काठमाडौं : नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आइतवार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बैठक बोलाउन निर्णय गरेको हो।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले असार १६ गते बैठक बोलाइएको बताए। उनले पार्टीका सांगठनिक कामहरु क्रमिक रुपमा अघि बढाउनका लागि विभिन्न कमिटीका बैठकहरु बस्न लागेको जानकारी दिए। एमालेमा देखिएको जटिलता तथा विपक्षी गठबन्धनले गरिरहेका गतिविधिको बारेमा बैठकमा छलफल भएको थियो। 'समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ। अब पार्टी नियमित सांगठनिक गतिविधिमा अघि बढ्छ,' तामाङले भने।
'नेपाल-खनाललाई नपर्खने'
नेकपा एमालेको असन्तुष्ट समूह माधवकुमार नेपाल-झलनाथ खनालसँग वार्ताको प्रयास भए पनि ठोष रुपमा सहमति नभएको भन्दै एमालेका नेताहरुले बैठकमा ब्रिफिङ गरेका थिए। यस्तै, नेपाल-खनालसँगको वार्तालाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो। यद्यपि बैठकले नेपाल-खनालले पर्खिएर सांगठनिक काम नरोक्ने भएको छ। अब चाँडै महाधिवेशनको तयारी थालिने तामाङको भनाई छ। उनले अहिले सदस्यता रिन्युको काम भइरहेको र चाडै महाधिवेन र विधान संशोधनको तयारी हुने बताए।
'वार्ताका लागि पहल भए पनि ठोस आइसकेको छैन। प्रयत्न भइरहेको छ। हामी सदस्यता रिन्यूको अभियानमा छौं। पार्टी केन्द्रीय कमिटी बैठक बसेर सम्भवत अब छिट्टै विधान महाधिवेशन तर्फ जान्छौं,' उनले भने।
नेकपा एमालेको विवाद कायमै रहेकाले नेपाल-खनालले विपक्षी ५ दलको गठबन्धनसँग सहकार्य गरिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल खनाल सहितका ११ जनालाई गरेको कारवाही जारी नै राखेका छन्। दुवै समूहबाट ६ वुदे शर्त सहित सहमतिका लागि आह्वान भए पनि एक अर्काले शर्तसहित सहमति नहुने बताएका छन्।
'एकाताका ठ्यामै मेला नखाने अभिव्यक्ति छन'
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कतिपय नेताहरुको अभिव्यक्तले एकता सम्भव नभएको बताए।
'नेकपा एमालेका कतिपय नेताका अभिव्यक्ति ठ्यामै मेल खाने खालका छैनन्। एमालेलाई थप कमजोर गर्ने एमालेलाई विभाजन गर्ने एमालेको सरकार जसरी पनि विस्थापित गर्ने खालका छन्,' उनले भने।
नेपाल-खनाल समूहका सिमित नेताहरुको चाहाना मात्रै एमालेसँग नमिल्ने भएको उनको भनाई थियो। तर, कार्यकर्ता र जनताको चाहाना एकता एमाले भएको ज्ञवालीले बताए।
एकताको विषय के हुन्छ त?
ज्ञवालीले नेपाल-खनालको मुभका आधारमा एमाले एक हुने नहुनेबारे थाहा हुने बताए।
'केही सीमित नेताहरुको चाहना होला। स्थायित्वका पक्षधरको चाहना होइन। जनस्थरबाट पनि यसबारेमा चिन्ता व्यक्त भइरहेका छन्। हामीले आशा मारेका छैनौं। नेताहरुले आन्दोलन र आफ्नो भविष्य कतातिर लैजानुहुन्छ आउने दिनमा थाहा हुन्छ होला,' उनले भने।
सर्वोच्च अदालतको जेठ २७ गतेको मन्त्रिपरिषद विस्तारको निर्णयलाई बदर गर्ने आदेश त्रुटिपूर्ण भएको एमालेको भनाई छ। उक्त फैसलाका बारेमा माहाधिवेशन आयोजक कमिटीले आवश्यक निर्णय गर्ने ज्ञवालीको भनाई छ।
'जेठ २७ गते सर्वोच्च अदालतको फैसला गम्भीर त्रुटि हो। अदालतको फैसा मानेर अगाडि बढेका छौं। त्यस फैसलाको परिप्रेक्षमा आवश्यक परेमा महाधिवेशन कमिटीले निर्णय गर्न सक्छ,' उनले भने।
खुच्चिङ नगर्न चेतावनी
ज्ञवालीले नेकपा एमालेलाई परेको समस्यामा विपक्षी दललाई खुचिङ नगर्न चेतावनी दिए। एमालेलाई संकट पर्दा दलीय प्रणालीमै समस्या सिर्जना भएको विगतलाई सम्झाउदै ज्ञवालीले अहिले पनि त्यही स्थिति रहेको टिप्पणी गरे।
'अहिले एमालेललाई परेको समस्यामा खुचिङ गरेमा त्यसको परिणाम ठीक हुँदैन। हाम्रो चिन्ता प्रणालीको रक्षामा हो,' ज्ञवालीले भने।
नेकपा एमालेमा ओली र नेपाल-खनाल दुवै समूहले एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव मार्फत् शर्त राखेका छन्। एक अर्काका शर्त मान्न तयार नभएपछि हाल एमालेको किचलो झन् बढेको हो। एमाले नेतृत्वको सरकारलाई नेपाल-खनालले साथ नदिएपछि ओली थप दवावमा परेका हुन्। उनी निकट नेताहरुले एकताको पहल भइरहेको भए पनि अब एमाले एकै रहने सम्भावना कम भएको बताएका छन्।
