PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पार्टीलाई २०७५ जेठ २ मा फर्काउन केन्द्रीय कमिटीको बैठक बोलाइयो



पहिलोपोस्ट

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पार्टीलाई २०७५ जेठ २ मा फर्काउन केन्द्रीय कमिटीको बैठक बोलाइयो

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय गरेको हो।

एमालेलाई २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीको बैठक अनुसार सञ्चालन गर्नका लागि बैठक बोलाइएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

फागुन २८ गते गठन गरिएको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी भंग गर्ने पनि बैठकले निर्णय गरेको छ। बुधवारका लागि बोलाइएको एमालेको १० औं महाधिवेशन आयोजक कमिमटीको बैठक भने नरोकिने भएको छ। भोलि बस्ने उक्त बैठकले थप निर्णय गर्ने नेम्बाङले बताए।

‘सबै निर्णयहरु भोलि बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने छ,’ उनले भने।

नेकपा एमालेको असन्तुष्ट समूह माधव कुमार नेपाल-झलनाथ खनालले एमालेलाई माओवादीसँगको एकताअघिको अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएका थिए। उक्त मागलाई सम्बोधन गर्नका लागि ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। अदालतले पूर्ववत अवस्थामा फर्कनुपर्ने आदेश दिएपछि एमाले र माओवादी एकता विभाजित भएको थियो। अदालतको आदेशपछि ओलीले आफूनिकट नेताहरुको बैठक राखेर फागुन २८ गते नेपाल समूहका नेतालाई पदमुक्त गरेका थिए भने महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।

माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई समेटेर आयोजक कमिटी बनाएको भए पनि उक्त कमिटीको वैधानिकतामाथि अदालतले प्रश्न उठाएपछि ओली भंग गर्ने निर्णयमा पुगेका हुन्।

एमाले एकताका लागि ओली र नेपाल-खनाल दुबै समूहले ६ बुँदे प्रस्ताव अघि सारेका थिए। ओलीले एमाले एकताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल समूहका सांसदहरुले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए। उक्त शर्तमा नेपाल समूहले पनि प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्ने शर्त राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell