PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सत्तरी लाखको क्रेटा ४५ लाखमै ! कसरी भयो सम्भव?



पहिलोपोस्ट

सत्तरी लाखको क्रेटा ४५ लाखमै ! कसरी भयो सम्भव?
प्रतीकात्मक तस्बिर।

काठमाडौं : वाग्मती प्रदेशकै नम्बर प्लेटमा २४ लटको क्रेटा बिक्रीमा। प्रचलित मूल्य ७० लाख तर मिल्ने ४५ लाखमै! 

नझुक्किनुस् भन्सार छलेर भित्रिने गाडीको काठमाडौंमा गोरखधन्दा चलेको हुनसक्छ। सस्तोमा पायो भन्दैमा किन्ने मुड बनाउनु भयो भने फस्ने सम्भावना उत्तिकै!

प्रहरीले सोमवारमात्रै ४ जनालाई पक्राउ गरेपछि भन्सार छलेर गाडी भित्रिएको र कारोबार भइरहेको खुलासा भएको हो। भन्सार छलीमात्र होइन, गोरखधन्दा चलाउनेहरुले नक्कली सवारी दर्ता किताव समेत बनाएर झुक्याउने गरेको भेटिएको छ। 

लमजुङ सुन्दर बजार नगरपालिका-३ का ३३ वर्षीय कमलबाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका -२ का ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ का २४ वर्षीय अरूण खड्का र काठमाडौंको शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका - ७ का ४१ वर्षीय रेवतीरमण निरौला प्रहरीको फन्दामा पर्नुमा यस्तै गाडीको कारोबार कारण रह्यो।

भन्सार छलेर काठमाडौं भित्र्याइएका कार बिक्री भइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले गोपीकृष्ण हल नजिकबाट ग ३ च १४६२ नम्बर प्लेट भएको क्रेटा कारसहित कमलबाबुलाई पक्राउ गरेको हो। 

उनलाई ट्र्याक गर्दै जाँदा प्रहरीले अर्को क्रेटा गाडी बिक्रीमा रहेको पनि फेला पार्‍यो। पक्राउ परेका दुई अभियुक्त अरुण र मधुको समूहले बिक्री गर्न प्रदेश ३-०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कार राखेका रहेछन्। यी दुवै जनालाई सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट प्रहरीले पक्रेको हो। 

बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा थियो। उनीहरुका लागि अर्का अभियुक्त रेवतीले ब्लूबुक बनाइदिने गरेको खुल्यो। उनलाई पशुपति मन्दिर परिसरबाटै प्रहरीले पक्राउ गर्‍यो। 

प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट विभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ। 

जफत भएका गाडीहरूको प्रचलित बजार मूल्य एउटा कारको ७० लाख रहेको प्रहरीले जनाएको छ। दुईवटाको मूल्य १ करोड ४० लाख पर्नेमा उनीहरूले एउटाको ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेका थिए। 

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell