीलाई त त्यस्तो गरे। अरूलाई छोड्ला? अधिनायकवादी हुन्,' देउवाले भने।

'गठबन्धन मजबुत, ओली झन् कमजोर'

ओली इतरका नेताहरू सहभागी पत्रकार सम्मेलनमा शीर्ष नेताहरूले गठबन्धन झनै बलियो बनिरहेको बताएका थिए। उनीहरूले गठबन्धनको औचित्यबारेमा सोधिएको प्रश्नमा कुनै लोभ लालचका लागि गठबन्धन नबनेको प्रस्टीकरण दिए। प्रचण्डले प्रधानमन्त्री बन्नका लागि मात्रै गठबन्धन नभई सैद्धान्तिक रूपमा पनि गठबन्धन बनेको यसअघि सम्पादक सँगको छलफलमा बताएका थिए।

आजको अन्तरक्रियामा प्रचण्डले ओली कमजोर बनेकाले जालझेल गरिरहेको बताएका थिए। गठबन्धनका नेताहरूले आफूहरूको गठबन्धन झन् बलियो बनेको र लामो समयसम्म टिक्ने दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell