PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?



प्रवीण रानाभाट

कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?

३१ जेठ २०७८। साँझ हुँदै गर्दा रत्नपार्कस्थित आकाशे पुलमा मानिसहरुको हलचल बढ्दै थियो। सिमसिमे पानी परिरहे पनि मानिसहरु हातहातमा मैनबत्ती लिएर उभिएका थिए। उभिनेमा कोभिड १९ महामारीमा 'फ्रन्ट लाइन' मा काम गरेकाहरु थिए। प्रहरीदेखि चिकित्सकहरु सबै हातमा मैनबत्ती लिएर लाम लागेका थिए।

अवसर थियो, कोभिड १९ विरुद्धको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मान। सम्मान फरक शैलीमा थियो। आकाशे पुलको भित्तामा बनाइएको चित्र पूरा भएको थियो त्यस दिन। लगातार ६ दिनदेखि कलाकारहरुले तयार गरेको चित्र पूरा भएपछि अग्रपङ्क्तिमा खटिएकाहरुको सम्‍मानमा मैनबत्ती बालिएको थियो।

दुर्जाङ्ग शेर्पासहित चार जनाले ६ दिन लगाएर चित्र बनाएका थिए। ४ जना त उनीहरुका लागि स्वयम सेवीका रुपमा खटिएका थिए। त्यही बाटोबाट हिँड्डुल गर्ने धेरैको आँखा उक्त चित्रमा पर्थ्यो। कतिपय मानिस बाटोमा पर्दा त्यहाँ फोटो खिच्न अडिन्थे पनि।

१७ दिनपछि आज अहिले त्यही आकाशे पुलमा सेतो रंग पोतियो। कलाकारहरुले बनाएको चित्रलाई 'अनाधिकृत' भन्दै काठमाडौं महानगरपालिकाले चित्र हटाएको हो।

तर, चित्र बनाउने कलाकारहरुले भने आफूहरुले वडाको सिफारिस लिएर नै आकाशे पुलको भित्तामा चित्र बनाएको बताएका छन्।

वडा २८ का वडा अध्यक्ष भाइराम खड्गीले दुर्जाङ्ग शेर्पालाई शान्ति बाटिका अगाडि रहेको आकाशे पुलको भित्तामा भित्तेलेखनका लागि समेत अनुमति दिएका थिए। तर, महानगरले भने 'वडाले सबै काम गरे महानगरको के काम?' भन्दै भित्तेलेखनमा रंग पोतेको हो।

'उहाँहरुले अनुमति नलिइ बनाउनु भएको हो। महानगरभित्र महानगरको अनुमति बिना कतै पनि पेन्टिङ गर्न पाइँदैन। त्यसैले मेटाइएको हो,' काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पहिलोपोस्टसँग भने।

आकाशे पुलमा चित्र बनाएका दुर्जाङ शेर्पा राज्यले कलाकारहरुलाई 'सर्पोट' नगरेकोमा दु:खी सुनिए। आफूहरुले ६ दिन लगाएर बनाएको चित्र महानगरले कुनै पनि सूचना नदिइ मेटाएकोमा उनको चित्त दुखेको छ। उनले चित्र बनाउँदै गर्दा महानगरका अधिकारी र प्रहरी आएका थिए। वडाको सिफारिस देखाएपछि त्यतिखेर उनीहरुको काममा कुनै रोकतोक भएन।

'हामीले काम सुरु गर्दा नै महानगरबाट मान्छेहरु आउनु भएको थियो। नगर प्रहरी पनि आएका थिए। उहाँहरुलाई वडाको पत्र देखाएका थियौं। कसैले केही भन्नु भएन। आज आएर एक्कासी उहाँहरुले चित्र मेटिदिनुभयो। अनुमति थिएन भने त्यो बेला किन बनाउन दिनुभयो?,' शेर्पाले प्रश्न गरे।

 दुर्जाङ्ग शेर्पालाई भित्तेलेखन गर्न वडाले दिएको सिफारिस 


महानगर प्रहरी प्रमुख सापकोटा भने वडाको सिफारिसले मात्रै महानगरमा काम नहुने बताए। 'वडाले सबै काम गर्ने भए महानगर किन चाहियो? वडाको सिफारिसले हुँदैन। महानगरको सिफारिस उहाँहरुलाई थिएन,' उनले भने।  

२८ वडाका वडा अध्यक्ष भाइराम खड्गीले भने आफूहरुले सिफारिस दिए पनि महानगरले निर्णय गरेर गर्ने काममा 'अब्जेक्सन' गर्न नमिल्ने बताए।

'हामीले अनुमति दिएका हौं। उहाँहरुले मेटाइदिनु भएछ। उहाँहरुले काठमाडौंमा सबै पेन्टिङ हटाउने भनेर निर्णय गरेर सफा गर्ने निर्णय गर्नु भएको होला। अब महानगरले मेटाइदिएपछि हामीले के गर्न सक्छौं र?,' उनले भने।

अहिले महानगरपालिकाको नेतृत्व विद्यासुन्दर शाक्यले सम्हालिरहेका छन्। उनी सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका हुन्। सिफारिस दिने वडा अध्यक्ष भने नेपाली कांग्रेसका हुन्। उनी महानगरका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ निकट हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell