PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मौसमले साथ दिँदा किसानलाई राहत, लुम्बिनीमा सकियो ४५ प्रतिशत रोपाई



पूजा पन्थी

मौसमले साथ दिँदा किसानलाई राहत, लुम्बिनीमा सकियो ४५ प्रतिशत रोपाई

बुटवल : लुम्बिनी प्रदेशमा यो वर्ष हालसम्म करिब ४६ प्रतिशत रोपाई सकिएको छ। प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाई सकिएको हो। असार ११ गतेसम्मको हो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा रोपाई कम भएको छ। यस अवधिमा गत वर्ष ४८ दशमलव २ प्रतिशत रोपाई सकिएको थियो।

लुम्बिनीको रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाई सकिएको छ। जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षत्रफल मध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। यसैगरी प्युठानमा ८० प्रतिशत रोपाई सकिएको छ। धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफल मध्ये ४ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। बर्दिया र रुकुम पुर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ।

मन्त्रालयको असार ११ गतेसम्मको तथ्याङ्क अनुसार गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत रोपाई भएको छ। धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफल मध्ये ८३९ हेक्टरमा मात्रै रोपाई सकिएको हो।

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाई सकिएको छ। यो तथ्याङ्क गत वर्षको तुलनामा २ दशमलव ८ प्रतिशतले कमी हो।

गत वर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाई सकिएको थियो। जिल्लामा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। गत वर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो। यो अवधिसम्म यस वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ।

यसैगरी लुम्बिनी प्रदेशमा कपिलवस्तुपछिको धान खेती हुने दोस्रो जिल्ला रुपन्देहीमा ५५ प्रतिशत रोपाई सकिएको छ। यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाई सकिएको थियो। जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ। गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको थियो। यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ।

धान खेती हुने मूख्य जिल्लाहरु मध्येकै तराईको जिल्ला दाङमा ६० प्रतिश रोपाई सकिएको छ। जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो।

यसैगरी नवलपरासीको सुस्ता पश्चिममा यो वर्ष ६० प्रतिशत रोपाई सकिएको छ। कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ। पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाई सकिएको छ। धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफल मध्ये २ हजार ७९७ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो।

यसैगरी लुम्बिनी प्रदेशका जिल्लाहरु खर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ। लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी संजीव ढकालले यो हप्ताको अन्त्यसम्ममा प्रदेशमा ६० देखि ६५ पैतिशतसम्म रोपाई सकिने अनुमान गरिएको छ। मौसमले यसगरी साथ दिएको अवस्थामा साउनको पहिलो हप्तासम्ममा रोपाई सकिने छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell