PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

तिलावे पुल निर्माणमा ढिलासुस्ती : पाँच वर्षमा पनि काम पूरा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय



राधेश्याम पटेल

तिलावे पुल निर्माणमा ढिलासुस्ती : पाँच वर्षमा पनि काम पूरा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

वीरगंज : पर्साको ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने तिलावे पुलको काम ५ वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन। ठेकेदारको बद्माशीका कारण पर्साको बहुप्रतिक्षित योजनाको रुपमा रहेको तिलावे पुलको काम सम्पन्न नभएको हो।

पुलको काम पूरा नहुँदा अहिले वीरगंज-पोखरीया तथा वीरगंज-सबैठवा सडकखण्ड भएर आउजाउ गर्ने सर्वसाधारणलाई सास्ती खेप्नु परेको ग्रामिण भेगका स्थानीयले बताएका छन्। उनीहरुका अनुसार पुरानो पुलको चौडाई साघुरो छ, दुई तर्फी गाडी पास हुँदैन। तर, बिहान र बेलुका पर्साको सदरमुकामसम्म आउने यात्रुको संख्या र सवारीको चाप अत्यधिक हुने गरेको छ। जसको कारण पुलमा खास गरी बिहान र बेलुका भिडभाड र ट्राफिक जाम हुने गरेको छ।

‘वीरगंज पुग्न बिहान ८ देखि ११ बजेसम्म निकै जाम लाग्छ, यो सधैँको पीडा हो, एक तर्फबाट गाडी आउँदा अर्को लेनमा घण्टौँ कुर्नु पर्छ। कति जना अस्पतालमा जाने बिरामी पनि जाममा फसेर सास्ती खेप्छन्’, पर्साको धोबिनी २ आसवारीका सुरेश पटेलले भने, ‘नेताहरुले अरु केही नगरे पुलको काम सक्दो चाँडो गराउन दबाब दिनु पर्छ।’

करिब ७ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको पुलको काम २ वर्षमै पूरा गर्ने गरी पप्पु/लुम्बिनी जेभीले सम्झौता गरेका थिए। बितेको ५ वर्षमा ३ वर्षमा पप्पु र पछिको २ वर्ष लुम्बिनी बिल्डर्सले कामै नगरी बसेको छ। जसको कारण स्थानीय दिनहुँ सास्ती खेप्न बाध्य छन्। ठेकेदारले पुल निर्माणको काममा ढिलाई गर्दा यस वर्षको बर्खामा पनि पर्साको ग्रामिण क्षेत्रका जनताले सास्ती खेप्नु पर्ने अवस्था सृजना भएको स्थानीय बताउँछन्।

बर्खाले पुलको दक्षिणपट्टि निर्माण गरिएको डाईभर्सन बगाएपछि अहिले पुरानो जीर्ण पुलबाट सबै प्रकारको सवारी सधान ओहोरदोहोर गरिरहेका छन्। प्राविधिकका अनुसार पुल जीर्ण भएर बेलाबेलामा हल्लिने गरेको छ। ५ वर्षमा पुलको दुई स्पानमध्ये १ स्पानको मात्र काम भएको छ। हुलाकी राजमार्ग आयोजनाभित्र पर्ने उक्त पुलको काम करिब ६५ प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ।

२० महिना अगाडि लुम्बिनी बिल्डर्स र हुलाकी राजमार्ग आयोजनाबीच पुलको बाँकी काम अघि बढाउने दुई पक्षीय सम्झौता भएको थियो। पुल निर्माणका लागि २०७३ असारमा पप्पु/लुम्बिनी जेभीले ठेक्का पाएको भए पनि पुलको काममा ढिलाई हुँदा अहिले करिब ४ महिनादेखि रोकिएको छ।

यसै असारसम्म पुल निर्माण गरिसक्नु पर्ने म्याद रहेकोमा कोरोना महामारीले काम रोकिएको लुम्बिनी बिल्डर्सका कार्यकारी निर्देशक विष्णु शर्माले दावी गरे। अब लकडाउन खुलेपछि मात्रै काम अघि बढ्ने उनले बताए। कोरोना महामारीमा श्रमिक र निर्माण सामग्री उपलब्ध हुन नसक्दा पुल निर्माणको काम अघि बढाउन नसकेको उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell