बैतडी : पहिरोले खानेपानीको संरचनामा क्षति पुर्याएपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ। गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिरोले क्षति पुर्याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन्।
गत शुक्रवारको पहिरोले सूर्नया गाउँपालिका-३ धरमघरमा खानेपानी संरचनामा क्षति पुर्याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए। पहिरोले खानेपानी लाइन करिब ३/४ सय मिटरमा क्षति पुर्याएको छ।
बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताए। खानेपानी पुनः सञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ।
सरकारी कार्यालय बुधवारदेखि खुल्ने
जिल्ला प्रशासन कार्यालयलगायत यहाँका सबै सरकारी कार्यालयले बारअनुसार सेवा दिने भएका छन्। कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बन्द गरेका जिल्लास्थित सबै सरकारी कार्यालयले आगामी बुधवारदेखि बारअनुसारका सेवा दिने भएका हुन्।
कोरोनाको संक्रमणदर बढेसँगै गत बैशाखदेखि बन्द भएका सेवा यही असार १६ गतेदेखि नियमित रुपमा पुनः सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयसहित अन्य कार्यालयले दिने सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ। फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय भएको छ।
कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले भिडभाड कम गर्न बारअनुसारको सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाइ छ। जिल्लामा गत बैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा यही असार १५ गते सकिँदैछ। कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म १८ व्यक्तिको मृत्यु भइसकेको छ।