PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सुझाव माग्दा गठबन्धनका नेतालाई पत्याएनन् पत्रकारले : सोधे प्रश्नमात्रै, निषेध गरिएको थियो रेकर्ड गर्न



नेत्र तामाङ

सुझाव माग्दा गठबन्धनका नेतालाई पत्याएनन् पत्रकारले : सोधे प्रश्नमात्रै, निषेध गरिएको थियो रेकर्ड गर्न

काठमाडौँ: शनिबार दिउँसो पाँच दलीय गठबन्धनले नयाँ बानेश्वरको संसद भवनमा राजनीतिक बिटका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। दिउँसो २ बजेका लागि बोलाएको कार्यक्रम झन्डै ३० मिनेटपछि सुरु भयो।

कार्यक्रमको सुरुमै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सुझाव लिनका लागि आयोजना गरेको जानकारी दिए।

'अहिले एकातर्फ देश महामारी र बाढीसँग जुधिरहेको छ। साथै सम्मानित इजलासमा न्याय माग्न उभिएको छ,' शर्माले कार्यक्रमको सुरुमा भने।

एकदिनअघि सम्पादकसँग छलफल गरेको उल्लेख गर्दै शनिबारको कार्यक्रमबारे शर्माले भने, 'अब देशको समाचार कस्तो बन्नुपर्छ भन्ने सन्दर्भमा तपाईंको धारणा हामी सुन्न चाहन्छौँ।' यो विशुद्ध अन्तरक्रिया भएको र यस कार्यक्रममा उठेका सुझावलाई नेतृत्वले ग्रहण गर्ने प्रतिवद्धतासमेत शर्माको रह्यो। 'यो पत्रकार सम्मेलन होइन। पत्रकार सम्मेलनमा सामान्य मनोविज्ञान हुन्छ। प्रश्नहरु हुन्छन् र उत्तरहरु हुन्छन्। तर यहाँ केवल प्रश्न र केवल होइन तपाईंको धारणा, तपाईंको सुझाव र तपाईंको विश्लेषण राजनीतिक नेतृत्वले ग्रहण गर्न चाहन्छ,' शर्माले भने,'तपाईंले कलम चलाउनु भयो। तपाईंले क्यामरा चलाउनुभयो। तर तपाईंले यो देश चलाउनुभयो भने सुझाव के हुन्छ?'

कार्यक्रम सञ्चालक डा विजय पौडेलले पनि सुझावको अपेक्षा बढी रहेको पत्रकारहरुलाई सम्झाए। यद्यपि पत्रकारका जिज्ञासाको जवाफ दिनका लागि अगाडिको रोमा लाइनै थिए - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधव नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र जनमोर्चाका महासचिव मनोज भट्ट।

पत्रकारले सुझाव पेस गर्ने क्रममा भिडियो र अडियो रेकर्ड बन्द गर्न निर्देशन दिइएको थियो। यद्यपि नेताहरुले धारणा राख्ने क्रममा भने छायाङ्कन खुला गरिएको थियो।

गठबन्धनलाई दर्जन बढी प्रश्न

१. यो गठबन्धन कहिलेसम्म जान्छ? अदालतको निर्णय एउटा आएपछि तपाईंहरु छुटेर आफ्नो आफ्नो बाटो लाग्ने हो कि?

२. नेपाली कांग्रेस महाधिवेशनको संघारमा छ। सभापतिज्यू महाधिवेशन गर्नुपर्ने बेला गठबन्धन गरेर बरालिएर हिँडेको छ, किन?

३. यो गठबन्धनको सरकार बन्द देशले के पाउने जनताले के पाउने?

४.युद्धमा घाइते लडाकुहरुले के गर्ने, ओलीको ढोकामा चहारिरहेको छ, गठबन्धनको सरकारले के पाउने?

५. जसपाले महन्थ ठाकुर र राजेन्द्र महतोलाई यस्तो हुन्छ सरकारमा नजाउ भनेर किन सम्झाउन सक्नुभएन? उहाँहरु सरकारबाट फिर्ता हुनुभएको छ। उहाँहरुलाई गठबन्धनमा कसरी एडजस्ट गर्नुहुन्छ?

६. माधव नेपाल समूहलाई ओली समूहले पत्तासाफ गर्ने रणनीति बनेको सुनिन्छ, यसको पूर्वतयारी तपाईंको के छ?

७. पहिलो पटकको प्रतिनिधि सभा विघटनमा प्रतिगमनको पक्षधर भनेर देउवामाथि आरोप छ, अहिले प्रधानमन्त्रीमा दाबी गरिरहेको अवस्था भावी प्रधानमन्त्रीमा रुपमा हेरिएकोले तपाईं अग्रमोर्चामा आउनुभएको हो?

८. संवैधानिक निकायमा भएको नियुक्तिमा विपक्षी दलको कुनै प्रतिक्रिया देखिएन नि?

९. राजाको काखी समात्ने ठाउँमा प्रचण्ड कसरी पुग्यो भन्ने प्रश्न उठ्न थालेको छ। सम्पादकहरुसँग साँच्चै यस्तै भनिएको हो?

१०. प्लान बी के हो?

११. पाँच गठबन्धनको नेताहरुको रो'मा बोल्ने महिला नेताहरु खै?

१२. केपी ओली सुध्रिए स्वागत गर्नुपर्छ भनेर माधव नेपालले भन्नुभएछ। के अब आत्मालोचना गरे फर्कने कुरा हो?

१३. धादिङमा स्याल करायो भनेर प्रधानमन्त्री ओलीले भन्नुभयो। अदालतमा प्रचण्डको सेटिङ देखियो भन्ने कुरा के हो?

१४. संवैधानिक निकायमा कांग्रेस सभापति देउवाका नजिकका व्यक्तिहरु नियुक्त भए भनेका छन्। यस सन्दर्भमा देउवाको भनाई के हो?

१५. धोइपखाली भए पनि यही नेताले काम चलाउनुपर्छ भन्नुको मतलब के हो?

१६. देउवाले पहिले दायाँका कम्युनिस्टसँग पनि मिल्दैनौँ। बायाँका कम्युनिस्टसँग मिल्दैनौँ भनेका थिए। अहिले दयाँ पनि बयाँ पनि कम्युनिस्ट राखेर कांग्रेस उभिएको छ, यसको सैद्धान्तिक जवाफ के हो?

१७. बाढी र पहिरोमा सरकार त देखेन देखेन, विपक्षी दलले पनि प्रभावित ठाउँमा खुट्टा टेक्ने आँट गरेन, किन हो?

प्लान बी र संवैधानिक नियुक्तिबारे आएन जवाफ

कार्यक्रममा नेताहरुले आफ्नो तर्फबाट धेरैभन्दा धेरै प्रश्नको जवाफ फर्काए। यद्यपि अब गठबन्धनको प्लान बी के हो भन्नेबारे भने जवाफ फर्काएनन्। त्यसैगरी देउवाले आफू निकटका व्यक्तिलाई संवैधानिक निकायमा नियुक्ति दिएकोबारे पनि जवाफ दिन तयार देखिएनन्। बरु देउवाले आफू महाधिवेशनमा सभापतिको आकांक्षी भएको घोषणा गर्न भ्याए। गठबन्धनको नेतृत्वमा महिला सहभागिता नभएकोबारे सञ्चालक पौडेलले निम्ता दिए पनि आउन नभ्याएको जवाफ दिए। बाह्य हस्ताक्षेप बढ्यो भनी गठबन्धनबाटै सरकारमाथि प्रश्न उठाएको भन्दै पत्रकारहरुले कहाँबाट भएको स्पष्ट जनतालाई भन्दिनुपर्‍यो भन्ने प्रश्नमा पनि नेताहरुले खासै चासो देखाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell