काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ। थप एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्।
'पसलहरुमा लगाइएको बार प्रणाली हटेको छ। अब जुनसुकै बार पनि खोल्न पाइने छ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।
तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसलहरु भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।
होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्।
सार्वजनिक सवारी पनि खुल्दै
भोलिबाट काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चल्ने भएका छन्। त्यस्तै काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा थप गरिएको छ।
आज काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठेकले सार्वजनिक सवारी साधन खोल्न दिने निर्णय गरेको हो।
तर, स्वास्थ्य मापदण्ड पूरा गरेर २५ सिट क्षमता भन्दा बढी भएका सार्वजनिक सवारी साधनहरु मात्र चल्न पाउने छन्। यसमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी चलाउन पाउने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।
'२५ सिट भन्दाबढी क्षमता भएका सवारीलाई जोरबिजोरको आधारमा भोलिबाट चल्न दिने निर्णय भएको छ,' प्रजिअ निरौलाले भने।
निलो माइक्रोबस, ट्याम्पु लगायतका साना सार्वजनिक सवारी साधनलाई भने खोल्न नदिने निर्णय भएको छ। असार ८ गतेदेखि निजी सवारी साधनलाई समेत जोरबिजोर प्रणालीको आधारमा चल्न दिएको छ।
त्यस्तै, मानिसको भिडभाड हुने क्षेत्रहरु विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने समेत सहमति भएको छ।
यसअघि समय र बार निर्धारण गरेर पसल खोल्न दिएका पसलहरुको समय केही थप गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ। थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ।
