PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अनेक विवादबिच डेढ वर्षपछि सकियो फिल्म 'गंगूबाई काठियावाडी'को छायाँकन



पहिलोपोस्ट

अनेक विवादबिच डेढ वर्षपछि सकियो फिल्म 'गंगूबाई काठियावाडी'को छायाँकन

फिल्म 'गंगूबाई काठियावाडी'को छायाँकन सकिएको छ। माफिया डन गंगूबाईको जीवनमाथि बन्न लागेको बायोपिकको छायाँकन सुरु भएको डेढ वर्षपछि पूरा भएको हो। बिचमा कोरोना महामारीका कारण काम स्थगित भएको थियो। लकडाउनकै बेला भारी वर्षाका कारण फिल्म खिच्न बनाइएको सेट भत्किएपछि छायाँकन प्रभावित भएको थियो।

फिल्मको एउटा गीत र केही भाग खिचिएको थिएन। भारतमा लकडाउन खुकुलो भएसँगै फिल्मको खिच्न बाँकी भाग मुम्बईको फिल्म सिटीमा पूरा गरिएको हो।

सेट निर्माणपछि पनि मुख्य अभिनेत्री आलिया भाट्, निर्देशक संजयलीला भंशालीसहित क्रुका केही सदस्यलाई कोभिड-१९ को संक्रमण भएको थियो। त्यसपछि केही समयलाई पुन: काम स्थगित भयो जसले गर्दा फिल्मको छायाँकन अवधि लम्बिँदै गयो।

यसबिचमा फिल्म निर्माण युनिट अनेक विवादमा समेत नपरेको होइन। हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित फिल्मले गंगूबाईको गोपनीयता र स्वतन्त्रता भङ्ग गर्न लागेको साथै आतमसम्मानमा चोट पुर्‍याएको आरोप लागेको हो। गंगूबाईका धर्मपुत्र बाबुजी रावजी शाहले फिल्म निर्देशक, लेखक र अभिनेत्रीविरुद्ध मानहानीको आरोपसहित निवेदन दिएका थिए। उक्त विवाद मेलमिलापमा पुगेर टुंगियो।

त्यस्तै भारतको महाराष्ट्र कांग्रेसका विधायक अमीन पटेलले फिल्मको नाम परिवर्तन गर्न दवाव दिएका थिए। फिल्मको नामले काठियावाड शहरको छवि बिगार्ने भन्दै उनले नाम परिवर्तन गर्न भनेका हुन्। पटेलले महाराष्ट्र विधानसभामा अहिले काठियावाड क्षेत्र सन् १९५० को दशकको जस्तो नभएको भन्दै त्यहाँका महिलाहरू अहिले विभिन्न पेशामा अगाडि बढिसकेको बताए। उनले राज्य सरकारलाई यसमा हस्तक्षेप गर्न समेत भने।

फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ। केही दिनअघि मात्र निर्देशक भंसालीले जन्मदिनमा फिल्मको टिजर सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell