यूईएफए युरो कपमा आज अन्तिम १६ का दुई खेल हुँदैछ।
आज हुने पहिलो खेलमा क्रोएसिया र स्पेन आमने सामने हुनेछन्। डेनमार्कस्थित पार्केन स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ।
समूह 'डी' को उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह चरणमा १ जित, १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको थियो। जसमा इङ्ग्ल्याण्डसँग १-० ले पराजित भएको थियो भने चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको थियो। त्यस्तै स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराएको थियो।
त्यस्तै स्पेन समूह 'ई' को उपविजेता हो। सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको स्पेनले समूहको अन्तिम खेलमा फराकिलो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो। पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा स्लोभाकियामाथि ५-० को फराकिलो जित निकालेको थियो।
त्यस्तै आजै राति हुने दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन्। यसअघिको विश्वकप विजेता फ्रान्स 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ'बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। अर्कोतर्फ समूह 'ए' को तेस्रो स्थानमा रहेको थियो। र, तेस्रो स्थानमा रहेका टिममध्ये शीर्ष चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।
समूह चरणमा फ्रान्सले पहिलो खेलमा जर्मनीलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा हंगेरीसँग १-१ को र तेस्रो खेलमा पोर्चुगलसँग २-२ को बराबरी खेल्दै ५ अंक जोडेर समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थानमा बनाएको थियो।
त्यस्तै, स्वीजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेल्दा इटलीसँग ३-० को पराजय र टर्कीमाथि ३-१ को जित निकाल्दै ४ अंक जोडेको थियो। यी दुई टोली बिच राति पौने १ बजे रोमानियास्थित नेशनल एरेना स्टेडियममा प्रतिस्पर्धा हुनेछ।
