PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

निषेधाज्ञा थप गर्न काठमाडौं उपत्यकाभित्रका सिडिओको बैठक बस्दैः सार्वजनिक सवारी खोल्ने विषय भने अन्योलमै



पहिलोपोस्ट

निषेधाज्ञा थप गर्न काठमाडौं उपत्यकाभित्रका सिडिओको बैठक बस्दैः सार्वजनिक सवारी खोल्ने विषय भने अन्योलमै

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। भोलि रातिबाट पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सकिन लाग्दै गर्दा निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो।

निषेधाज्ञा एक साता थप गरेर केही क्षेत्रलाई अझै खुकुलो बनाएर लैजाने तयारी भइरहेको छ। तर कुन कुन क्षेत्रलाई थप सहज बनाउने भन्ने विषयमा कुनै निर्णयमा नपुगेकाले यसबारे बैठकपछि नै थाहा हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

'सम्बन्धित अन्य निकायहरूसँग छलफल गरेर कसरी निषेधाज्ञा गर्न सकिन्छ भन्ने तयारीमा नै छौँ,' प्रजिअ पराजुलीले भने।

अहिले वार र समय तोकेर धेरैजसो पसलहरूलाई खोल्न दिएको छ। खोलिएका पसलहरुको समय थप गर्ने तयारीसमेत भइरहेको छ। त्यस्तै होटेल तथा रेष्टुरेष्ट पनि टेकअवे सुविधा दिइरहेका छन्। निजी सवारी साधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। तर सार्वजनिक सवारीलाई भने निषेध नै गरिएको छ।

'सार्वजनिक सवारीको हकमा यसै भन्ने अवस्था छैन। छलफलपछि के हुन्छ हेरौँ,' प्रजिअ पराजुलीले भने।

आज दिउँसो ४ बजे तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। त्यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीसँग पछिल्लो कोरोना संक्रमणको अवस्था र सुझाव लिएर निषेधाज्ञाको मोडालिटी थप परिवर्तन गर्ने तयारी भइरहेको छ।

सार्वजनिक सवारीको हकमा सरोकारवाला निकायहरूको फरक प्रतिक्रिया आएकाले पनि तीन वटै जिल्लाका सिडिओहरू अलमलमा छन्। कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ। स्कुल, कलेज, सपिङ मल, मठ मन्दिर, पार्टी प्यालेसलगायत मानिसको भिडभाड हुने क्षेत्र भने अझै केही साता बन्द हुने देखिएको छ।

असार १७ गतेदेखि भने आन्तरिक हवाई उडान खोल्ने सरकारले निर्णय गरिसेको छ। निजी सवारी साधन र हवाई उडान खोल्दा सार्वजनिक सवारीलाई भने निषेध गरिएकोमा यातायात व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्।

त्यस्तै देशका अन्य ७२ वटा जिल्लामा समेत निषेधाज्ञा जारी रहेको छ। पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमणको सङ्ख्या घट्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell