PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोनाकालमा तीजका गीत ल्याउनु रहर कि बाध्यता?



लक्ष्मी बलायर

कोरोनाकालमा तीजका गीत ल्याउनु रहर कि बाध्यता?

तीजका धेरै गीत गाउने गायकमा पर्छन् खुमन अधिकारी। तर, कोरोना आएपछि भने उनले पहिले जति गीत गाउन सकेका छैनन्। गत वर्ष पनि उनले आफैँले लेखेका आठ वटा तीजका गीत गाएका थिए।

यसवर्ष निषेधाज्ञा खुकुलो भएसँगै छ वटा तीज गीत रेकर्ड गरिसकेका छन् उनले। जसमध्ये दुई वटा गीतको सुटिङ समेत भइसक्यो। अझै पनि सात/आठ गीत गाउने तयारीमा छन् उनी।

तीज विशेष कार्यक्रममा निकै व्यस्त हुन्थ्ये उनी। त्यसैले त उनी बेलाबेला दुई वर्षअघि भएका तीजको माहोल सम्झन पुग्छन्। तीजका कार्यक्रममा उनी देशविदेश पुग्थे। गतवर्ष पनि उनी विदेशमा हुने तय भएका कार्यक्रमका लागि फिक्स भएका थिए। तर, विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण उनले सबै कार्यक्रम स्थगित गर्नुपर्‍यो।

देशमा कोरोनाको दोस्रो लहर एकातिर छ। अर्कोतिर कतिपय जिल्लामा बाढी पहिरोले निकै क्षति पुर्‍याएको छ। त्यसैले त तीजका गीत गाए पनि उनी यसवर्ष खासै उत्साहित छैनन्। बरु निरन्तरताको लागि पनि तीज गीत ल्याउनु पर्ने बाध्यता रहेको सुनाए उनले।

‘पहिलेदेखि नै तीजका गीत गाउँदै आइयो। पुरानो संस्कृति जोगाउँ र निरन्तरता दिउँ भनेर गीत ल्याउने तयारीमा छु। दिदी बहिनीसँग सहकार्य गरेर अगाडि बढेका छौँ। यस्तो अवस्थामा तीजका गीत ल्याउनु बाध्यता बनेको छ,’ उनले बताए।

अहिले गीतको आर्थिक पाटो नै युट्युब बनेको छ। पहिले जस्तो कार्यक्रममा गएर पैसा कमाउने अवस्था नरहेको उनले बताए। युट्युबमा अपलोड गरेको गीतबाट आएको रकमले अर्को गीत निकाल्ने काम भइरहेको बताउँछन् उनी। साथै तीज गीत लेख्दा आफूले संस्कृतिको ख्याल गरेको समेत उनले दावी गरे।

+++

निषेधाज्ञा खुकुलो भएसँगै गायिका राधिका हमालले पनि चार वटा तीज गीतमा स्वर भरिसकेकी छिन्। उनका केही गीतहरुको भिडियो समेत छायाँकन भइसकेको छ। उनको स्वर रहेको खेम सेन्चुरी र जानुका प्रधानको ‘मरिन्छ कि साइँलो’ आज सार्वजनिक भइसकेको छ। जसमा राधिकाले पहिलोचोटी अभिनय समेत गरेकी छिन्।

गतवर्ष पनि तीजका एक दर्जन गीत गाएकी थिइन् उनले। राधिकाको आफ्नै रेकर्डिङ स्टुडियो समेत छ। निषेधाज्ञा खुकुलो भएसँगै रेकर्डिङको काम समेत शुरु भइसकेको छ। स्टुडियोमा पहिले जस्तो जमात नभएपनि सुरक्षित तरिकाले रेकर्डिङ गर्ने काम भइरहेको उनले सुनाइन्।

यतिबेला देशविदेशमा हुने कार्यक्रमहरु निकै मिस गरिरहेको छिन् राधिका। भन्छिन्, ‘तीजमा कार्यक्रममा निकै व्यस्त गायिकामा पर्छु म। तर, २ वर्षदेखि कोरोनाले स्टेज कार्यक्रम खासै हुन सकेका छैनन्। सबैलाई अहिले निकै गाह्रो छ। विस्तारै सब ठीक हुन्छ भन्नेमा निकै सकारात्मक छु।’

उनले पनि अहिले तीजको गीत गाउनु बाध्यता रहेको सुनाइन्। संस्कृति बचाउनु पर्छ भनेर गीजको गीत ल्याउनु परेको उनको तर्क छ।

+++

निषेधाज्ञा खुलेसँगै मोडल तथा निर्देशक शंकर बिसी व्यस्त हुन थालेका छन्। उनले गत बिहीवार मात्रै एउटा तीज गीतको छायाँकन सकेका छन्। साथै पाँच वटा म्युजिक भिडियो निर्देशनको काम आइसकेको समेत उनले बताए। तीज गीतमा अभिनय समेत गरिरहेका छन् उनी।

तर, पनि उनी तीजलाई लिएर खासै उत्साहित भने छैनन्। स्टेज कार्यक्रमलाई निकै सम्झिरहेको बताउने उनी एकै दिनमा पाँच वटासम्म कार्यक्रममा सहभागी भएको स्मरण गर्छन्।

संख्यात्मक रुपमा तीज गीतमा कमी आए पनि पारिश्रमिक कम नभएको बताउँछन् उनी। उनी संस्कृतिलाई हानी पुर्‍याउने तथा छाडा खालको गीतहरु आफूले नगरेको बताउँछन्।

+++

मोडल अन्जली अधिकारीले यसवर्ष छ वटा तीजका गीतमा अभिनय गरिसकेकी छिन्। गत वर्ष पनि २२ वटा तीजको गीतमा अभिनय गरेको थिइन् उनले। उनी अहिले पनि तीजकै गीतको सुटिङमा व्यस्त छिन्। तर, पनि उनमा खासै उत्साह भने छैन।

‘कोरोनाका कारण स्टेज कार्यक्रम हुन सकेका छैनन्। सबै कुरा सामान्य भएको भए अर्कै माहोल हुन्थ्यो होला। सिन्धुपाल्चोकतिर त्यस्तो पिडा छ। अहिले सबैतिर गाह्रो अवस्था छ। तीजको गीतमा अभिनय गर्नु अलग कुरा हो तर म मनैदेखि खुसी चाहिँ छैन,’ उनले पहिलोपोष्टसँगको कुराकानीमा भनिन्।

अहिले सबैलाई आयस्रोतको समस्या भएकोले पहिले जस्तो पारिश्रमिकमा डिमाण्ड नगरेको समेत उनको तर्क छ।

+++

गायक खेम सेन्चुरीले पनि निषेधाज्ञा खुकुलो भएसँगै आधा दर्जन गीत गाइसकेका छन्। उनका अझै केही तीज गीत रेकर्डिङ र छायाँकनको क्रममा छन्।

गत वर्ष उनका ‘सोँचेझै जिन्दगी रैनछ’, ‘लरिलरिलै’ जस्ता तीज गीतले निकै चर्चा पाएका थिए। यसवर्ष पनि ति गीतहरुको ‘भाग २’ ल्याउन लागेका उनले जानकारी दिए।

गत वर्ष उनको गीत ‘सोचेझै जिन्दगी रैनछ’ले निकै चर्चा बटुलेको थियो। चर्चा बटुले पनि कोरोनाले स्टेज कार्यक्रम हुन नपाउँदा दर्शकसँग जोडिन नपाएको उनले सुनाए।

उनी भन्छन्, ‘निरन्तरता दिनको लागि भएपनि तीज गीत निकालेका हौँ, किनकी कलाकार भएपछि गाउने मात्रै नभएर समाजलाई उत्प्रेरित गर्ने समेत जिम्मेवारी हुन्छ। त्यसैले मौलिक संस्कृतिलाई मध्यनजर गर्दै समसामयिक तथा सन्देशमूलक गीत ल्याउन लागेको छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell