PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि सामरी खोलाको पुल निर्माण अलपत्र, बस्ती डुबानमा पर्ने जोखिम



निशा गुरुङ

सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि सामरी खोलाको पुल निर्माण अलपत्र, बस्ती डुबानमा पर्ने जोखिम

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ र ३ जोड्न निर्माण भइरहेको पुल बेलैमा बन्न नसक्दा मकवानपुरगढी-५ धादिङ बजारवासीहरुको लागि थापेको धराप जस्तै भएको छ। सामरी खोलामा ५ वर्षअघि निर्माण शुरु भएको ३ स्पानको पुल ठेकेदारको बद्माशीले गर्दा अहिलेसम्म एक स्पान पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुलको निर्माण शुरु भएपछि स्थानीय जनतामा पुल बन्ने केही आशा पलाएको भएपनि अहिले जनता निराश भएका छन्।

निर्माण कम्पनीले पुलको एक स्पानको ढलानको लागि भनेर रड र फर्मा हालेर चैतमै तयार गरेको थियो। तर, अहिलेसम्म एक स्पानको पनि ढलान हुन सकेको छैन। चैतदेखि नै अबको २/४ दिनमा ढलान हुन्छ भनेको ठेकेदारले करिब ३ महिना हुँदासम्म पनि २/४ दिनमा ढलान हुन्छ भन्न छाडेको छैन। ढलान गरिएको पनि छैन।

पुलको एक स्पानको ढलानको लागि फर्मा अड्याउन तलबाट खोलाको ग्राबेल थुपारिएको छ। जसको कारण सामरी खोलाको आधा भन्दा बढी भाग नै थुनिएको छ। पुल निर्माण गर्ने ठेक्का पाएका दीपक सापकोटाको मोबाइल अफ हुने गरेको छ। उनका दाइ कृष्ण सापकोटाले पुल निर्माण काम हेरिरहेका छन् तर उनी पनि म ठकेदार हैन मलाई केही थाहा छैन भन्दै पन्छिने गरेका छन्।

पुल कहिले ढलान हुन्छ भन्ने प्रश्न गर्दा ४ दिन पछि हुन्छ भन्ने जवाफ दिन्छन्, कृष्ण सापकोटा। मुख्य ठेकेदार दीपक सापकोटा र डिबी थापाको भने अत्तोपत्तो छैन। पुल निर्माणको लागि ग्राबेल थुपारेर खोला निकासको लागि सानो ठाउँ राखिएको छ जुन बाढी आउँदा खोला थुनिने सम्भावना देखिएको छ।

भारी वर्षा भएर खोला थुनिएमा नजिकैको धादिङ बजारमा पस्ने सम्भावना धेरै छ। सामरी खोला बग्ने सतह र बस्तीको उचाई निक्कै कम छ। हरेक वर्ष सामरी खोला वारपार भएर बस्तीमा छिर्न खोजेको घटनाहरु धेरै छन्। धादिङ बजारमा करिब ६० घर, पसल, सहकारी संस्था, स्वाथ्यचौकी, वडा कार्यालय, शारदा कजेल लगायत बाक्लो बस्ती छ।

केहीगरि खोला थुनिएर धादिङ बजार पसेमा ठूलो जनधनको क्षति गराउने सम्भावना देखिएको छ। बेलैमा पुल ढलान गरेर थुनिएको सामरी खोलालाई बग्न सहज नबनाउने हो भने खोला थुनिएर सिन्धुपाल्चोकको मेलम्ची बजारको जस्ता हालत धादिङ बजारको पनि हुन सक्ने स्थानीय बताउँछन्।

५ वर्षअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभिलाई ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा २०७३ साल पुस ११ गते २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुल निर्माणको लागि ठेक्का दिएको थियो। सम्झौता अवधि सकिएको ४ वर्ष भइसकेको छ, तर अहिलेसम्म एक स्पान समेत निर्माण भएको छैन।

मकवानपुरगढीको वडा नम्बर ३, ४, ५ र ६ का जनता प्रत्यक्ष लाभाविन्त हुने पुल बन्न नसक्दा सामरी खोलाले बगाएर बर्षेनी स्थानीयहरुको ज्यान गइरहेको छ। गत वर्षातको समयमा मात्र ४ जनाले ज्यान गुमाएका छन्। सामरी खोला हिउँदमा तर्न सक्ने हुन्छ भने वर्षात् लागेपछि खोला वारपार हुँदा खोला किनारका जनतालाई धेरै सास्ती हुने गरेको छ।

सामरी खोला पारीको बस्ती कालीखोलाका स्थानीयहरुको खेतीपाती वारी भालुखोला र धादिङ बजारमा छ। दुध बेच्न होस् या बजार जान सामरी खोला नै तरेर आउनु पर्ने बाध्यता छ। त्यति मात्र नभई अध्ययनको लागि सामरी खोला तरेर ज्यानको बाजी राख्दै धादिङमा रहेको शारदा स्कुलमा आउनु पर्छ।

पुल निर्माणको लागि आफूहरुले बारम्बार ताकेता गर्दापनि ठेकेदारले बद्मासी गर्दा धादिङ बजारको बस्ती जोखिममा परेको मकवानपुरगढी गाउँपालिका ५ का वडाध्यक्ष जितबहादुर घिमिरेले बताए। बस्ती बचाउन आफूहरु लागि परेको उनले बताए।

सरकारले देशभरका तुइन हटाउन लगाएको धेरै भयो तर त्यस क्षेत्रका जनताहरु जोखिम मोलेरै तुइनमा झुण्डेर वारपार गर्न बाध्य छन्। तुइन पनि मर्मतको पखाईमा छ। एकपट्टीको घिर्नी नहुँदा तुइनबाट वारपार गर्न कठिन भएको छ।

पुल निर्माण शुरु भएपछि वारीपारी आवतजावतको लागि सहज हुने सपना देखेर खुसी भएका स्थानीयहरुको मुहारमा अहिले कुन बेला बगाउने हो भन्ने पीडा देखिएको छ। ठेकेदारको बद्माशीले आजित भएका स्थानीय जनताले बेलैमा ढलान गरेर खोला नखोलिए स्थानीयले नै भत्काएर खोला बग्न सहज बनाउने भन्दै आक्रोश पोखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell