काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अस्थिर बनाएको आरोप लगाएका छन्। उनले ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था आएको बताए।
विपक्षी ५ दलले बानेश्वरस्थित संसद्को लोत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तक्र्रियामा प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका हुन्। उनले संविधान बनाउने बेलाकै जस्तो खतरा अहिले उत्पन्न भएको टिप्पणी गरे। संविधान निर्माणका क्रममा पनि आफूले नोट अफ डिसेण्ट लेखेर सहमतिका लागि तयार भएको प्रचण्डले स्मरण गराएका थिए।
‘दोस्रो संविधानसभा असफल भयो भने के होला भन्ने खतरा भयो। अडान लिइराखौँ तर संविधान बनाउँ भनेर सहमति गरेउँ। संविधानमा हामीले पनि नोट अफ डिसेण्ट राखेका थियौँ,’ प्रचण्डले भने।
संविधान संशोधनका बारेमा पटकपटक प्रक्रिया शुरु भएपनि संविधान संशोधन हुन नसकेको उनले बताए। पार्टीहरुभित्रै संविधान निर्माणका बेला संविधान रोक्नुपर्ने मत आएको उनको भनाइ थियो।
‘संविधान घोषणामा चुनौति थिए। हामीमध्ये एक थरी संविधान रोकिदिउँ भन्ने तत्वहरु थिए। धेरै ठूलो मेहनत, दबाब र जटिलतको सामना गरिएको हो,’ उनले भने।
अहिले फेरि त्यस्तै खालको संविधानमाथि संकट आइपरेको उनको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीले प्रतिनिधित्व गर्ने प्रवृति र ५ दलले प्रतिनिधित्व गर्ने प्रवृति फरक भएको बताए।
आफूलाई ओलीले नै अस्थिर बनाएको बताएका प्रचण्डले आफ्ना पनि कमजोरी स्वीकारेका थिए। उनले ओलीसँग सम्झौता गरेर आफूले कुनै गल्ति नगरेको प्रष्टिकरण दिए।
‘प्रचण्ड कहिले यता उता भन्नुहुन्छ। मलाई कहिले यता कहिले उता कसले बनायो मेरो कमजोरी होला मैले माने। शान्तिपूर्ण आए संविधान बनाए शुरुमा एमालेसँग मिलेर सरकार बनाए। संविधानको सर्वोच्चतामा नागरिक सर्वोच्चता ठूलो भन्नेमा सेनासँग अलि अप्ठेरो पर्यो,’ उनले भने।
प्रचण्डले अहिलेदेखि नै कोरोनाको खोप ल्याउनेबारेमा गठबन्धनले विभिन्न देशसँग कुराकानी गरिरहेको बताएका छन्। उनले जनताको जीउधनको विषय नै गठबन्धनको सरकार बनेमा प्राथमिकतामा पर्ने बताए।
‘सरकार बनाइसकेपछि पनि तपाईलाई फेरी बोलाइन्छ। पहिलो जीउधनको एजेण्डा बनाइन्छ। अहिले नै विभिन्न राष्ट्रसँग खोपको अवस्था के छ भनेर कुरा थालिएको छ। खोपको ऐजेण्डा प्राथमिकतामा छ,’ उनले भने।
