फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले स्वीट्जरल्याण्डविरुद्धको अन्तिम १६ को खेलमा पेनाल्टीमा चुकेकोमा माफी मागेका छन्। उनले इन्स्टाग्राममा पोस्ट गर्दै प्रतियोगिताबाट बाहिरिँदा अत्यन्तै दु:खी रहेको उल्लेख गर्दै माफी समेत मागेका छन्।
'म त्यो पेनाल्टीका लागि माफी चाहन्छु। म टिमलाई सहयोग गर्न चाहन्थेँ। तर, म असफल भएँ,' उनले लेखेका छन्, 'यो पछी निदाउनका लागि अत्यन्त कठिन भएको छ। तर दुर्भाग्यबस खेलका यी आरोह अवरोहहरु हुन्।'
उनले अगाडि लेखेका छन् : सबैभन्दा महत्वपूर्ण कुरा भनको भविष्यमा प्रतिवद्ध भएर फेरि उठ्ने नै हो।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले स्वीजरल्याण्डसँगको हारको जिम्मा एम्बाप्पेलाई दिन अश्विकार गरेका छन्।
'उ सँग कोही निराश हुन सक्दैन,' उनले भनेका छन्, 'तपाई जिम्मेवारी लिनुहुन्छ भने यो हुनसक्छ।'
त्यस्तै ब्राजिलियन फुटबल लेजेन्ड पेलेले पनि एम्बाप्पेलाई शीर उच्च राख्न सुझाव दिएका छन्।
Keep your head up, Kylian! Tomorrow is the first day of a new journey, @KMbappe.
— Pelé (@Pele) June 28, 2021
'आफ्नो शिर उच्च राख किलियन, भोलि नयाँ यात्राको पहिलो दिन हुनेछ।' पेलेले एम्बाप्पेलाई मेन्सन गर्दै ट्वीट गरेका छन्।
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको थियो। रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुवै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराउँदै स्वीट्जरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गर्यो। फ्रान्सको तर्फबाट एम्बाप्पे पेनाल्टीमा चुकेका थिए।
