PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१४ औँ महाधिवेशनको तयारीमा तातियो मकवानपुर कांग्रेस, नेताहरु गोप्य भेटघाट र छलफलमा व्यस्त



निशा गुरुङ

१४ औँ महाधिवेशनको तयारीमा तातियो मकवानपुर कांग्रेस, नेताहरु गोप्य भेटघाट र छलफलमा व्यस्त
फोटो : मकवानपुर कांग्रेस/ट्विटर

हेटौँडा : पटक-पटक सर्दै आएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी तोकिएको छ। विधानतः चार वर्षको नियमित कार्यकालमा एक वर्ष थप गरेपछि पनि सर्दै आएको महाधिवेशन भदौमा गर्ने तरखर गरिएको हो।

यो अवधिभित्र महाधिवेशन गर्नैपर्ने भएकाले पनि महाधिवेशन हुने सम्भावना बढेको नेताहरु बताउँछन्। यसपटक कांग्रेसभित्र सभापतिको आकांक्षी बढेका छन्। सधैँजसो संस्थापन र इतर खेमाका गरी दुई वा बढीमा तीन उम्मेद्वार हुने गरेको कांग्रेसमा यसपटक त्यसभन्दा धेरै उम्मेद्वार हुने सम्भावना रहेको नेताहरु बताउँछन्।

देशैभरि कांग्रेसको महाधिवेशनको तयारी भइरहँदा मकवानपुरमा पनि चहलपहल बढेको छ। कोभिड महामारीसँगै बर्खायाममा पनि नेपाली कांग्रेस मकवानपुरका नेताहरु महाधिवेशको तयारीमा जुटेका छन्।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले महाधिवेशनमा उठ्ने तयारीमा रहेको बताए। उनले आफू कुन ठाउँमा उम्मेद्वार दिन योग्य हुन्छ त्यसमा पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए। तर, तयारी भने प्रदेशतर्फ रहेको जानकारी दिए।

यो महाधिवेशन नभए राजनीतिक दलसम्बन्धी संवैधानिक संकट आउने हुनाले यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण हिसाबले लिएको नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले बताए।

उनले आफू पार्टीले योग्य ठानेमा जिल्ला सभापतिमा उम्मेद्वारी दिने जनाएका छन्। उनले आफू सचिव भइसकेको हैसियतले पनि सभापतिमा उम्मेद्वारी दिने तयारी रहेको जनाएका छन्। सबैको आ-आफनो गोप्य रुपमा बैठक भइरहेता पनि कसैले घोषणा नगरेको हुँदा आफूलाई केहि जानकारी नभएको बताए।

संविधान बनिसकेपछि संघीय चुनाव, प्रदेश चुनाव र स्थानीय चुनावपछि नयाँ संरचना बनेको हुनाले नयाँ संरचनामा पहिलो पटक चुनाव हुन लागेको बताए। मकवापुरमा १४ औं महाधिवेशनमा धेरै भन्दा धेरै प्रतिनिधिहरु हुने हुँदा विभिन्न खालका नयाँ नेतृत्व आउन सक्ने लामा बताउँछन्।

पुराना संरचनालाई मर्ज गर्दै नयाँ संरचनामा जान लागेको हुनाले धेरै ठाउँमा जिम्मेवारी पाउने उनले बताए। १ सय २ वटा वडामा १६ जनाको दरले जिम्मेवार पाउने, दश वटा स्थानीय तहमा, ४ वटा प्रदेशमा, दुई वटा प्रतिनिधि सभामा पनि जिम्मेवारी पाउने र एउटा जिल्ला कमिटिमा पनि जिम्मेवारी पाउने हुँदा हिजो जस्तो थोरै संरचना नभएकोले मकवानपुरमा पनि धेरै जनाको प्रतिस्पर्धा हुने लामाको भनाइ छ।

नेताबीच गोप्य रुपमा भेटघाट र छलफल भएपनि नेपाली कांग्रेस मकवानपुरका सभापतिमा नेताले सार्वजनिक रूपमै उम्मेद्वारी घोषणा भने गरिनसकेको सचिव लामाले जानकारी दिए।

‘छलफल त भइरहेको हुन्छ तर म नै भनेर कोहि आइसक्नु भएको छैन’, उनले भने, ‘केहि दिनमा घोषणा हुन सक्छ।’

नेपाली कांग्रेस मकवानपुरमा क्रियाशिल सदस्य ९ हजार ५ सय २० जना रहेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। पुरानो क्रियाशिल सदस्य ४ हजार २ सय ४२ नविकरण भएको र ५ हजार २ सय ७८ नयाँ क्रियाशिल सदस्य थपिएको कोइरालाले बताए। साउन १२ गते वडा अधिवेशन भइसकेपछि मात्रै को कहाँ जाने टुंगो लाग्ने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell