काठमाडौं : गएको हप्ता फिल्म सम्बन्धि जानकारी दिने रजतपट युनिटले काठमाडौंको एक बाल आश्रममा खाना खुवायो। सोही संस्थाका लागि खाद्यान्नसमेत उपलब्ध गराएको थियो। उक्त कार्यक्रममा सहभागी भए कलाकार आकाश श्रेष्ठ। खाद्यान्न बोकेको गाडी बिग्रिँदा श्रेष्ठले चामलको बोरा बोकेरै आश्रमसम्म पुर्याएका थिए।
आकाश यस अभियानमा जोडिँदा अभिनेत्री पुजा शर्माले भने मन दुखाएकी छिन्। उनले आकाशसँगको आफ्नो मित्रता एकतर्फीमात्र भएको अड्कल काटिन्। कारण - पत्रकार प्रकाश सुवेदीसँग उनको दुश्मनी।
गत वर्ष लकडाउन ताका प्रकाश सुवेदीले ‘रजतपट’ कार्यक्रममा पूजालाई लक्षित गर्दै एउटा अभिव्यक्ति दिएका थिए। सुवेदीले पूजालाई ‘दाह्रा निस्किएकी नायिका’ भनेपछि प्रकाश र पूजाबीच विवाद भयो। पूजाले कार्यक्रम प्रसारण हुने एपीवान टेलिभिजनमासमेत प्रकाशविरुद्ध उजुरी दिएकी थिइन्। त्यसपछि सुवेदीले माफी मागेर विवाद टुंगिएको थियो। तर, पनि उनीहरुबिचको शीतयुद्ध जारी नै थियो।
सोही व्यक्तिसँग आफ्नो निकै मिल्ने साथी आकाशले सहकार्य गर्दा पूजाले दु:ख व्यक्त गरेकी हुन्। आकाशले त्यसरी जानुअघि एकपटक उनको मन दुख्छ होला भनेर सोच्नु वा सोध्नु पर्ने उनको तर्क छ।
‘फोटो देखेपछि म जसरी विवादको बेला तर्सिएको थिएँ, उसैगरी तर्सिएँ। मलाई त्यो घटनाले टर्चर नै भएको थियो। तर, आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो एकतर्फी मित्रता रहेछ भन्ने महशुस भयो। उनले कार्यक्रम 'धमलाको हमला'मा भनिन्, 'उसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ। म छ महिना रोएको उसले देखेको छ। त्यो देखेर पनि आकाश त्यहाँ जाँदा मन दुखिहाल्छ नि।’
फिल्म ‘रामकहानी’बाट हो पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता सुरु भएको। त्यसपछि ‘सम्हालिन्छ कहिले मन', 'पोइ पर्यो काले', 'सम्झना बिर्सना’ फिल्ममा दुबैलेसँगै काम गरे। साथै केही म्यूजिक भिडियोमा पनि एकसाथ फिचर्ड छन्। दर्शकहरुले निकै रुचाएका थिए 'पुआ' जोडी। उनीहरूबिच प्रेमसम्बन्ध रहेको र चाँडै विवाह हुने कुरा समेत चल्यो। तर आकाश र पुजाले भने प्रेमसम्बन्ध कहिल्यै स्विकार गरेका थिएनन्।