PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि



प्रकाश भण्डारी

पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि

काठमाडौँ : केपी शर्मा ओली सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै अहिले पाँच विपक्षी दल गठबन्धन न्यायिक आन्दोलनमा एकजुट छ। हिजो ओलीसँगै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालालाई दायाबाँया राखेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दाबी गरिरहेका छन्।

यो पाँच दलीय गठबन्धनमा जनता समाजवादी पार्टी र जनमोर्चको पनि साथ छ। यद्यपि कम्युनिस्टले काँथ थापेर कांग्रेसलाई बोक्दै हिँडेको यो गठबन्धनमाथि धेरैले प्रश्न गरिरहेका छन्। शनिवार पाँच दलको गठबन्धनले नयाँ बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा पनि यस्तै प्रश्नको वर्षा भयो।

खासगरी सुझाव माग्न थालिएको छलफलमा राजनीतिक बिटमा लेख्ने पत्रकारहरुले गठबन्धनको निरन्तरतामाथि आशंका व्यक्त गरे। सबैभन्दा बढी आशंका एमाले वरिष्ठ नेता नेपालमाथि। पछिल्लो समय नेपाल गठबन्धनसँग टाँसिएपनि उनका समूहका दोस्रो तहका नेताहरु प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्क र सम्वादमा छन्। यही विषयमा पत्रकारहरुले उनीमाथि प्रश्न गरेका हुन्।

यो गठबन्धन कहिलेसम्म जान्छ? अदालतको निर्णय एउटा आएपछि तपाईंहरु छुटेर आफ्नो आफ्नो बाटो लाग्ने हो कि?

केपी ओली सुध्रिए स्वागत गर्नुपर्छ भनेर माधव नेपालले भन्नुभएछ। के अब आत्मालोचना गरे फर्कने कुरा हो?

देउवाले पहिले दायाँका कम्युनिस्टसँग पनि मिल्दैनौँ। बायाँका कम्युनिस्टसँग मिल्दैनौँ भनेका थिए। अहिले दयाँ पनि बयाँ पनि कम्युनिस्ट राखेर कांग्रेस उभिएको छ, यसको सैद्धान्तिक जवाफ के हो?

गठबन्धनका नेतासँग सोधिएको प्रतिनिधि प्रश्न थिए यी।

प्रश्न वर्षिएपछि गठबन्धनका नेताहरुले आफूहरुको मिलन अहिले नै नछुट्टिने भन्दै एकले अर्काको प्रशंसा गरे। माधव नेपालले त आफूमा कन्फिडेन्स लेभल बढेकोसमेत बताए। देउवाले नेपाल लडाकू भएको भन्दै प्रशंसा गरे। देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन। हामीले उभ्याएका हौँ। साथ दिन्छौँ भनेर - यसरी नै प्रचण्डले देउवाको प्रशंसा गरे।

नेपालले धोका नदिने

नेकपा एमालेका वरिष्ठ नेता नेपालले आफू गठबन्धनमा छुट्टै पार्टीका रूपमा सामेल नभई एमालेको विद्रोही पक्षको रूपमा भएको बताए। उनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका कारण आफूमात्र नभई देश नै संकटमा परेको आरोप लगाए।

'हामी छुट्टै पार्टीका रूपमा छैनौँ। हामी एमालेकै विद्रोही पक्षका रूपमा छौँ। राष्ट्रियताका पक्षमा उभिएका दलमध्ये हामी एमालेको विद्रोही पक्षका रूपमा छौँ। हाम्रो लडाईं केपी ओली प्रवृत्ति विरुद्धको लडाईं हो। केपी ओलीमा शक्ति र पैसाको मात लागेको छ,' नेपालले भने।

आफूलाई प्रधानमन्त्रीका लागि ओलीले अफर गरिरहेको भए पनि गठबन्धनलाई धोका नदिने नेपालको भनाई थियो। 'हामी गठबन्धनलाई धोका दिन्नौँ। प्रधानमन्त्री पद दिएपछि माधव नेपालको खुट्टा काम्ने होकी भन्ने लाग्न सक्छ तर त्यसो होइन,' उनले भने।

ओली वाल्मिकी बन्छन् कि भन्ने लागेकोमा अब त्यो बाटो नरहेको र ओलीले आत्मालोचना नगर्ने नेपालको दाबी छ। उनले ओलीबाट आश गर्ने समय सकिएको पनि बताए।

'बालुवा पेलेर तेल निस्केन। मैले पहिले भनेको थिएँ। बामदेवजीले पनि अहिले बुझ्नुभयो। सिङ्गै देश हैरान छ ओलीबाट पहिले हामी भयौँ। अहिले जनता।आफैँ संस्कार छैन भन्ने आफैँ उल्लङ्घन गर्ने,' नेपालको भनाई थियो।

'प्रधानमन्त्री देउवा हुन्छन्'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरे। २० जना मन्त्रीको पद जाने बारेमा आफूलाई पूर्वसूचना नभई संविधान अनुसार बोलेको प्रचण्डको प्रष्टीकरण थियो।

'हेर्नुहोला केपी पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। यो सेटिङ गरेर भनेको होइन,' उनले भने।

गठबन्धनका कोही नेताले पनि प्रधानमन्त्रीको लोभ नगरेको बताएका प्रचण्डले देउवालाई आफूहरूले अघि सारेको बताए। भने, 'देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन। हामीले उभ्याएका हौँ। साथ दिन्छौँ भनेर।'

ओलीले अदालतलाई धम्काउन थालेको प्रचण्डको आरोप छ। 'केपीले अहिले अदालतलाई धम्काउन थालेका छन्। कहिले महान्यायाधिवक्ता मार्फत त कहिले आफैँ थर्काउन थालेका छन्,' उनले भने।

'राष्ट्रपतिले हदभन्दा बढी गर्नुभयो'

देउवाले राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता भएको आरोप लगाए। उनले संविधान अनुसार आफूले प्रधानमन्त्रीका लागि दाबी गरे पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको बताए। सांसदहरूको सनाखत गराएर भए पनि आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा संसद् विघटनलाई सदर गरेको देउवाको आरोप थियो।

'राष्ट्रपतिले हदभन्दा बढी गर्नुभयो। सबैभन्दा दुःख राष्ट्रपतिलाई लाग्छ। आधार प्रस्तुत गरेपछि स्पष्ट संविधानमा छ प्रक्रिया तर संविधान मिच्ने मान्छेले के संविधान जोगाउँछ?,' उनले भने।

ओलीले आफ्नै पार्टीका नेतालाई समेत धोका दिएकाले उनी अधिनायकवादी भएको देउवाले आरोप लगाएका छन्। 'ओलीले आफ्नै पार्टीका साथीलाई त त्यस्तो गरे। अरूलाई छोड्ला? अधिनायकवादी हुन्,' देउवाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell