काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश ब्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालप्रति ओलीले तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिएका हुन्। उनले राष्ट्रिय जनमोर्चाको राजनीति नै सत्ता भएको भन्दै आलोचना गरे। बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको कार्यक्रमा ओलीले विपक्षी गठबन्धनको आलोचना गरेका हुन्।
'कांग्रेस प्रचण्ड पथमा'
ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको भन्दै चर्को आलोचना गरेका छन्। नाथुराम गोड्सेको खोजी गर्नेलाई पनि नेपाली कांग्रेसले कारवाही नगरेको भन्दै हिंसालाई प्रोत्साहन गरेको आरोप लगाए।
'राजनीतिक कार्यकर्तालाई स्वार्थ बोक्न लगाइदिने। विचारको सम्प्रेषण गर्ने झुट र वेइमानी लगाउने। नेपाली कांग्रेसका कार्यर्ताले नाथुराम गोडसेको खोज्ने त्यो भनेको प्रचण्ड पथ नै हो,' ओलीले भने।
'प्रचण्डको पुच्छर माधव नेपाल'
एमालेका नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर झुटो प्रचार गरेको ओलीको आरोप छ।
'झुटको राजनीतिक कसरी गर्छन् तपाईँ भन्नुस्। मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे भनेर माधव नेपाल भन्दै हिँड्नुभएको छ,' ओलीले भने। नेपालले जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिए पनि देउवालाई धोका नदिने कसम खाएको आरोप लगाए। उनले नेपाल कांग्रेसमा प्रवेश गर्नसक्ने टिप्पणी समेत गरे।
'म जनतालाई धोका दिने कसम खाएको छु। सबैलाई धोका दिन्छु तर शेर बहादुर देउवालाई धोका दिँदैन। उनी नेपाली कांग्रेस पनि जोइन गर्न सक्छन्,' ओलीले भने।
ओलीले आफूले नेपाल जस्तो व्यक्तिलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नै नसक्ने बताए। उनले नेपाल प्रचण्डको पुच्छर भएको आरोप समेत लगाए।
'मलाई बहुला कुकुरले टोकेको छ र? कोही नपाएर माधवकुमार नेपाल जस्तालाई प्रधानमन्त्री बनाउला त। कहिले अध्यक्षको प्रस्ताव राख्ने भनेको छ। ती एक ढंगले भन्ने हो भने, प्रचण्डका पुच्छर हुन्। उनी यता जाउ भने भने त्यतैतिर जाउँ भन्छन्,' उनले भने।
माधव नेपाल जति अराजक व्यक्ति अरु कोही नभएको ओलीको आरोप थियो। उनले एमालेबाट राजीनामा नदिएर बेइमानी गरेको ओलीको आरोप थियो। नेपालले जीवनभरी मदन भण्डारीको विरोध गरेको तर आज वक्तव्य दिएको ओलीको आरोप थियो।
'प्रचण्ड छेपारो'
ओलीले प्रचण्डलाई छेपारोको संज्ञा दिएका छन्। उनले रङ फेर्नु अनौठो नभएको ओलीको आरोप थियो।
'उहाँहरुले महन्थ ठाकुरलाई प्रधानमन्त्री भइदिन जोड गर्नुभो। मैले त छोडेको त्याग गरेको भन्नुहुन्छ। त्यतातिरका सबले त्याग गरेको हो कि एक्लो शेरबहादुर देउवाले मात्रै लोभ गरेको हो कि,' उनले भने।
कहिले कम्फर्टेबल त कहिले गणतन्त्रभन्दा राजतन्त्र ठीक भएको भन्दै रङ फेरेको ओलीको आरोप थियो।
'कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छन्। कहिले गणतन्त्रभन्दा राजतन्त्र ठूलो भन्ने गर्छन्। कहिले विदेशबाट हतियार ल्याएर नरसंहार गर्छु भन्छन्। साना सहकारी लुटेर खत्तम बनाइदिएको हुन्छ। कहिले बादर मुढे घटाउँछन्। महिनौंसम्म नियन्त्रणमा लिएर मानिसहरुको जघन्य अपराध गर्छन्। कुन प्रणालीका विरुद्धमा लडेको हो जनयुद्ध?' ओलीले भने।